प्रधानमन्त्री रोजगार कार्यक्रमको मोडालिटी परिवर्तन गर्दैछौंः श्रम मन्त्री डीपी अर्याल

विकास तिमल्सिना

पनौती । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद (डीपी) अर्यालले प्रधानमन्त्री रोजगार कार्यक्रमको मोडालिटी परिवर्तन गर्न लागिएको बताएका छन् । पनौती नगरपालिकामा आयोजित कार्यक्रममा बोल्दै मन्त्री अर्यालले भइरहेका कामबाट सिक्दै थप प्रभावकारी बनाउन मोडालिटी परिमार्जन गर्न लागिएको जानकारी दिएका छन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई निरन्तरता दिएको पनि उनले बताए । बजारको माग र आवश्यक जनशक्ति उत्पादनमा प्रधानमन्त्री रोजगार कार्यक्रम केन्द्रित रहने उनको भनाई छ । आगामी आर्थिक वर्षमा उत्साहपुर्वक रुपम कार्यक्रम सञ्चालन हुने उनको दाबी छ ।

मन्त्री अर्यालले प्रधानमन्त्री रोजगार कार्यक्रम स्थानीय, प्रदेश र केन्द्रिय तीनै तहका सरकारको साझा कार्यक्रम भएको पनि बताएका छन । न्युनतम रोजगारीमा सहभागी हुन जाहने व्यक्तिलाई इच्छा अनुसारको काममा लगाउनुपर्नेमा उनले जोड दिए । सुरुमै काम छनौट गर्न दिनुपर्ने उनले धारणा छ । मन्त्री अर्यालले देशमा उपलब्ध स्रोत सभानको पुर्ण रुपमा उपयोग गर्नसक्नुपर्ने पनि बताएका छन् ।

भएको स्रोतलाई त्यसै खेर फालेर नयाँको खोजीमा मात्रै लाग्दा उपलब्धी प्राप्ति कठिन हुने उनको तर्क थियो । उनले सीप, रोजगारसँग जोडिएका कार्यक्रमको बारेमा प्रचारप्रसार गरेर अधिकतम सहभागीतामा ध्यान दिन स्थानीय सरकारलाई आग्रह गरेका छन्।

प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत कति स्वरोजगार सिर्जना भयो भन्ने बन्न तथ्यांक राख्न समेत रोजगार सेवा केन्द्रलाई आग्रह गरेका छन् । रोजगारको खोजीका रहेकाहरुलाई थोरै समयको लागि भएपनि रोजगारी दिउँ भन्ने उदेश्यका साथ कार्यक्रम सुरु भएको मन्त्री अर्यालले बताए । नेपालको विकासका लागि रोजगार सिर्जनामा सघाउने विभिन्न मुलुकले पुर्याएको योगदानका लागि उनले आभार व्यक्त गरेका छन् । प्राप्त सहयोगको सहि सदुपयोग गर्न सक्नुर्नेमा मन्त्री अर्यालले जोड दिएका छन् ।

कार्यक्रममा नगर प्रमुख रामशरण भण्डारीले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने कार्यक्रम सोचे अनुरुप हुन नसकेको स्विकार गरेका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमलाई स्वरोजगारमुखी बनाउन सके निरन्तरता पाउने उनले बताए ।
वर्षमा कम्तिमा १०० दिन रोजगारी दिनुपर्ने भएनि ५३ दिनभन्दा बढी रोजगारी दिन नसकेको उनले जानकारी दिए । तीन तहको सरकारले सहयोग गरेमा न्युनतम तोकिएको रोजगारी दिन सकिने नगर प्रमुख भण्डारीको भनाई छ ।

पनौती नगरपालिका कृषि, धार्मिक पर्यटनका हिसावले सम्पन्न रहेको जानकारी दिँदै नगर प्रमुख भण्डारीले यसै अन्तर्गत रहेर रोजगार सिर्जना गर्नेमा नगरको ध्यान रहेको बताए । प्रधानमन्त्री रोजगार कार्यक्रम परम्परागत शैलिमा भइरहेको भन्दै नगर प्रमुख भण्डारीले कहि परिमार्जन जरुरी रहेको बताएका थिए ।

कार्यक्रममा पनौती नगरपालिका उप–प्रमुख गिता बञ्जारा, बनेपा नगरपालिका उप–प्रमुख विमला सापकोटा, पनौती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्य, स्विस राजदुत, वर्ड बैंक प्रतिनिधि, एसियाली विकास बैंकका प्रतिनिधि, आईएलओ कन्ट्रि डाइरेक्टर नुमान ओस्कान, पनौती नगर कार्यपालिका सदस्य, वडा अध्यक्ष, पनौती उद्योग वाणिज्य संघका अध्यक्ष भोला थापा, होम स्टेका प्रतिनिधि, गृहिणी रोजगारदाता महिला समुह, न्युनतम रोजगारमा आवद्ध व्यक्तिहरु लगायतको उपस्थिती रहेको थियो ।

तस्बिरहरु