भूमिगतकालीन स्मृतिमा काभ्रेपलाञ्चोक जिल्ला

युवराज कार्की
नेपालको लोकतान्त्रिक आन्दोलनमा काभ्रेपलाञ्चोक पुरानो इतिहास बोकेको जिल्ला हो । बनेपाका हंसराज श्रेष्ठ र राजदास वादे जस्ता जागरुक व्यक्तिहरू राणाकालमै निरङ्कुश शासनका विरुद्ध उभिनु भएको थियो । नेपालको कम्युनिष्ट आन्दोलनसँग पनि काभ्रे जिल्लाको सम्बन्ध प्रारम्भिक कालदेखि नै थियो । नेपाल कम्युनिष्ट पार्टी स्थापना भएपछि संस्थापक महासचिव पुष्पलाल र शम्भुराम श्रेष्ठ बेला बेलामा बनेपा आउने गर्नु हुन्थ्यो । उहाँहरू आउँदा शिला कतिला कि फुपु दिलहरि श्रेष्ठको घरमा बस्नु हुन्थ्यो । वि.सं. २००२ साल तिर नेपाली महिला आन्दोलनकी एक हस्ति कामाक्षा देवी बनेपामा शिक्षण गर्नुहुन्थ्यो । उहाँ गोप्य रुपमा राजनीतिक गतिविधिमा पनि सक्रिय हुनुहुन्थ्यो । बनेपाको तीनधारामा वि.सं. २००८ सालमा अखिल नेपाल महिला संघको अधिवेशन भएको थियो । बनेपामा वि.सं. २०१४ सालमा नेकपाको कार्यालय स्थापना भएको थियो । काभ्रे जिल्लाका गणेशदास उलक, शिवराम भैल, कृष्णचन्द्र कायस्थ, टिकाकृष्ण खाछिभोया, पुष्पलाल श्रेष्ठ, काजी शाक्य, पंकज चित्रकार, प्रकाश श्रेष्ठ, ठाकुरभक्त कर्माचार्य, रत्नकाजी श्रेष्ठ जस्ता बुद्धिजिवीहरू वामपन्थी आन्दोलनमा सक्रिय भएर लाग्नु भएको थियो । त्यसबेला कम्युनिष्ट पार्टीको नेतृत्वमा सामन्ती शोषण उत्पीडनका विरुद्ध ठुलठुला सङ्घर्ष भएका थिए । अखिल नेपाल किसान संघको सक्रियतामा धर्म भकारी, मोही वेदखली, सुदखोरी जस्ता जनविरोधी क्रियाकलापका विरुद्ध जनता सङ्घर्षमा उत्रिएका थिए । राजा महेन्द्रले वि.सं. २०१७ सालमा फौजीकाण्ड रचना गरी राजनीतिक दलहरूमाथि प्रतिबन्ध लगाए । जनताका सम्पूर्ण लोकतान्त्रिक अधिकारहरू खोसिए । कम्युनिष्ट पार्टी र कांग्रेस पार्टीका कैयौ नेता तथा कार्यकर्ताहरू गिरफ्तारीमा परे । कैयौ नेता तथा कार्यकर्ताहरू भूमिगत वा निर्वासित हुन बाध्य भए । नेकपाका महासचिव पुष्पलाल गिरफ्तारीबाट जोगिदै भारतमा निर्वासित भएर पार्टी गतिविधि अघि बढाउने उद्देश्यले बनेपा आइपुग्नु भयो । बनेपाका बामपन्थी कार्यकर्ताहरूले उहाँलाई गणेशदास उलकको साथ लगाएर खोपासी, रोशी र सिन्धुली हुँदै सुरक्षित रुपले भारत पुग्ने व्यवस्था मिलाई दिनुभयो ।
वि.सं. २०१९ सालको तेस्रो महाधिवेशन पछि नेकपाभित्र टुटफुट र विभाजनको दुःखद शृङ्खला शुरु भयो । पार्टी पूर्व कोशी समूह, पुष्पलाल समूह, मोहनविक्रम निर्मल लामा समूह लगायत ससाना अनेक समूहमा विभाजित भयो । यस घटनाले कार्यकर्ता पङ्क्तिमा व्यापक निराशा र शिथिलता पैदा ग¥यो । विभाजन पछि अलग अलग समूह आ–आफ्नै ढङ्गले काम गर्न थाले । यस क्षेत्रमा नेकपाको पुरानो विरासत बोक्ने नेतामध्ये एकजना अमृत बोहरा पनि हुनुहुन्थ्यो । विद्यार्थी नै भएपनि उहाँ वि.सं. २०२५–०२६ साल देखिनै पुष्पलाल समूहमा संगठित भएर विद्यार्थी र किसानको बीचमा काम गर्नुहुन्थ्यो । वि.सं. २०२६ सालमा पुष्पलाल समूहको प्रथम सिन्धुपाल्चोक जिल्ला सम्मेलन भयो । त्यसले अमृतलाई जिल्ला कमिटीमा निर्वाचित ग¥यो । त्यसपछि उहाँ पुष्पलाललाई भेट्न भारतको दरभंगा जानु भयो । पुष्पलाललाई भेटेपछि उहाँले ठुलो उर्जा प्राप्त गर्नुभयो र देशभित्र आएर पूर्वकालिन कार्यकर्ताको रुपमा काम गर्न थाल्नुभयो ।विद्यार्थी जीवनदेखिनै बामपन्थी राजनीतिमा सक्रिय अमृत बोहराको २०२३–०२४ सालदेखिनै केदार प्रधान, गोविन्दलाल प्रधानाङ्ग, मोहन दुवाल, जवाहर श्रेष्ठ ‘पलाञ्चोके’, शिवबहादुर देउजा, राजभाई प्रधान, जयन्द्र प्रधान, इन्द्रबहादुर श्रेष्ठ, दलबहादुर श्रेष्ठ, माधव प्रधान, लक्ष्मण सुन्दर सैंजु लगायत काभ्रे जिल्लाका बामपन्थी बुद्धिजिवीहरूसँग सम्पर्क थियो । पार्टी काम विस्तार गर्न जुनसुकै जिल्लामा सम्पर्क गर्न सकिने तत्कालिन पुष्पलाल समूहको नीति अनुसार अमृत काभ्रे जिल्लाका बामपन्थी बुद्धिजिवीसँग सम्पर्क बढाउन थाल्नु भयो । यसै बीच वि.