भब्य कार्यक्रमका साथ भालेश्वरले मनायो ६७ औं वार्षिकोत्सव

पनौती/पनौती नगरपालिका भित्रको एक मात्र नमूना विद्यालय तथा सामुदायिक विद्यालयहरुमा जिल्लाकै उत्कृष्ट विद्यालयहरु भित्र पर्ने भालेश्वर माध्यमिक विद्यालयले स्थापनाको ६७ औ बार्षिकोत्सव मनाएको छ ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र केसीले विद्यालयले अभिभावकहरुको मन जित्दै बालबालिकाहरुले गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिवद्धतालाई ब्यवहारमा देखाएको बताए ।

कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै मन्त्री चौधरीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न सरकारले नीति तथा कार्यक्रम मार्फत समेत विशेष ध्यान दिएकाले आगामी वर्षहरु शैक्षिक गुणस्तर तथा विद्यार्थी केन्द्रित शिक्षाका विकल्प नरहेको बताईन् ।

सामुदायिक विद्यालयहरुको एकिकरण, गुणस्तरीय शिक्षाका लागि आवश्यक संरचनाहरु निर्माण गर्दै फरक ढंगबाट विद्यालय संचालन गर्ने योजना निर्माण गर्न समुदायलाई अनुरोध गरिन् । विद्यालयका प्रधानाध्यापक रामचन्द्र थापाले पाँच वर्ष विद्यालयले भोगिरहेका अनुभवहरु सुनाउँदै विद्यालयले भौतिक तथा विद्यार्थीहरुको गुणस्तरमा भएका प्रगतिका बारेमा जानकारी गराएका थिए ।

विद्यार्थी अनुकुलित वातावरण निर्माण गर्दै आएको विद्यालयमा ‘ग्रिन,क्लिन, पिस र सेभ’ घोषणा गर्ने तयारी गरेको प्रधानाध्यापक थापाले बताए । ‘जबसम्म बालबालिका र अभिभावकहरु विद्यालयको वातावरण र गुणस्तरसँग ढुक्क हुन सक्दैनन तबसम्म विद्यार्थी र अभिभावकहरुको विश्वास विद्यालयलाई हुन सक्दैन’–प्रधानाध्यापक थापाले भने–‘विद्यालयको शैक्षिक तथा आर्थिक विषयलाई अभिभावकहरुका सामु सामाजिक तथा लेखापरिक्षण मार्फत पारदर्शि गराईएको छ ।

विद्यार्थीहरुलाई सकारात्मक सामाजिकीकरणको अभ्यास गराईएको छ । विद्यालयले आफ्नो प्रतिस्पर्धा आफै सँग गराएको छ । कक्षा कोठालाई पूर्णत प्रविधी मैत्री बनाएको छ । शिक्षक र विद्यार्थीको हाजिरी अनलाईन मार्फत गराउन शुरु गरिएको छ ।’ विद्यालय सुधारका प्रयास भएको बताउँदै प्रधानाध्यापक थापाले भने–‘५ वर्ष अघि ४ सय १२ जना विद्यार्थी भएको विद्यालयमा २०८१ जेठ १ गतेसम्म भर्ना भएका विद्यार्थीहरुको संख्या ९ सय ५० भन्दा धेरै छ ।

चालु शैक्षिक सत्रमा मात्रै २ सय २७ जना भर्ना भईसकेका छन् । कक्षा नर्सरी देखि ९ सम्म भर्ना हुने क्रम अझै जारी छ । कक्षा ११ मा भर्ना हुँदा विद्यार्थीहरुको संख्या एक हजार भन्दा धेरै हुनेछ । अहिले १ सय ७ जना विद्यार्थीले एसईई र कक्षा १२ को परीक्षामा ५३ जना सहभागि भएका छन् ।’ श्रोतको अधिकतम सदुपयोग गर्दै पारदर्शिता, शुशासन र जिम्मेवारीवोध सहित विद्यालयले शैक्षिक गुणस्तरलाई एक मात्रै लक्ष्य बनाएकाले विद्यालय सुधार हुँदै गएको सहभागिहरुले बताए ।

राज्यका तीन वटै निकायले विद्यालयका विभिन्न पक्षहरुको सुधारका लागि सहयोग गरेको बताउँदै प्रधानाध्यापक थापाले आउँदा दिनहरुमा विद्यार्थी केन्द्रित सिकाई र ब्यवहारमुखी शिक्षाका लागि विद्यार्थीहरुलाई सिप र ज्ञानमा आधारित पाठ्यक्रम केन्द्रित गर्ने तयारी गरेको बताए ।

विद्यालयले बार्षिकोत्सवको अवसर पारी नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरेको थियो । विद्यालयमा हाजिर भएका नयाँ शिक्षकहरुलाई पनि स्वागत गर्दै अन्यत्र विद्यालयमा सरुवा भएका शिक्षकहरुलाई पनि विदाई सहितको सम्मान गरेको थियो । त्यस्तै भालेश्वर अवार्ड प्रदान गरिएको थियो भने विद्यालय ब्यवस्थापन समितिका पुर्व पदाधिकारीहरुलाई समेत सम्मान गरिएको छ ।

विद्यालयमा अक्षयकोष तथा छात्रबृत्ति कोष स्थापना गर्ने दाताहरुलाई पनि सम्मान गरिएको थियो । विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम समेत आयोजना गरेको कार्यक्रममा विद्यार्थीहरुले प्रतिभा समेत प्रस्तुत गरेका थिए । विद्यालयको कार्यक्रममा विद्यालयलाई विभिन्न क्षेत्रबाट सहयोग गर्ने अक्षयकोष दाताहरु, संरक्षकहरु, विद्यालयका चन्दादाता तथा सहयोगीहरु, सल्लाहकारहरु, विद्यालय ब्यवस्थापन समितिका पुर्व र वर्तमान पदाधिकारीहरु, जनप्रतिनिधीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधीहरु तथा विभिन्न विद्यालयका प्रधानाध्यापक र कर्मचारीहरुले विद्यालयले शुरु गरेको शैक्षिक गुणस्तरको अभियानमा समन्वय र साथ रहेको बताएका थिए ।

कार्यक्रममा संविधान सभा सदस्य रामहरी सुवेदी, पनौती नगरपालिका प्रमुख रामशरण भण्डारी, उपप्रमुख गिता बञ्जारा, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, कर्मचारीहरु, विभिन्न क्याम्पस तथा विद्यालयका प्रधानाध्यापकहरुले शुभकामना दिएका थिए । कार्यक्रम शिक्षक हरिप्रसाद तिमल्सिनाले संचालन गरेका थिए ।