बेथानचोकमा बजार अनुगमनः खुवा र मासु सँगै राख्नेलाई जरिबाना, दर्जनौंलाई सचेत

बेथानचोक गाउँपालिकामा बजार अनुगमन गरिएको छ । पालिकाभित्र सञ्चालनमा रहेका दुग्ध संकलन केन्द्र, बेकरी उद्योग, भेटेरिनरी सेन्टर, मासु पसल, किराना पसलको अनुगमन गरिएको हो । बेथानचोक गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिना, उद्योग तथा वाणिज्य कार्यालय काभ्रेका प्रमुख यज्ञबहादुर ओली, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय काभ्रे प्रमुख मनिषा चापागाँई, जिल्ला समन्वय समिति काभ्रेका भरत सापकोटा, उद्योग तथा वाणिज्य कार्यालय काभ्रेका मदनकुमार बजगाँई, इश्वरकुमार पाण्डे, रविन्द्रप्रसाद चौंलागाँई लगायतको टोलीले बजार अनुगमन गरेको हो ।
अनुगमनका क्रममा एउटा खुवा उद्योगलाई जरिवाना गरिएको छ भने म्याद गुज्रिएका जुस, पाउरोटी लगायतका अखाद्य सामाग्री नष्ट गरिएको छ । यस्तै दर्जनौंलाई सचेत गराइएको छ । मञ्जु खुवा तथा दुग्धजन्य व्यवसायलाई ५ हजार रुपैयाँ जरिवाना गरिएको छ । उक्त उद्योगबाट ४ प्याकेट सोडियम बाइ कार्वोनेट नष्ट गरिएको छ । उक्त खुवा उद्योगमा मासु र खुवा सँगै राखेको समेत फेला परेको छ ।

पटक पटक सचेत गराउँदा पनि अटेर गरेकाले जरिवाना गरिएको हो । यस्तै पार्थली डाँडा गाउँ डेरी फर्मलाई सरसफाईमा ध्यान दिन आग्रह गर्दै सचेत गराइएको छ । उक्त डेरी फर्ममा पनि सोडियम बाइ कार्वोनेट नष्ट गरिएको छ ।
बेथानचोक–२ मा रहेको भकारी बेथानचोक बेकरी कफि होटल लज तथा प्याकिङलाई आवश्यक मापदण्ड पुरा गर्न सचेत गराइएको छ । आज एकै दिन पालिकाका ३० वटा होटल, पसल तथा व्यवसायको अनुगमन गरिएको छ ।

अनुगमनका क्रममा व्यवसाय दर्ता नगरी सञ्चालन गरेको, सरसफाईमा ध्यान नदिइएको। म्याद सकिएको अखाद्य सामाग्री विक्रि गरेको लगायतका त्रुटि भेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय काभ्रे प्रमुख मनिषा चापागाँईले जानकारी दिइन् ।
अनुगमनका क्रममा व्यवस्थित तवरले सञ्चालन भइरहेका उदाहरणीय व्यवसाय पनि फेला परेको उनले बताइन् । उपभोक्तालाई स्वस्थ र गुणस्तरीय खानेकुरा उपलब्ध गराउने दायित्व व्यवसायीको पनि भएकाले मानव स्वास्थ्यमा खेलवाड नगर्न उनले आग्रह गरेकी छन् । यस्तै उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख यज्ञबहादुर ओलीले उपभोक्ताको अधिकार सुनिश्चितताका लागि बजार अनुगमनमा जोड दिइएको बताए ।
बेथानचोक गाउँपालिका–१ मा रहेको मदानी डेरी र बेथानचोक–२ मा रहेको देउराली खुवा एण्ड दुग्ध संकलन केन्द्रले सरसफाईमा ध्यान दिँदै तोकिएका मापदण्ड पालना गरेको पाइएको छ । आज नै बेथानचोक गाउँपालिका वडा नम्बर १ मा रहेको आरडिआर कृषि तथा पशुपालन फर्मको समेत अवलोकन गरिएको छ ।