सं. २०२५–०२६ सालतिर काभ्रेका बामपन्थी बुद्धिजिवीहरूले श्रीखण्डपुरमा ‘मुक्तिको बाटो’ नामक नाटक प्रदर्शन गरेका थिए । त्यसदिन दिउँसो साहित्य गोष्ठी आयोजना र साँझपख नाटक प्रदर्शन गरिएको थियो । उक्त नाटकमा निरङ्कुश पञ्चायती व्यवस्थासँग जोडेर सामन्ति शोषणको विरोध गरिएको थियो । आफ्नो विरोधमा प्रदर्शन गरिएको उक्त नाटकको विषयवस्तुलाई लिएर प्रशासनले व्यापक दमन धरपकड चलाएको थियो । यो घटनापछि बुद्धिजिवी साथीहरूमा संगठित भएपछि मात्र प्रतिरोध गर्न सकिने रहेछ भन्ने चेत पलायो र पार्टीसँग सम्पर्क गर्नुप¥यो भन्ने कुरा उठाउन थाल्नुभयो । सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक जिल्लाका बामपन्थी बुद्धिजिवीहरू बीचको सम्बन्धलाई अझ घनिष्ठ बनाउने ‘प्रगतिशिल सिन्धु–काभ्रे साहित्यिक समाज’ गठन गरिएको थियो । प्रशासनको आँखा छल्न साहित्यिक नाम दिइएपनि त्यसको भित्री उद्देश्य अलि खुकुलो ढङ्गले पार्टी काम गर्ने भन्ने थियो । त्यो समाजमा काभ्रे जिल्लाबाट केदार प्रधान, मोहन दुवाल, राजभाई प्रधान, जवाहर श्रेष्ठ र गोविन्दलाल प्रधानाङ्ग रहनु भएको थियो भने सिन्धुपाल्चोक जिल्लाबाट अमृत बोहरा, जयराम शर्मा, शंकर नेपाल, इन्द्रलाल श्रेष्ठ र रमेशबहादुर श्रेष्ठ हुनुहुन्थ्यो । विभाजित कम्युनिष्ट आन्दोलनका अलग अलग समूहको प्रभावले गर्दा देखापरेको राजनीतिक मतभेदका कारण त्यो समाज अन्त्यत निस्कृय भयो । वि.सं. २०३०–०३१ सालतिर सिन्धुपाल्चोक र दोलखाका बामपन्थी बुद्धिजिवीहरूले ‘वर्गचेतना’ नामको भूमिगत पत्रिका निकाल्नु हुन्थ्यो । बनेपामा पनि ‘चिराग’ नामको त्यस्तै पत्रिका निस्कन्थ्यो । केदार प्रधान र अमृत बोहराले आपसमा ती पत्रिकाहरू आदानप्रदान गरेर एक अर्काको मनोवल बढाउने काम गर्नुहुन्थ्यो । भूमिगतकालमा सुरक्षाको दृष्टिकोणले पार्टी कमिटी बनाउनु भन्दा पहिले त्यसको पूर्वाधारका निम्ति ‘क्रान्तिकारी बुद्धिजिवी मञ्च’ जस्ता संगठनहरू बनाइन्थ्यो । काभ्रे जिल्लामा केदार प्रधानको विशेष पहलमा एउटा क्रान्तिकारी बुद्धिजिवी मञ्च गठन गरिएको थियो । त्यसको प्रमुख केदार प्रधान आफै हुनुहुन्थ्यो भने अन्य सदस्यहरू गोविन्दलाल प्रधानाङ्ग, वीरबहादुर थापा, शान्तिराज कायस्थ र इन्द्रबहादुर श्रेष्ठ हुनुहुन्थ्यो । यसले काभ्रे जिल्लाका विभिन्न पेशा र व्यवसायमा रहेका बामपन्थी बुद्धिजिवीहरूको खोजी गरी संगठित गर्ने काम गर्दथ्यो । यसका साथै यो मञ्चले मुलुकको तात्कालिक राजनीतिक अवस्था र कम्युनिष्ट आन्दोलनको अग्रगतिका बारेमा छलफल चलाउँथ्यो । वि.सं. २०२५ सालमा बनेपामा भियतनामका क्रान्तिकारी राष्ट्रपति हो चि मिन्हको निधनमा ठूलो शोकसभा आयोजना गरिएको थियो । त्यो सभा निरङ्कुश पञ्चायती व्यवस्था विरुद्ध बढ्दो जनआक्रोशको सङ्केत पनि थियो ।त्यसैगरी वि.सं. २०२६ सालमा सुस्तामाथि भारतीय हस्तक्षेप विरुद्ध बामपन्थीहरूको पहलमा बनेपामा ठूलो प्रदर्शन भएको थियो । वि.सं. २०३६ सालमा पञ्चायती सरकारले विद्यार्थी बासुदेव मुस्याजुको निर्मम हत्या गरेको थियो । त्यसले आमजनतामा व्यापक आक्रोश पैदा गरेको थियो । वि.सं. २०३७ सालमा मलको मूल्यवृद्धिको विरोधमा ठूलो प्रदर्शन भएको थियो । त्यसमा कृष्णप्रसाद सापकोटा, कुलचन्द्र अधिकारी र कमानसिंह लामालाई पक्राउ गरिएको थियो ।
