पनौतीमा जेठ १६ देखि २२ गतेसम्म पोलियो विरुद्धको खोप लगाइँदै

पनौती नगरपालिकामा जेठ १६ गतेदेखि २२ गतेसम्म पोलियो विरुद्धको आईपिभी खोप लगाइँदै छ । नगरपालिकामा आयोजित आईपिभि खोप अभियान २०८१ पालिका स्तरीय खोप समन्वय समितिको अभिमुखिकरण बैठक मार्फत उक्त जानकारी गराइएको हो ।

पनौती नगरपालिका अन्तर्गतका विद्यालय र स्वास्थ्य संस्थामा खोप अभियान सञ्चालन हुँदैछ । २०७३ बैशाख देखि २०७५ असोज महिना भित्र जन्मिएका सबै बालबालिकाहरुलाई पोलियो विरुद्धको आईपिभि खोप लगाईने पनौती नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत जनक केसीले जानकारी दिए । पनौती नगरपालिकाका १२ वटै वडाका ४१ विद्यालय र १२ वटा स्वास्थ्य संस्थामा खोप कार्यक्रम सञ्चालन हुनेछ ।

नगरपालिकामा आईपिभि खोप लगाउनुपर्ने लक्षित बालबालिका २ हजार ९ सय १० रहेका छन । पनौती नगरपालिका वडा नम्बर १ मा जेठ १६ देखि २० गतेसम्म, वडा नम्बर २ मा जेठ १६ देखि १८ गतेसम्म, वडा नम्बर ३ मा जेठ १६ लेखि २० गतेसम्म, वडा नम्बर ४ मा जेठ १६ देखि २२ गतेसम्म, वडा नम्बर ५ मा जेठ १६ देखि २१ गतेसम्म, वडा नम्बर ६ मा जेठ १६ देखि १८ गतेसम्म, वडा नम्बर ७ मा जेठ १६ गतेदेखि २१ गतेसम्म, वडा नम्बर ८ मा जेठ १६ गतेदेखि २० गतेसम्म, वडा नम्बर ९ मा जेठ १६ देखि २० गतेसम्म, वडा नम्बर १० मा जेठ १६ देखि १८ गतेसम्म, वडा नम्बर ११ मा जेठ १६ गतेदेखि २१ गतेसम्म र वडा नम्बर १२ मा जेठ १६ गतेदेखि १८ गतेसम्म खोप कार्यक्रम सञ्चालन हुनेछ ।

कार्यक्रममा बोल्दै नगर प्रमुख रामशरण भण्डारीले खोप लगाउनुअघि ध्यानदिनुपर्ने विषयको बारेमा राम्रो जानकारी गराएर मात्रै खोप लगाउनुपर्नेमा जोड दिएका छन । ध्याप लगाउँदा स्वास्थ्यकर्मीसँग समन्वय गर्न उनको आग्रह छ । कुनै कारण खोप लगाउन छुटेका बालबालिकालाई स्वास्थ्य संस्था मार्फत खोप लगाउने व्यवस्थ ागर्न उनले स्वास्थ्यकर्मीलाई आग्रह गरेका छन ।

ज्वरो आएको अवस्थामा वा विरामी भएको अवस्थामा खोप लगाउन नमिल्ने सिनियर अहेव अधिकृत अनिलराज ढुंगेलले जानकारी दिए । अभिमुखिकरण कार्यक्रममा पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारी, उप–प्रमुख गिता बञ्जारा,प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्य, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, स्वास्थ्य शाखा प्रमुख जनक केसी लगायत स्वास्थ्यकर्मीको उपस्थिती रहेको थियो ।

अन्य बालबालिकाहरुलाई भने नियमित खोपमा नै पोलियो विरुद्धको उक्त खोप लगाउने गरिएको छ । विशेषगरी ५ वर्ष मुनिका बालबालिकाहरुलाई उक्त खोप लगाउने गरिएको छ ।

विश्वमा नै पोलियो विरुद्धको आई.पि.भि खोप २०७३ बैशाख देखि २०७५ असोजसम्म अभाव भएका कारण सोहि अवधीमा जन्मिएका बालबालिकाहरुलाई खोप लगाइएको थिएन । उक्त अवधीमा छुटेका बालबालिकाहरुलाई खोप लगाउन लागिएको हो ।