मेरो स्मृतिमा मदन

एउटा साँघुरो नालामा 
बहने पानी जस्तै भएर वगिरहेका 
कैयौं भँगालोरुपी कम्यूनिष्ट भंगालाहरुलाई
विचारको विशाल नदी बगाएर
त्यसमै एकिकृत,समाहित र सुसंगठित गर्दै
 विचारको नदी मदन 
 बहिरह्यो,अविचलित,अविराम, वेगवान ।
अन्तराष्ट्रिय कम्यूनिष्ट आन्दोलनमाथि 
तारन्तार धक्का प्रहार भै रहँदा
अनि,
निरन्तर प्रतिक्रान्तिको डरलाग्दो बादल मडारिंदै गर्दा,
जनतान्त्रिक,प्रगतिशील र जनमूखी
विचारलाई विश्व सामु पस्केर 
चट्टानी अडान,चेतना र दृष्टिकोणका 
अब्बल नेता मदन हाम्रा सामु बाँचिरह्यो ।
जिन्दगीका लाउँखाउँ उमेरमा
देशका कुनाकाप्चामा 
कुदेका पाइलाका डोवहरु
सायद मेटिएका छैनन् होला 
अनि,
वर्गशत्रुले थाहा पाउँछ कि भनि
मौन ब्रत लिएर उनी हिंडेका 
कुना कन्दराहरु
उनको आवागमनलाई  अझै नियालिरहेछन् होला ।
दुःख विझ्दा आँसुसँग साटेन उसले
उत्साह कहिल्यै पनि मारेन उसले
जवसम्म जियो संघर्षशील भएरै जियो
संघर्षसँग मित्तेरी लाएर जियो
आम मान्छेका जिन्दगीको
सुखद भविष्यको आशमा 
अविचलित,अविराम,निरन्तर
कुदिरह्यो संघर्षकै मैदानमा ।
आफ्नो सामु उभिएको एउटा सिँगो कालो युग
पन्छाएर उज्यालोको खोजीमा
ऊ अविराम हिडिरह्यो
नेपाली आमाको मुहारमा मुस्कान ल्याउन
उसले आफ्ना कदम बढाइरह्यो 
अविराम,अविचलित ।
समाज परिवर्तनको असिमित आकाँक्षा बोक्दै
विश्वासको सगरमाथामाथि उभिएर 
चारैतिर हेरिरह्यो
उवड खावड,उतार चढाव,बेहोरिरह्यो
तर अहँ किमार्थ विचलित भएन् ऊ 
परिवर्तनका सपनाहरु छातीभरी सजाएर
आस्थाको चिरागलाई निभ्न दिएन्
थुप्रै थुप्रै आँधीवेहरीसँग जुधिरह्यो
दुःखका कैयन अग्ला पहाड चढिरह्यो
ठेस लाग्दा दुखेन
काँडाले कोरेन
आफ्नै आँखा अगाडि सामन्ती सत्ताले 
सहयात्री ढाल्दा  पनि,
निरास भएन ऊ 
बरु शोकलाई शक्तिमा बदल्ने प्रण गर्दै 
आस्थाको सतिशाल मदन दृढतापूर्वक उभिरह्यो ।
उसले आस्थाको बगैंचामा 
बहुदलीय जनवादको फूल रोप्यो
गोडमेल गर्यो र जतनले हुर्कायो
बगैंचाको माटो सुहाउँदो फूल थियो त्यो
विश्व परिस्थिति अनुकूलको विरुवा थियो त्यो
 अभावको घाउ भएर दुखाएका जनताको निम्ति 
शीलतता छर्ने मल्हम थियो त्यो फूल
विश्वभरी फैलन सक्ने बासनादार थियो त्यो फूल
त्यसैले, विश्वभर दुःखी, श्रमजिवीहरुको
मन मनमा सुगन्ध पुर्यायो ।
आस्थाको फराकिलो आकास
सिवाय देखेन केही मदनले
जनवादको उज्यालो घाम 
बाहेक केही जानेन उसले
जबसम्म, उ सशरीर बाच्यो
आस्थाको सगरमाथा चुलाउँदै बाँच्यो
जनतामा आशा र भरोसा जगाउँदै बाँच्यो
जब ढलाइयो षडयन्त्रपूर्वक मदन,
 विचार भित्र बाँचिरह्यो,बाँचिरहेछ र वाँचिरहनेछ ।
                
हार्दिक श्रद्धान्जली ।