धुलिखेल–खावा सडक खण्ड असार १८ गते भित्र कालोपत्रे गर्ने तयारी

धुलिखेल/लामो समय देखि निर्माण हुन नसकेको अरनिको राजमार्गको धुलिखेल खावा सडक खण्डको ३ किमी आगामी असार १८ भित्र कालोपत्रे गर्ने गरी कार्य प्रारम्भ भएको सडक डिभिजन कार्यालय भक्तपुरले जानकारी दिएको छ ।

धुलिखेलमा आयोजित सर्वपक्षिय भेलामा सडक डिभिजन कार्यालयका प्रमुख मेघराज मरासिनीले निर्माण कम्पनी गौरी पार्वतीले सडक निर्माणका लागि ब्यवस्थापन समुह परिवर्तन गरी कार्य योजना अनुसार कार्य अघि बढाएकाले असार १८ गते भित्र २ किमी ५ मिटर देखि ३ किमीसम्म कालोपत्रे गर्न सकिने बताए । उक्त सडक निर्माणका लागि आवश्यक पर्ने अन्य ब्यवस्थापकिय पक्ष सहजिकरण गर्न जिल्ला समन्वय समिति काभ्रेको आयोजनामा सर्वपक्षिय भेला आयोजना गरिएको थियो ।

चार किमी सडक खण्ड मध्ये ३ किमी असार १८ भित्र सक्ने गरी बेस राख्ने कार्यका लागि एक सातासम्म प्रत्येक दिन ५ घण्टा सडक बन्द गर्ने प्रस्ताव गरिएको थियो । तत्कालका लागि जेठ ८ र ९ गते विहान ११ बजे देखि दिउसो ३ बजेसम्म सडक बन्द गर्ने र निर्माण ब्यवसायीको कामको गति अनुसार क्रमशः सडकलाई बैकिल्पक मार्ग अर्थात एकतर्फी रुपमा संचालन गरी निर्माण कार्यलाई तिब्रता दिने निश्कर्ष बैठकले गरेको जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपकुमार गौतमले बताए ।

छलफलमा समन्वय समिति प्रमुख दिपकुमार गौतम,उपप्रमुख रिमबहादुर तामाङ, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, उपप्रमुख सुर्यमाया दनुवारसुरक्षा निकायका प्रमुखहरु, राजनीतिक दलका प्रतिनिधीहरु, जनप्रतिनिधीहरु, यातायात ब्यवसायीहरु, निर्माण ब्यवसायीहरु, स्थानीय तथा सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

अधिकांश सहभागिहरुले निर्माण ब्यवसायीको चरम लार्पवाहीका कारण नागरिकहरुले भोगिरहेको सास्ति तथा आगामी दिनमा उसले गर्ने कार्यमा समेत शंका रहेको बताएका थिए । पटक पटक थपिएको म्याद भित्र समेत निर्माण ब्यवसायीले कार्य नगर्दा नागरिकहरुले सडकका कारण सास्ति ब्यहोरिरहेका छन् ।