केयु बन्द गर्न नदिन वडा कार्यालयले विद्यार्थी संगठनका प्रतिनिधिसँग गर्‍यो छलफल

धुलिखेल/काठमाडौ विश्वविद्यालयमा विद्यार्थी संगठनहरुले निरन्तर बन्द र हड्ताल गर्दै तालाबन्दी गर्न थाले पछि विश्वविद्यालय रहेको वडाले विद्यार्थीहरुको जायज माग र विश्वविद्यालयका समस्याका बारेमा दीगो समाधानका लागि छलफल शुरु गरेको छ ।

वडा कार्यालयमा विश्वविद्यालयमा रहेका विद्यार्थी संगठनका प्रतिनिधिहरुलाई बोलाई छलफल गरिएको वडा अध्यक्ष उत्तम तिमल्सिनाले बताए । ‘विश्वविद्यालय राष्ट्र र अन्र्तराष्ट्रिय स्तरको गौरवको सम्पति हो । गहना हो । तर दिन प्रतिदिन परीक्षा तथा भर्नाको समयमा विद्यार्थी संगठनकै नाममा आन्दोलन गरी गलत सन्देश दिएकाले तपाईहरुलाई कार्यालयमै उपस्थित गराएर तपाईहरुका जायज माग र विश्वविद्यालयले पुरा नगरेका विषयलाई लिपिबद्ध गर्न खोजिएको हो’–अध्यक्ष तिमल्सिनाले भने–‘तपाईहरुका जायज मागहरु विश्वविद्यालयले पुरा गर्नु पर्छ । आन्दोलन गर्ने संगठित हुने तपाईहरुको हक कुण्ठित पारिनु हुँदैन तर अधिकारका नाममा विश्वविद्यालयलाई नै संकट पार्ने र गलत सन्देश जाने खालका गतिविधिहरु नगर्नु हुन वडा कार्यालयको तर्फबाट अनुरोध गर्दर्छाै ।’

विश्वविद्यालयमा पछिल्ला केहि दिन एक पछि अर्काे विद्यार्थी संगठनले ताला लगाउँदै खोल्दै गर्दै आएका छन् । सोहि विषयलाई लिएर वडा कार्यालयले विद्यार्थी संगठनका प्रतिनिधि र स्थानीय संघ संस्थाका प्रतिनिधिहरुलाई एकै स्थानमा राखेर छलफल गराएको हो ।

विश्वविद्यालयमा रहेका एमाले निकट अनेरास्ववियु, नेपाली काँग्रेस निकट नेविसंघ, माओवादी निकट अनेरास्ववियु क्रान्तिकारी, नेकपा समाजबादी निकट अनेरास्ववियू, समाजबादी विद्यार्थी संगठन र बैज्ञानिक समाजबादी विद्यार्थी युनियन कृयाशिल छन् ।

विद्यार्थी संगठनहरुले पटक पटक विश्वविद्यालयले पुरा गर्ने सहमति गरेका मागहरु पुरा नगरेको, शैक्षिक स्तर खस्किदै गएको, प्राध्यापकहरुको क्षमतामा प्रश्न उठ्न थालेको, खेलमैदान नभएको, खानेपानीको समेत ब्यवस्थापन हुन नसकेको लगायत परीक्षा, परीक्षा प्रणाली र अन्य गतिविधीहरुका चासो नदिएकाले बाध्य भएर आन्दोलन गर्नु परेको बताएका थिए ।

वडा अध्यक्ष तिमल्सिनाले विद्यार्थीका जायज मागहरुको पक्षमा स्थानीय सरकार रहेकाले बन्द गर्नु अघि स्थानीय सरकारलाई समेत जानकारी गराउँदै विश्वविद्यालयको शैक्षिक गुणस्तर र वातावरण बढाउन सबै पक्ष लाग्न सुझाव दिएका थिए ।