सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षीबीच संसदीय छानबिन समिति बनाउने सहमति

सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच सहकारी ठगीका विषयमा छानबिन गर्न संसदीय समिति गठन गर्ने सहमति भएको छ । यद्यपि उक्त समितिको कार्यादेश के हुने भन्ने विषयमा दलहरु टुंगोमा पुगेका छैनन् ।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन र कांग्रेसका नेताहरुबीचको छलफलमा संसदीय समिति गठनका विषयमा समाधान धारणा बनेको कांग्रेस नेता रमेश लेखकले बताए ।

संसदीय समितिको कार्यादेश बनाउन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी र दलहरुका प्रतिनिधि संलग्न कार्यदलले काम गर्नेछ ।

उक्त समितिको टीओआर बनाउन कानूनमन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन गर्नेसमेत शीर्ष नेताहरुले सहमति जनाएका छन् ।

कार्यदलमा एमालेका महेश बर्तौला, कांग्रेसका जीवन परियार र रास्वपाका शिशिर खनाल रहनेछन् । उक्त कार्यदलले भोलि टीओआर बनाउनेछ ।

संसदको गत्यावरोध हटाउन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तापक्ष र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक बसेको थियो ।