चितवनमा ४ वटा सवारी साधन ठोक्किए, १ जनाको मृत्यु, २२ घाइते

नारायणगढ–मुग्लिङ सडक खण्डमा पर्ने चितवनको भरतपुर महानगरपलिका–२९ सत्र किलोमा गएराति चारवटा सवारी साधन एकैठाउँमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ।
दुर्घटनामा अन्य २२ जना घाइते भएका प्रहरीले जनाएको छ। घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले जानकारी दिए।
काठमाडौँबाट प्युठानतर्फ जाँदै गरेको बा ४ ख ९०८६ नम्बरको बस, नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना ३ ख ७९१५ नम्बर को ट्रक, काठमाडौँबाट महोत्तरीको बर्दिवासतर्फ जाँदै गरेको ना ७ ख ३२४८ नम्बरको बस र वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको ना ६ ख ८९६८ नम्बरको बस एकै ठाउँमा ठोक्किएका हुन्। दुर्घटना गएराति साढे १२ बजे भएको हो।
दुर्घटनामा घाइते भएका सबैको पहिचान भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालका अनुसार मृतक किशोर करिब १७ वर्षका छन्।
‘अहिलेसम्म उनको पहिचान हुन सकेको छैन,’ रिजालले भने, ‘घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ। १३ जना घाइते मध्यम अवस्थाका छन्। तीन जनाको अवस्था सामान्य छ।’