काभ्रेका ‘उद्योगी ब्यवसायी’ ३४ पदमा प्रतिस्पर्धा गर्दै

बनेपा/राजमार्ग विस्तारका कारण बनेपाका धेरै ब्यवसायीहरुको उठिबास हुन थालेको छ । राजमार्ग बन्दा बन्दै र बनिसके पछि पनि पहिलाको दाँजोमा ब्यापार हुने अपेक्षा छैन । तर पनि ब्यवसायीहरुलाई निर्वाचनको चटारो ह्वात्तै बढेको छ । 
काभ्रे उद्योग बाणिज्य संघको यहि जेठ १९ गते हुने अधिबेशनका आकांक्षीहरु बढिरहेका छन् । आर्थिक मन्दी, ब्यवसायी पलायन तथा विविध कारण पछिल्लो समय उद्योग बाणिज्य संघको सदस्यता लिने, नविकरण गर्ने क्रम घटिरहेको भए पनि निर्वाचनका समयमा उद्योगी ब्यवसायीहरु बीच चहल– पहल भने हुने गरेको छ । उद्योग बाणिज्य संघको विद्यान अनुसार अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, दुई उपाध्यक्ष, महासचिव, सचिव, सह सचिव, कोषाध्यक्ष, सह कोषाध्यक्ष, मुख्य संयोजक, सह मुख्य संयोजक पदाधिकारी हुने ब्यवस्था छ । त्यस्तै १० जना सदस्यहरु निर्वाचित, २ जना महिला निर्वाचित, क्षेत्रगत सदस्य ८ जना र मनोनित ३ गरी ३४ सदस्यीय कार्य समिति गठन हुनेछ । पदाधिकारी बाहेक अन्य पदहरुमा सर्वसम्वत हुने सम्भावना छ । 
अध्यक्ष सहित पदाधिकारीमा पनि सर्वसम्वत गर्ने प्रयत्न भए पनि बरिष्ठ उपाध्यक्ष प्रताप बैद्य, यस अघिका प्रत्यासी बसन्तनारायण भोक्षिभोया र राजन मानन्धरले अध्यक्ष पदका लागि तिब्र लविङ्ग गरिरहेका छन् । ब्यवसायीहरुले ब्यवसाय संकटमा परेका बेला सर्वसम्वत नेतृत्व चयन गरी उद्योगी ब्यवसायीका पक्षमा काम गर्ने नेतृत्व चयन गर्न सुझाव दिए पनि भित्रभित्रै चुनावको तयारी तिब्र छ । नेतृत्वका आकांक्षीहरु प्रतिस्पर्धाको तयारीमा जुटेका छन् । केहिले समुहगत प्रतिस्पर्धाको तयारी गरेका छन् भने केहिले एकल प्रतिस्पर्धाका लागि तयारी गरिरहेका छन् ।