आज विश्वासकाे मत लिंदै प्रधानमन्त्री
काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधि सभामा कम्तीमा १५७ भन्दा कम नहुने गरी विश्वासको मत लिने तयारीमा छन् । सरकारमा सहभागी जनता समाजवादी पार्टी(जसपा) नेपाल वैशाख २४ गते विभाजन भएपछि प्रधानमन्त्री प्रचण्डले सोमबार प्रतिनिधि सभाबाट चौथोपटक विश्वासको मत लिने तयारी गरेका हुन् ।
गत फागुन २१ गते एमालेसहितको नयाँ सत्ता समीकरण बदलिएपछि उनले दुई महिना ८ दिनमा दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् । यसअघि फागुन ३० गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका थिए ।
माओवादीले दाबी गरे बमोजिम विश्वासको मत पाएमा प्रधानमन्त्रीको पक्षमा एमालेको ७७, माओवादीको ३२, रास्वपाको २१, एकीकृत समाजवादीको १०, जसपाको ७, जनमत पार्टीको ६, नाउपाको ४ र आम जनता पार्टीको एक गरी कुल १५८ मत रहनेछ । जसपाको दुवै समूहले मत नदिएको अवस्थामा समेत प्रधानमन्त्रीले १५१ मत पाउने देखिन्छ ।
तीमध्ये नाउपाभित्रको विवादका कारण तटस्थ रहेमा पनि प्रधानमन्त्रीको पक्षमा स्पष्ट बहुमत पुग्ने देखिन्छ । जसपा, जनमत पार्टी र नाउपाले मत नदिएको खण्डमा पनि प्रधानमन्त्रीमाथि सङ्कट हुने छैन । त्यो अवस्थामा एमालेको ७७, माओवादीको ३२, रास्वपाको २१ र एकीकृत समाजवादीको १० र प्रभु साहको एक गरी १४१ मत हुनेछ ।
यता कांग्रेस नेतृत्वको विपक्षी मोर्चामा ११३ जना सांसद छन् । जसमा कांग्रेस ८८, राप्रपा १४, जसपा नेपाल ५, लोसपा ४, नेमकिपा र राष्ट्रिय जनमोर्चाको एक/एक सांसद छन् ।