वि.सं. २०२९–०३० सालपछि अमृत बोहराको पुष्पलाल समुहसँग सम्पर्क छुट्न पुग्यो । नेपालको सुदुरपूर्वको झापा जिल्लाबाट कम्युनिष्ट क्रान्तिकारीहरूको पङ्क्तिले एउटा नयाँ अभियानको थालनी गरें । त्यो अभियानको मुख्य उद्देश्य कम्युनिष्ट आन्दोलनमा विद्यमान टुटफुट र विभाजनको गलत परिपाटीलाई अन्त्य गर्नु, त्यसलाई नयाँ शिराबाट पुनर्गठन एवं पुनएकिकरण गर्नु र सामन्तवाद एवं साम्राज्यवादका विरुद्ध जुझारु सङ्घर्षको शुरुवात गर्नु थियो । यसै बीच अमृत बोहरा पनि त्यो नयाँ अभियानसँग जोडिन पुग्नु भयो । उहाँ समेतको संलग्नतामा झापा विद्रोहले शुरु गरेको नयाँ अभियानलाई सङ्गठित रुपले अघि बढाउन वि.सं. २०३२ सालमा ‘अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी कोअर्डिनेशन कमिटी (माक्र्सवादी–लेनिनवादी)’ गठन गरियो । यस कमिटीलाई छोटकरीमा कोअर्डिनेशन केन्द्र (कोके) भनिन्थ्यो । कोअर्डिनेशन केन्द्रले ‘मुक्तिमोर्चा’ समुह, दाङको ‘सन्देश समूह’, ‘पूर्वको रातो झण्डा समूह’ लगायत देशका विभिन्न भागमा छरिएर रहेका साना ठुला क्रान्तिकारी समूहसँग एकता गर्दै राष्ट्रव्यापी आधार तयार गरेपछि वि.सं. २०३५ सालमा देशमा एउटा नयाँ क्रान्तिकारी कम्युनिष्ट पार्टी नेकपा (माले) स्थापना गरियो । एकता र पुनर्गठनका अनेकौं चक्रहरू पुरा गर्दै आज त्यही पार्टी नेपालको कम्युनिष्ट आन्दोलनको मुलधारको रुपमा नेकपा (एमाले) बन्न पुगेको छ । अमृत बोहराले विगत लामो समयदेखि आफ्नो सम्पर्कमा रहेका बामपन्थी साथीहरूलाई नेकपा (माले) को सम्पर्कमा ल्याउनु भयो । उता नेकपा (माले) को विशेष पहल र प्रोत्साहनमा अनेरास्ववियूको एकताको पाँचौ राष्ट्रिय सम्मेलन सम्पन्न भएपछि त्यसको माध्यमबाट काभ्रे जिल्लामा नेकपा (माले) को प्रभाव तिव्रगतिका साथ विस्तार हुन थाल्यो । त्यसैगरी नेपाल राष्ट्रिय शिक्षक सङ्गठन गठन भएपछि शिक्षकहरूको माध्यमबाट पनि हाम्रो पार्टीको प्रभाव विस्तार हुँदै गयो । पार्टीले कतिपय कार्यकर्तालाई भूमिगत पेशेवर बनाएर तथा कतिपयलाई शिक्षक बनाएर विभिन्न जिल्लामा खटाउन थाल्यो । यसैक्रममा विष्णु प्रभात र विकास गौतम शिक्षक बनेर काभ्रे जिल्लामा आउनु भयो । उहाँहरू दुवैजना नाला स्कुलमा अध्यापन गर्नुहुन्थ्यो । लामो प्रयासपछि अमृत बोहराको पहलमा वि.सं. २०३५ सालमा केदार प्रधानको घरमा बसेको वैठकले पाँच सदस्यीय जिल्ला पार्टी सकृय दल ९म्एब्न्० गठन ग¥यो । त्यसबेला पार्टी कमिटी गठन गर्ने सबै पूर्वाधार तयार भइनसकेको अवस्थामा पार्टी कै हैसियतमा काम गर्ने गरी पार्टी सकृय दल गठन गरिन्थ्यो । त्यसको सचिवमा विष्णु प्रभात र सदस्यहरूमा केदार प्रधान, विकास गौतम, शिवबहादुर देउजा, माधव अधिकारी र दलबहादुर श्रेष्ठ रहनु भएको थियो । यो नै काभ्रे जिल्लामा नेकपा (माले) को संगठन निर्माणको ऐतिहासिक थालनी थियो । जिल्ला पार्टी सक्रिय दलमा संगठित पाँचैजना साथीहरू शिक्षण पेशामा संलग्न रहनु भएको हुनाले काभ्रे जिल्लामा नेकपा (माले) को विकास एवं विस्तारमा शिक्षकहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको यथार्थलाई सधैं स्मरण गर्नुपर्छ । जिल्लास्तरीय पार्टी संगठन निर्माण भएपछि, त्यसले स्थानीय तहमा रहेका सम्पर्क, सम्बन्ध र संगठनहरूलाई जिल्लाव्यापी बनाउन महत्वपूर्ण भूमिका खेलेको थियो । यसै बीच पलाञ्चोकमा ‘पचास रुपैयाँको तमसुक’ नामको नाटक देखाइएको थियो । यसबाट भयभित भएर प्रशासनले दमनको योजना बनाउन थाल्यो । वि.