काभ्रेमा नागरिकता विक्री प्रकरणः विदेशी नागरिक थुनामा, कर्मचारीलाई धरौटी

धुलिखेल/जिल्ला अदालत काभ्रेपलाञ्चोकले नागरिकता र राहदानी सम्वन्धी कसूरमा विदेशी नागरिक दावा क्षिरिङ भनिने निमा तामाङलाई थुनामा राख्ने आदेश दिएको भने भने अधिकृतद्धय झपेन्द्रराज खरेल र रामचन्द्र अर्याललाई धरौटी माग गरेको छ ।
न्यायाधीश शिवकुमार पोखरेलको इजलाशले आईतबार गरेको थुनछेक बहसमा अर्याललाई ५० हजार र खरेललाई ६ लाख धरौटी माग गर्ने आदेश गरेको छ । जिलल अदालत काभ्रेपलाञ्चोककी अधिकृत तथा सूचना अधिकारी हिराकुमारी भण्डारीका अनुसार नागरिकता र राहदानी सम्वन्धी अभियोगमा विदेशी नागरिक निमा तामाङलाई थुनामा राखेर अनुसन्धान गर्न र अधिकृतद्धय खरेल र अर्यालाई धरौटीमा रिहा गर्न आदेश भएको छ ।
अर्याल धरौटी राखेर आईतबार नै रिहा भएका छन् भने खरेल धरौटी बुझाउन नसकेका कारण कारागार चलान भएका छन् । निमा यस अघि नै अबैद्य सुन पैंठारी अभियोगमा पुर्पक्षका लागि कारागारमा थिए । खरेल र अर्याल जिल्ला अदालतको आदेशले नेपाली नागरिक राजु गुरुङलाई नागरिकता विक्री गरेको अभियोगमा पुर्पक्षका लागि कारागार चलान भएका थिए । उच्च अदालतको आदेशले उनिहरु दुबैलाई धरौटीमा छाड्न आदेश दिएको भए पनि उनिहरु अर्काे मुद्दामा अनुसन्धान जारी रहेकाले धरौटी नबुझाई कारागारमा नै बसेका थिए ।
खरेललाई उच्चले ६ लाख धरौटी माग गरेको थियो भने जिल्लाले पनि ६ लाख धरौटी माग गरेको छ । अर्याललाई भने उच्चले ५० हजार र जिल्लाले पनि ५० हजार धरौटी माग गरेको छ ।
अवैध सुन पैठारी तथा संगठित अपराध मुद्दाको अनुसन्धानको सिलसिलमा पक्राउ परेका बेल्जियम नागरिक तथा चिनियाँ नागरिकहरुले झुठ्ठा तथा कीर्ते कागजातहरु निर्माण गरी जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकबाट नेपाली नागरिकताको प्रमाणपत्र बनाई सोही कीर्ते नागरिकताको आधारमा नेपाली राहदानी लिएको अनुसन्धानका क्रममा फेला परेको थियो । उनिहरुका नाममा जारी भएको राहदानी तथा नेपाली नागरिकताको सक्कल तथा नक्कलका आधारमा उनिहरुलाई कर्मचारीहरु समेतको गिरोहले नागरिकता र राहदानी उपलब्ध गराएका थिए ।
बेल्जियम नागरिक राहदानी नम्वर जिए ४५९७३६४ बाहक दावा छिरिङगको जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकबाट निमा तामाङको नामबाट नेपाली नागरिकता ३०–०१–७४–११८६८ नम्वरको २०७४ पुष २० गते लिएका थिए ।
गृह मन्त्रालय नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाले गरेको अनुसन्धान, छानविन समितिका प्रतिवेदन तथा विभिन्न संचारमाध्यमको निरन्तर समाचार प्रकाशन पछि सुन पैठारीमा पुर्पक्षका लागि कारागार रहेका दावा सहित नागरिकता र राहदानी उपलब्ध गराउन भूमिका खेल्ने कर्मचारीहरु उपर कारवाहीका लागि नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रिय अनुसन्धान व्यूरो महाराजगंजले जिल्ला प्रहरी कार्यालय काभ्रेलाई २०८० भदौ ११ गते पत्र लेखेको थियो ।
सोहि पत्रका आधारमा जिल्ला प्रहरी कार्यालय काभ्रेले शुरु गरेको अनुसन्धान तथा दर्ता गरेको मुद्दामा जिल्ला अदालत काभ्रेपलाञ्चोकले थुनछेक आदेश गरेको हो । विदेशी मात्रै दर्जनौले नागरिकता बनाएको अभिलेखमा फेला परेको छ । प्रहरीले अन्यका विषयमा अझै अनुसन्धान शुरु गरेको छैन ।
प्रहरीले उक्त मुद्दाको अनुसन्धानका क्रममा तत्कालिन प्रमुख जिल्ला अधिकारी सहित अधिकृतहरु समेत गरी २९ जनासँग बयान लिएको थियो । अधिकृत भुपेन्द्र पाण्डेयले विक्री गरेका नागरिकताको अनुसन्धान शुरु भएको छैन । उनले जारी गरेका दर्जनौ नागरिकता नक्कली छन् ।