कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौँ / नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । सहकारीको बचत रकम अपचलनको विषयमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन समिति गठनको माग गर्दै आएको कांग्रेसले संसद्‌मा कसरी प्रस्तुत हुने भन्ने विषयमा धारणा बनाउन सोमबार बिहान ९ बजे संघीय संसद् भवनमा बस्ने गरी दलको बैठक बोलाएको हो । 

आइतबार साँझ पत्रकार सम्मेलन गर्दै महामन्त्री गगन थापाले संसदीय छानबिन समिति गठन नभएसम्म संसद् चल्न नसक्ने बताएका छन् ।

सभापति एवम् दलका नेता शेरबहादुर देउवाले भने त्यसबारे छलफल गर्न सोमबार बिहान ८:३० बजे संसदीय दल कार्यसमिति र ९ बजेबाट संसदीय दलको बैठक बोलाएका संसदीय दलको कार्यालयले जनाएको छ ।

शनिवारको छलफलमा संसदीय छानबिन समिति बनाउने विषयमा सत्तापक्ष र प्रतिपक्षबीच सैद्धान्तिक सहमति भएपनि आइतबार त्यसबारे छलफल हुँदा समितिले के-के काम गर्ने भन्ने विषयमा सहमति हुन सकेन ।

कांग्रेसले गृहमन्त्री लामिछानेलाई नै तोकेर समग्र सहकारीको छानबिन गर्नुपर्ने अडान लिएको छ भने सत्ता पक्षले व्यक्ति वा निश्चित संस्था नतोकेर समग्र सहकारीको छानबिन गर्नुपर्ने भन्दै आएको छ ।