सं. २०३७ सालमा सिन्धुली जिल्लाको भिमान भन्ने ठाउँमा फासिष्ट पञ्चायती सरकारले ऋषि देवकोटा ‘आजाद’ को निर्मम हत्या ग¥यो । त्यसबाट विचल्लीमा परेको उहाँको सिंगो परिवारको व्यवस्थापन पार्टीले गर्नुपर्ने भयो । श्रीमति गोमा देवकोटा र ससाना नानीहरूलाई विभिन्न ठाउँमा राखेर व्यवस्थापन गरियो । त्यसमध्ये छोरा सुवास देवकोटालाई काभ्रे जिल्लामा राखेर पढाउने व्यवस्था मिलाइएको थियो । आजादको हत्या भएको २२ दिनपछि नाला स्कुलमा अध्यापन गरिरहनु भएका शिक्षक एवं जिल्ला पार्टी सकृय दलमा सदस्य विकास गौतमले भान्जा नाता लगाएर आफैसँग राख्नु भयो र नाला स्कुलमै भर्ना गरिदिनु भयो । उहाँलाई भुम्लुटार सरुवा गरिदिएपछि सुवासलाई सँगै लगेर कक्षा ८ मा भर्ना गरिदिनु भएको थियो । यस बीच काभ्रे जिल्लामा दामोदर उपाध्याय, राजबहादुर राउत, लेखनाथ गुरागाईं र बालचन्द्र मिश्रले पनि संगठकको जिम्मेवारी निभाउनु भएको थियो । त्यसपछि वि.सं. २०४० सालतिर केशव वडाल काभ्रे जिल्लाको जिम्मेवारी लिएर आउनु भयो । काभ्रे जिल्लामा कम्युनिष्ट आन्दोलनको विकास एवं विस्तारमा विगत लामो समयदेखि महत्वपूर्ण भूमिका खेल्दै आउनु भएका केदार प्रधानलाई क्यान्सर जस्तो घातक रोगले च्याप्दै लगेको र कतिपय साथीहरू जिल्ला बाहिर जानु भएकाले जिल्ला पार्टी सक्रिय दललाई पुनर्गठन गर्नुपर्ने भयो ।
केशव बडालको नेतृत्वमा जिल्ला संगठन कमिटी पुनर्गठन गरियो । जिल्ला संगठन कमिटीका अन्य सदस्यहरूमा शिवबहादुर देउजा, माधव अधिकारी, दलबहादुर श्रेष्ठ र संग्राम तामाङ रहनु भएको थियो ।
वि.सं. २०४१ सालदेखि म मध्यउत्तर क्षेत्रको जिम्मेवारी लिएर आएँ । त्यसबेला पार्टीको क्षेत्रीय विभाजनअनुसार मध्यउत्तर क्षेत्रमा रसुवा, नुवाकोट, धादिङ, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र ओखलढुङ्गा गरी आठवटा जिल्ला पर्दथे । यि आठवटा जिल्लामा पार्टी कामको नेतृत्वगर्ने मध्यउत्तर क्षेत्रीय कमिटीमा हामी चारजना केशव बडाल (कमरेड विज्ञान), माधव पौडेल (कमरेड हेमन्त), सुरेश कार्की (कमरेड महत्व) र युवराज कार्की (कमरेड हिम्मत) थियौं । म कमिटीको सचिव (प्रमुख) थिएँ । कमिटीको प्रमुख क्षेत्रको बीचमा बस्दा सबैतिर सम्पर्क गर्न सजिलो हुने र काभ्रे जिल्ला तुलनात्मक रुपले क्षेत्रको बीचमा पर्ने हुनाले मैले काभ्रे जिल्लाको जिम्मेवारी लिनुपर्ने भयो । त्यसपछि मध्यउत्तर क्षेत्रीय कमिटीका हामी चारजनाको कार्यविभाजन निम्नबमोजिम गरियो । युवराज कार्की— काभ्रेपलाञ्चोक, केशव वडाल— सिन्धुपाल्चोक, सुरेश कार्की— धादिङ, नुवाकोट र रसुवा तथा माधव पौडेल— दोलखा, रामेछाप र ओखलढुङ्गा । धादिङ जिल्लाको जिम्मेवारी सुरेश कार्कीलाई हस्तान्तरण गरेर म २०४३ सालको शुरुमा काभ्रेपलाञ्चोक जिल्लाको जिम्मेवारी लिन आएँ । म आएपछि सबभन्दा पहिले जिल्ला संगठन कमिटी पुनर्गठन गरियो । जसमा सचिव युवराज कार्की र सदस्यमा शिवबहादुर देउजा, माधव अधिकारी र दलबहादुर श्रेष्ठ रहनु भएको थियो । केही समयपछि काठमाडौँबाट भूमिगत कार्यकर्ताको जिम्मेवारी लिएर आउनु भएका मायानाथ अधिकारी र मण्डन इलाकामा सक्रियतापूर्वक काम गरिरहनु भएका केदार नेपाललाई जिल्ला संगठन कमिटीमा थप गरियो । म काभ्रेपलाञ्चोकको जिम्मेवारी लिएर आउँदा जिल्लामा पार्टीको राम्रै पूर्वाधार निर्माण भइसकेको थियो । अब त्यसको विकास, विस्तार र सुदृढिकरण गर्ने काम मेरो काँधमा आएको थियो । जुन काम मैले आफ्नो दशवर्षे भूमिगत जीवनमा काठमाडौँपछि दोस्रो सबभन्दा धेरै करिब चारवर्ष भूमिगत बसेको जिल्ला काभ्रेमा कुशलतापूर्वक सम्पन्न गरें जस्तो लाग्छ । मैले काभ्रे जिल्लाको जिम्मेवारी सम्हाल्दा भर्खरै दोस्रो पञ्चायती आमनिर्वाचन सम्पन्न भएको थियो । पहिलो पञ्चायती निर्वाचन बहिष्कार गर्नु गलत थियो भन्ने निष्कर्ष निकाल्दै पार्टीले प्रतिकृयावादी जनप्रतिनिधिमूलक संघ संस्था भित्र बसेर विरोध एवं भण्डाफोर गर्न जनपक्षीय हस्तक्षेपको नीति अघि सारेको