काठमाण्डौ महानगरका पेट्रोल पम्पमा पहेंलो रङ

काठमाण्डौ महानगरपालिका क्षेत्रका पेट्रोल पम्पहरूमा एउटै पहेंलो रङ लगाइएको छ । महानगरले एक महिना अघिदेखि महानगरभित्रका सबै पेट्रोल पम्पहरूलाई समान पहिचान सङ्केत दिनका लागि पहेंलो रङ लगाएको हो । महानगरकाअनुसार सबै पेट्रोल पम्पले शौचालयहरू नियमित सरसफाई गरी निःशुल्क सेवा सुविधा उपलब्ध गराउने छन् ।

पेट्रोल पम्प सञ्चालन मापदण्ड अनुसार हरेक पेट्रोल पम्पमा अनिवार्य निःशुल्क शौचालय सुविधा हुनुपर्ने, अग्नि नियन्त्रक उपकरण सहितको सुविधा हुनुपर्ने, पर्याप्त खुल्ला ठाउँ हुनुपर्ने, सुरक्षा सङ्केत र सुरक्षा रेखाको प्रयोग गरिएको हुनुपर्ने लगायतका मापदण्डको पालना गर्न समेत पेट्रोलियम डिलर्समार्फत् महानगरले अनुरोध गरेको छ ।

मेयर बालेन्द्र शाहले उपभोक्तालाई शुद्ध पेट्रोलियम पदार्थ सहज र सुरक्षित उपलब्ध गराउने, पेट्रोल पम्पसँग जोडिएका सडक पूर्वाधार तथा सडक उपयोगको सुविधा व्यवस्थापनका लागि प्रतिबद्ध रहेको भन्दै तत्काल, मध्यकाल र दीर्घकाल गरी चरण चरणमा काम गर्नुपर्ने अवस्था रहेको बताएका छन ।