शुरु भयो बनेपाको भिमसेनमार्गमा खाना महोत्सव,चण्डेश्वरी जात्राको भोजका परिकार महोत्सवमा

बनेपा/ऐतिहासिक चण्डेश्वरी जात्राको अवसरमा आयोजित खाना महोत्सव बनेपाको भिमसेन मार्गमा शुरु भएको छ । महोत्सवको उद्घाटन नगर प्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख विमला सापकोटाले एकसाथ खाना पकाएर गरे ।

उद्घाटन कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष सुरकृष्ण बैद्य लगायत काभ्रे उद्योग बाणिज्य संघका पदाधिकारीहरु, उद्योगी ब्यवसायीहरुको सहभागिता रहेको थियो ।

काभ्रे होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ र काभ्रे पार्टी प्यालेस तथा क्याटरीङ संघले बनेपामा हुने चण्डेश्वरी जात्राको अवसरमा आज जेठ १० देखि १२ गतेसम्म रैथाने खाना महोत्सव आयोजना गरेको हो ।

महोत्सव संयोजक श्यमकुमार भालु (मुनाल) ले बनेपा जात्राको विशिष्टकृत तथा ऐतिहासिक र सांस्कृतिक धार्मिक पर्वको रुपमा मनाउन महोत्सव आयोजना गरिएको बताए ।

बनेपा जात्राको विशिष्टतालाई अझै चिनारी गराउन र जात्रामा आउने पाहुनाहरुलाई सोहि अवसरमा खाने भोजका परिकारहरुलाई महोत्सवमा प्रस्तुत गरिएको संयोजक मुनालले बताए । सांस्कृतिक सद्भाव र एकताको भावना जागृत गराउन जात्रामा आउने पाहुना तथा अतिथी र सहभागिहरुलाई बनेपाको रैथाने नेवारी खाना भोजको परिचय गराउने तथा रैथाने खानाका परिकारहरुको प्रर्वद्धन गर्ने उदेश्यले महोत्सव आयोजना गरिएको होटल तथा रेष्टुरेन्ट ब्यवसायी महासंघका कृष्ण श्रेष्ठले बताए ।

क्याटरीङ्ग संघका अध्यक्ष शिवप्रसाद तिमल्सिनाले आउने पाहुनाहरुलाई विभिन्न परिकारले स्वागत गर्ने बताए । जिल्ला भर फैलिएका होटल तथा रेस्टुरेन्ट र पार्टी प्यालेस ब्यवसायीहरुले खाना महोत्सव गरेको यो पाँचौ हो ।

महोत्सवमा सहभागि अतिथीहरुले खानाको गुणस्तर र ऐतिहासिक जात्राको महत्वलाई अझै बढाउन महोत्सव सहयोगी हुने बताए ।