थियो । त्यो नीति अन्तरगत पार्टीले २०४३ सालको राष्ट्रिय पञ्चायतको निर्वाचनमा विभिन्न जिल्लामा जनपक्षीय उम्मेदवार खडा गरेको थियो । सो अनुरुप काभ्रे जिल्लामा कृष्णप्रसाद सापकोटालाई जनपक्षीय उम्मेदवार बनाइएको थियो । उहाँ पहिले उदार पञ्चको रुपमा राजनीतिक गतिविधिमा सक्रिय हुनुहुन्थ्यो । हाम्रो पार्टीको तर्फबाट राजनीतिक कुराकानी गर्दा उहाँ पार्टीको पक्षमा उभिएर काम गर्न तयार हुनुभयो । त्यसबेला उम्मेदवार बन्नु भएका न्यायप्रेमी जुझारु व्यक्ति गोविन्दनाथ उप्रेती र नेकपा (चौथो महाधिवेशन) समुहका कमान सिंह लामालाई पनि हाम्रो सहानुभूति रहेको थियो । तर पञ्चायती शासकहरूको धाँधली र षड्यन्त्रले गर्दा यी तिनैजना जनपक्षीय उम्मेदवारहरू पराजित हुनुभयो र जिल्लाका दुवै स्थानमा पञ्चायती निरङ्कुशताका पृष्ठपोषक शैलेन्द्रकुमार उपाध्याय र सत्यमान लामा विजयी भए । निर्वाचनमा पञ्चायती प्रशासनको व्यापक धाँधलीका बावजुद हाम्रो उम्मेदवारले राम्रो मत प्राप्त गर्नुभएको थियो । त्यसले जिल्लामा हाम्रो पार्टी प्रभाव विस्तार भइरहेको यथार्थलाई उजागर गरेको थियो । स्थानीय निर्वाचनमा पनि हाम्रो पार्टीले कतिपय गाउँमा जनपक्षीय उम्मेदवार खडा गरेको थियो । त्यसमध्ये कुशादेवी गाउँपञ्चायतको प्रधानपञ्चमा जनपक्षीय उम्मेदवार किशोर थापाले विजय प्राप्त गर्नुभएको थियो ।
पञ्चायती निर्वाचनमा जनपक्षीय हस्तक्षेपको कार्यनीति लिएपछि हाम्रो पार्टीको प्रभाव देशव्यापी रुपमै निकै वृद्धि भएको थियो । काभ्रे जिल्लामा पनि हाम्रो पार्टी प्रभाव यसै अवधिमा निकै राम्रोसँग विस्तार भएको थियो । धेरै गाउँमा पार्टीका स्थानीय संगठनहरू बनेका थिए । जनसंगठनमा अनेरास्ववियू र पेशागत संगठनमा नेराशिसं निकै सक्रिय थिए । यी संगठनहरूले हाम्रो पार्टीको प्रभाव विस्तारमा निकै महत्वपूर्ण भूमिका खेलेका थिए । पार्टी सदस्यहरूको संख्या पनि निकै वृद्धि भएको थियो । धेरै ठाउँमा पार्टीका आश्रयस्थलहरू बनेका थिए । पार्टीको जिल्ला हेडक्वाटर बनेपामा राखिएको थियो । त्यसको सुरक्षा र व्यवस्थापनकार्यमा घनिष्ट रुपले सहयोग पु¥याउने साथीहरूमा शीला कतिला, रघुनाथ वैद्य र उहाँको श्रीमति उर्मिला श्रेष्ठ हुनुहुन्थ्यो । मैले बेला बेलामा मध्यउत्तरका अन्य जिल्ला र काभ्रे जिल्लाभित्र विभिन्न इलाकाको काममा जानु पर्दथ्यो । त्यस बाहेक मेरो धेरै जसो समय यही हेडक्वाटरमा बसेर अध्ययन र रिपोर्ट तयार गर्नमा बित्दथ्यो । त्यसबेला मण्डन हाम्रो पार्टीको सबैभन्दा राम्रो प्रभाव भएको इलाका मानिन्थ्यो । कृष्णप्रसाद सापकोटा हाम्रो पार्टीमा प्रवेश गरेपछि नयाँ गाउँ हाम्रो आधार इलाका जस्तै बनेको थियो । उहाँको घर हाम्रो सबैभन्दा राम्रो सेल्टर बनेको थियो । जिल्ला कमिटीको सदस्य केदार नेपाल त्यहीं बस्नु हुन्थ्यो । त्यस इलाकाका सक्रिय साथीहरूमा केदार नेपाल, कृष्णप्रसाद सापकोटा, ऋषि सापकोटा, टोकबहादुर वाइवा, दिलबहादुर लामा, धावा लामा, विदुर सापकोटा, अच्युत सापकोटा, एकराज शाही, कृष्णकुमार श्रेष्ठ, हरि नेपाल, डेडी थुम्का माध्यमिक विद्यालयका प्रधानाध्यापक भानुभक्त थपलिया आदि हुनुहुन्थ्यो । भानुभक्त सरको डेरापनि हाम्रो चल्तीको सेल्टर थियो । उहाँसँगको कुराकानी पछि खाना खाएर सुत्नको लागि सुरक्षाको दृष्टिकोणले म नजिकैको एकजना दलित साथीकोमा जान्थें । पनौती र त्यस आसपासको क्षेत्र अर्को हाम्रो राम्रो प्रभाव भएको इलाका थियो । त्यहाँ जिल्ला संगठन कमिटीका सक्रिय सदस्यहरू माधव अधिकारी, शिवबहादुर देउजा र दलबहादुर श्रेष्ठ बस्नु हुन्थ्यो । माधव अधिकारीको घर हाम्रो धेरै चल्तीको सेल्टर थियौ । तुयुकाजी ताम्राकारको घर पनि हामीले प्रयोग गर्ने एउटा राम्रो सेल्टर थियो । शिक्षक संगठनको अध्यक्षको नाताले देवी ओझा पटक पटक पक्राउ पर्ने र जेल जाने स्थिति भएकाले उहाँको श्रीमतिलाई माधव अधिकारीले आफ्नो घरमा सेल्टर दिएर खाने बस्ने व्यवस्था मिलाउनु भएको थियो । त्यो क्षेत्रका रामप्रसाद अधिकारी, तुयुकाजी ताम्राकार, तेजबहादुर खड्का, अम्वु भवानी कार्की, किशोर थापा, कृष्णप्रसाद सापकोटा लगायतका साथीहरू पार्टी काममा निकै सक्रिय हुनुहुन्थ्यो । रामहरि सुवेदी, सहदेव थापा, कुमार थापा अनेरास्ववियूमा सक्रिय हुनुहुन्थ्यो । रामप्रसाद अधिकारी र म पनौतीमा खाना खाएर कुशादेवी र ¥याले तर्फ मिटिङ्ग बैठकमा भाग लिन जान्थ्यौँ । बाटोमा पुण्यप्रसाद दाहाल रक्सि खाएर हिँड्दै गरेको भेटिन्थे र मेरो बारेमा सोधेर हैरान पार्थे । अनेक बहाना बनाएर हामी त्यहाँबाट उम्किन्थ्यौँ । कुशादेवी ठाडेका कान्छाराम तामाङ र ठुमा गाउँका वेदप्रसाद सापकोटाका घर हाम्रा भरपर्दा सेल्टरहरू थिए । जनगालका कृष्णप्रसाद बञ्जारा अर्को हाम्रो सक्रिय साथी हुनुहुन्थ्यो । साँगा भैसेपाटीका उद्धव के.सी. र सुन्दर थापाका घर हाम्रा महत्वपूर्ण सेल्टरहरू थिए । उद्धव के.सी. यातायात मजदुर फाँटको नेतृत्वदायी भूमिकामा हुनुहुन्थ्यो । चक्रज्योतिका यादव थापा पनि हाम्रो सक्रिय साथी हुनुहुन्थ्यो । नाला इलाकामा पनि हाम्रो राम्रो प्रभाव क्षेत्र थियो । त्यहाँ हाम्रा सेल्टरहरूथिए । त्यहाँ श्याम सुन्दर श्रेष्ठ लगायतका साथीहरू सक्रियतापूर्वक लाग्नु भएको थियो । मिथिनकोट र आसपासका क्षेत्रमा शिव भुर्तेल, उद्धव काफ्ले, रामशरण हुमागाईं सक्रिय हुनुहुन्थ्यो । शिव भुर्तेलको घर हाम्रो साह्रै भरपर्दो सेल्टर थियो । राती हाम्रो मिटिङ बस्दा ७५ वर्ष माथि पुग्नु भएका उहाँका बुबा लाठो लिएर सुरक्षा गार्ड बस्नु भएको म अहिले पनि झल्झली सम्झन्छु । बुबाको त्यो भावना देखेर हामीलाई पनि ठूलो ऊर्जा प्राप्त हुन्थ्यो । कानपुरमा ईश्वरी पौडेल सक्रिय हुनुहुन्थ्यो । पर्सेलमा शिक्षक बन्न पुगेकी मिराध्वजुले पार्टी काममा सक्दो सहयोग गर्नुभएको थियो । नारायण पाण्डे विद्यार्थी संगठनमा सक्रिय हुनुहुन्थ्यो । सस्र्यौखर्कमा शुकविर लामा, संग्राम लामा र केशव कोइराला सक्रिय हुनुहुन्थ्यो । पाँचखाल र आसपासको क्षेत्रमा कुमार खकुरेल र केदार कोइराला विद्यार्थी संगठनमा सक्रिय हुनुहुन्थ्यो । तिनपिप्लेमा मंगलदास श्रेष्ठको घर हामीले सेल्टरको रुपमा प्रयोग गथ्र्यौं । पुरानो गाउँ दाप्चाका मधुसुधन पौडेल, खनालथोकका कुलचन्द्र अधिकारी सक्रियतापूर्वक लाग्नु भएको थियो । कोशीपारी र डाँडापारी पनि हाम्रो सम्पर्क पुगेको थियो । ढुखर्कमा पनि हाम्रो पार्टी सम्पर्क पुगेको थियो । उल्लेख्य संख्यामा हाम्रा स्थानीय पार्टी कमिटीहरू बनेका थिए । धेरै गाउँमा हाम्रो पार्टी सम्पर्क पुगेको थियो । त्यस्तो कडा भूमिगत अवस्थामा पनि पार्टी सदस्यता निकै वृद्धि भएको थियो । अनेरास्ववियूका नयाँ गाउँ र चलालमा गरी दुईटा जिल्ला सम्मेलन भएका थिए । पार्टीको प्रथम मध्यउत्तर क्षेत्रीय अधिवेशन नयाँ गाउँमा २०४६ सालको शुरुमा सम्पन्न भएको थियो । अधिवेशनले हामी चारजना केशव वडाल, युवराज कार्की, सुरेश कार्की र माधव पौडेललाई क्षेत्रीय कमिटीमा निर्वाचित गरेको थियो भने कमिटीको सचिव (प्रमुख) मा मलाई निर्वाचित गरिएको थियो । त्यसैगरी २०४५ सालको शुरुमा पार्टीको प्रथम काभ्रे जिल्ला अधिवेशन सम्पन्न भएको थियो । त्यसले पनि मेरै नेतृत्वमा ६ सदस्यीय कमिटी निर्वाचित गरेको थियो । कमिटीको उपसचिवमा मायानाथ अधिकारी निर्वाचित हुनुभएको थियो भने सदस्यहरूमा केदारनाथ नेपाल, माधव अधिकारी, शिवबहादुर देउजा र दलबहादुर श्रेष्ठ निर्वाचित हुनु भएको थियो । काभ्रे जिल्लाले बोधराज त्रिपाठी नामका एकजना कार्यकर्तालाई भूमिगत पेशेवर कार्यकर्ताको जिम्मेवारी दिएर धादिङ जिल्लामा काम गर्न पठाएको थियो । केही समय पछि उहाँ मैले भूमिगत भएर काम गर्न नसक्ने रहेछु भन्दै फर्कनु भयो ।
काभ्रे जिल्लामा काम गर्दा घटेका केही महत्वपूर्ण घटनाहरू अहिले पनि मेरो स्मृतिमा ताजै छन् । एउटा घटना, काभ्रे जिल्ला कमिटीको व्यवस्थापनमा ढुखर्कमा एउटा क्षेत्रीयस्तरको प्रशिक्षण कार्यक्रम आयोजना गरिएको थियो । उक्त प्रशिक्षण कार्यक्रममा विभिन्न जिल्लाबाट ३०–३५ जना अगुवा कार्यकर्ता सहभागि हुनु भएको थियो । प्रशिक्षकको रुपमा मध्यउत्तर क्षेत्रीय कमिटीका हामी चारजना केशव वडाल, युवराज कार्की, सुरेश कार्की र माधव पौडेल तथा केन्द्रीय कमिटीबाट तत्कालिन महासचिव झलनाथ खनाल र माधव नेपालसहभागी हुनुहुन्थ्यो । प्रशिक्षणका विषयहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति, नेपाली समाजमा प्रधान अन्तरविरोध, पार्टीको आम कार्यक्रम र ठोस कार्यक्रम, तात्कालिक कार्यनीति, प्रतिकृयावादी निर्वाचनमा जनपक्षीय हस्तक्षेप आदि निर्धारण गरिएको थियो । अघिल्लो दिन राती नै प्रशिक्षणस्थलमा प्रवेश गरेका कार्यकर्ताहरूलाई दिनभर प्रशिक्षण दिइयो र बेलुका साँझ परेपछि खाना खाएर सबै फिर्न थाल्नु भयो । त्यो इलाका अलि संवेदनशील भएको हुनाले बाटोमा टर्च बाल्न मनाही गरिएको थियो । हिँड्दै जाँदा एउटा टोलीले खुसुक्क टर्च बालेछ । हामी एउटा टोलीले बाल्दा के फरक पर्ला र भनेर अर्को टोलीले पनि बालेछ । टर्च बाल्न निषेध गरिएको ठाउँमा लाईट कसरी बल्न सक्छ र यो पक्कै प्रहरी हुनुपर्छ भनेर बाँकी टोलीहरू भागारेभाग भएछन् । अँध्यारोमा भाग्दै जाँदा कतिपय साथीहरू बाटो नदेखेर खोलामा खस्नु भएछ । धन्न त्यहाँ ठूलो खोला थिएन, नत्र ठूलै नोक्सानी बेहोर्नुपर्ने स्थिति आउन सक्थ्यो । भूमिगत कालमा थोरै निर्देशन उल्लंघन गर्दा ठूलठूला नोक्सानीहरू पनि भएका छन् ।
अर्को घटना, बनेपा नजिकै जनगालमा कृष्णप्रसाद बन्जाराको घरलाई पार्टीले भरपर्दो सेल्टरको रुपमा प्रयोग गथ्र्यौ । एकदिन त्यहाँ जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम आयोजना गरिएको थियो । प्रशिक्षकको रुपमा क्षेत्रीय कमिटीबाट हामी चारजना केशव बडाल, युवराज कार्की, सुरेश कार्की र माधव पौडेल थियौं भने केन्द्रीय कमिटीबाट माधव नेपाल आउनु भएको थियो । घरको माथिल्लो तलालाई हलको रुपमा प्रयोग गरिएको थियो । भूमिगत कार्यशैली अनुसार उज्यालो नहुँदै सबै प्रशिक्षार्थीहरू हलमा पसी सक्नु भएको थियो । कार्यक्रमस्थलमा अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनका प्रमुख नेताहरू माक्र्स, एंगेल्स, लेनिन, स्टालिन र माओका तस्विर, पार्टीको झण्डा र क्रान्तिकारी नारा लेखिएका पोस्टरहरू टाँगिएको थियो । बनेपामा पुलिस चौकी थियो । त्यहाँदेखि कार्यक्रमस्थलसम्म स्वयम्सेवकको व्यवस्था गरिएको थियो । तर त्यहाँ खटाइएका स्वयम्सेवकहरूले त्यति राम्रो तालिम पाएका थिएनन् । प्रशिक्षण कार्यक्रम भर्खर शुरु भएको थियो । बनेपाबाट एउटा अवकास प्राप्त प्रहरी हाम्रो कार्यक्रमस्थल भएतिर लागेछ । त्यसलाई देख्ने वित्तिकै हाम्रो स्वयम्सेवकले आत्तिएर दोस्रोलाई खवर गरेर । दोस्रोले झन् आत्तिएर तेस्रोलाई खवर गरेछ । तेस्रोले एकदम आत्तिएर कार्यक्रमस्थलमै आएर शिवबहादुर देउजालाई बनेपाबाट प्रहरी आउन थालेको सूचना दिएछ । त्यसपछि शिवबहादुर देउजाले पनि आत्तिदै सोझै हलमा आएर कार्यक्रमस्थलतिर प्रहरी आउन लागेको जानकारी गराउनु भयो । यस्तो सूचना पाउँनासाथ प्रशिक्षार्थीहरू बीच ठूलो हलचल मच्चियो । संभावित खतरालाई ध्यानमा राखेर हामीहरू अवैधानिक सामाग्रीहरू नष्ट गर्नतिर लाग्यौं । तर धेरैजसो प्रशिक्षार्थीहरू त्यो अप्रत्यासित सूचनाले अनियन्त्रित भैसक्नु भएको थियो । उहाँहरू माथिल्लो तलाबाट सोझै हामफालेर भाग्न थाल्नु भयो । त्यो घरको वरिपरी जङ्गल भएको हुनाले धेरैजसो त्यहीं गएर लुक्नु भएछ । कतिपय साथीहरू जुत्ता चप्पल बिनै पनौती पुग्नु भएछ । केही साथीहरू त भाग्दाभाग्दै भक्तपुरसम्म पुग्नु भएछ । घटनाको वास्तविकता थाहा पाएपछि भाग्ने साथीहरूले ठूलो लज्जाबोध महसुस गर्नुभएको थियो । भूमिगतकालमा राम्रो तयारी नगर्दा हुनजाने यस्ता सानातिना कमजोरीले पनि ठूलठूला नोक्सानी पु¥याएका उदाहरण छन् । धन्न हामी त्यस्तो ठुलो दुर्घटनामा परेनौं ।
तेस्रो घटना, एकपटक म नयाँ गाउँमा बसेको थिएँ । पार्टी कामको शिलशिलामा मैले सस्यौंखर्क जानुपर्ने थियो । बैशाख महिनाको अन्त्यतिर हुनुपर्छ, म एक्लै महादेवस्थान, जोगिटार, ज्याम्दी हुँदै इन्द्रावती नदीको किनारै किनार दोलालघाट तर्फ जाँदै थिएँ । धर्ति नै डढाउला जस्तो चर्को घाम लागेको थियो । नदी किनारको बालुवाको बाटो हिँड्दै थिएँ, तातो हावा चल्न थाल्यो । हिँड्दा हिँड्दै खुट्टा लुला हुन थाले, रिंगटा लाग्न थाल्यो, सासै रोकिएला जस्तो भयो । म बेहोस जस्तै भएँ र त्यहीं थुचुक्कै बसें । मलाई त लू लागेछ । एकछिन पछि अलि हलुका जस्तो महशुस भयो । म उठेर नदीको छेउमा गएँ, मुख धोएँ र चिसो पानी खाएर आधा घण्टा जति विश्राम गरें । त्यसपछि अलि सहज महशुस भयो र दोलालघाट हुँदै सस्र्यौंखर्क तर्फ लागें । भूमिगत कालमा त्यसबेला मैले यसरी नै एक्लै हिँड्दा पार्टी केन्द्रीय कमिटीका सदस्य नेत्रलाल ‘अभागी’ ले अप्रत्याशित रुपमा जीवन गुमाउनु परेको घटना सम्झिएँ ।
चौथो घटना, अर्को पटक म त्यसरी एक्लै कुनै कामको लागि इन्द्रावती तरेर सिन्धुपाल्चोकतर्फ जाँदै थिए । हिउँदमा मानिसहरू हिँडेरै इन्द्रावती नदी तर्ने गर्थे । म पनि तर्न सकिन्छ होला भनेर नदी भित्र पसि हालें । पहाडमा बग्ने नदी यति दह्रो रहेछ कि मलाई त ढाली हाल्यो । मलाई पौडी खेल्न पनि आउँदैनथ्यो । त्यो दिन मलाई इन्द्रावती नदीले बगाउँथ्यो होला । धन्न एकजना माझी दाइले देखेछन् र कुद्दै आएर मलाई उद्धार गरिदिए । संयोगले त्यो दिनपनि बाँचियो ।
यसरी थुप्रै उकाली ओरालीहरू पार गर्दै पार्टी निर्माणको सबैभन्दा कठिन कालखण्ड भूमिगतकालमा झण्डै चार वर्ष मैले काभ्रे जिल्लामा नेकपा (एमाले) को जग बलियो बनाउन आफ्नो जीवनको उर्जाशिल समय खर्च गरेको छु । आज काभ्रे जिल्लामा कम्युनिष्ट आन्दोलनको विशेष गरेर नेकपा (एमाले) को जुन चहल पहल छ, त्यसमा म र मजस्ता थुप्रै साथीहरूले त्यो कठिन कालखण्डमा बगाएको पसिनालाई पछि आउने पिढीले कहिल्यै भुल्ने छैन भन्ने हार्दिक अपेक्षा छ । भूमिगत रुपमा क्रान्तिकारी काममा जुटीरहँदा काभ्रे जिल्लाका साथीहरू र जनताबाट पाएको माया, ममता र सम्मान मेरा निम्ति सदा स्मरणीय रहनेछ । काभ्रे जिल्ला र मध्य उत्तरमा कार्यरत रहँदा रहँदै वि.सं. २०४६ साल भाद्रमा तत्कालिन नेकपा (माले) को चौथो महाधिवेशनले मलाई केन्द्रीय कमिटीमा निर्वाचित ग¥यो र मैले काभ्रे जिल्लाको जिम्मेवारीबाट विदा लिनुपर्ने भयो । साथीहरूले एउटा सानो तर हृदयस्पर्शी भेला आयोजना गरेर मलाई काभ्रे जिल्लाबाट विदा गर्नुभयो । मैले काभ्रे जिल्लाको जिम्मेवारीबाट विदा लिएपछि मध्यउत्तर क्षेत्रीय कमिटीका सदस्य माधव पौडेलले काभ्रेको जिम्मेवारी लिनु भयो ।
(ने.बु.प. परिषद्, काभ्रे जिल्ला कमिटीद्वारा प्रकाशित काभ्रे प्रज्ञाबाट उद्धृत गरिएको )