काभ्रे उद्योग बाणिज्य संघको निर्वाचनमा समुहगत प्रतिस्पर्धाको घोषणा

–काभ्रे उद्योग बाणिज्य संघमा १२ सय ४६ मतदाता

–निर्वाचन तालिका सार्वजनिक, समुहगत प्रतिस्पर्धाको घोषणा
– दुबै समुहको पदाधिकारीमा महिला अस्विकृत

मोतीराम तिमल्सिना
बनेपा
काभ्रे उद्योग बाणिज्य संघको जेष्ठ १९ गते शनिबार हुने ४२ औ बार्षिक साधारण सभा सहितको निर्वाचनका लागि १ हजार २ सय ४६ मतदाताको नामावली प्रकाशन गरिएको छ ।

निर्वाचन कार्यतालिका अनुसार २०८१ जेठ १५ गते विहान १० बजे नमावली प्रकाशन गर्ने कार्य सूचि अनुसार मतदाता नामावली प्रकाशन भएको हो । ४१ औ अधिबेशनमा १ हजार ३ सय भन्दा धेरै ब्यवसायीहरुले सदस्यता नविकरण गराएका थिए ।


मतदाता नामावली उपर दाबी विरोधको समय दिउसो १२ बजे देखि २ बजेसम्मका लागि राखिएको छ । अन्तिम मतदाता नामावली दिउँसो ४ बजे प्रकाशन हुनेछ । त्यस्तै बुधबार अर्थात जेठ १६ गते विहान ९ बजे देखि ११ बजेसम्म उम्मेदवारका लागि फाराम वितरण गरिनेछ ।

उम्मेदवारी दर्ताको समय विहान साढे ११ बजे देखि दिउसो २.३० बजेसम्म राखिएको छ । उम्मेदवारको नामावली दिउसो ३.३० बजे प्रकाशन गरिनेछ । उम्मेदवारी फिर्ताको समय दिउसो साढे ४ बजे देखि साढे ६.३० बजेसम्म राखिएको छ ।

उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन साँझ ७ बजेलाई राखिएको छ । ब्यवसायीहरुले विहिबार, शुक्रबार र शनिबार दिउसो १ बजेसम्म मत माग्न सक्ने गरी कार्यक्रम तय भएको छ । शनिबार दिउसो १ बजे मतदानका लागि कार्यक्रम तालिका सार्वजनिक गरिएको छ ।

समुहगत प्रतिस्पर्धाको घोषणा
४२ औ बार्षिक साधारण सभाको निर्वाचनका लागि समुहगत प्रतिस्पर्धाका लागि उम्मेदवारी घोषणा भएका छन् । भोली बुधबार उम्मेदवारी दर्ता गर्ने गरी वर्तमान बरिष्ठ उपाध्यक्ष प्रताप बैद्यको नेतृत्वमा एउटा समुह घोषणा भएको छ भने विशिष्ट आमन्त्रित सदस्य राजन मानन्धरको नेतृत्वमा अर्काे समुह घोषणा गरिएको छ ।

यस अघि अध्यक्ष पदका प्रत्यासी बसन्तरानारायण भोक्षिभोयाले एकल अध्यक्ष पदको उम्मेदवारी घोषणा गरेका छन् । तिनै जना अध्यक्ष पदका उम्मेदवारले ब्यवसायीहरुको हक हितका लागि आफ्नो नेतृत्वलाई विजयी गराउन ब्यवसायीहरुलाई आब्हान गरेका छन् ।


प्रताप बैद्यको नेतृत्वमा बरिष्ठ उपाध्यक्ष ग्रुवेन तौजले, उपाध्यक्षहरुमा उमेश शाक्य र विकास शर्मा, महासचिव यश कुमार रञ्जित, कोषाध्यक्ष मानकाजी प्रधान, मुख्य संयोजक राजेशकुमार श्रेष्ठ, सचिव कृष्णलाल श्रेष्ठ, सह मुख्य संयोजक भिम आचार्य, सह कोषाध्यक्ष श्यामकुमार भालु र सह सचिव सरोज श्रेष्ठ रहेका छन् । पदाधिकारीमा एक जना पनि महिला छैनन ।

अध्यक्ष पदका उम्मेदवार प्रताप बैद्यले आर्थिक मन्दीमा ब्यवसायीहरुले झेल्नु परेका समस्या, साना तथा घरेलु उद्योगहरुको ब्यवसायीकता, कानूनी सहजिकरण, बार्षिक क्यालेन्डर सहितका कार्यक्रम र उद्योगी ब्यवसायीहरुलाई अभिभावक रहेको महसुस गराउनु मुख्य एजेण्डा रहेको बताएका छन् । उनी साधारण सदस्य हुँदै विभिन्न पदमा रहेर संघको जिम्मेवारी सम्हालिरहेका छन् । बरिष्ठ उपाध्यक्ष पदमा उनि दोश्रो पटक निर्विरोध भएका हुन् ।


राजन मानन्धरको नेतृत्वमा बरिष्ठ उपाध्यक्ष रविन्द्र बैदार, उपाध्यक्षहरुमा राजेन्द्र जोशी र सुरेश भोक्षिभोया, महासचिव रजित पलाञ्चोके, कोषाध्यक्ष सुविन्द्र राजभण्डारी, मुख्य संयोजक विज्ञान धौगोडा, सचिव श्रीकृष्ण थापा, सह मुख्य संयोजक रवि तौजले, सह सचिव रामकुमार श्रेष्ठ र सह कोषाध्यक्ष रामकुमार श्रेष्ठ रहेका छन् । पदाधिकारीमा एक जना पनि महिला छैनन ।

अध्यक्ष पदका उम्मेदवार राजन मानन्धरले समग्र ब्यवसायीहरुको सारथी बन्ने घोषणा गरेका छन् । जिल्लाका उद्योगी ब्यवसायीहरुलाई ब्यवसाय गर्न सहजता प्रदान गर्ने, साना तथा घरेलु उद्योगीहरुलाई उद्यमतामा विस्तार गर्ने, जिल्लामा भएको सम्भावनालाई ब्यवसायीकता र औधोगिकीकरण गर्ने मुख्य एजेण्डा रहेको बताएका छन् । संघका विभिन्न पदमा रहेर जिम्मेवारी सम्हालेका मानन्धर हाल विशिष्ठ आमन्त्रित सदस्यका रुपमा कार्यरत छन् । बसन्तनारायण भोक्षिभोयाले एकल उम्मेदवारी घोषणा गरेका छन् ।

उनि अघिल्लो पटक वर्तमान अध्यक्ष राजेन्द्र पसँक्षेको समुहसँग पराजित भएका थिए । त्यतिबेला भोक्षिभोया र पसँक्षेको समुहगत प्रतिस्पर्धा भएको थियो ।

भोक्षिभोयाको समुहबाट उनि र केहि बाहेक अधिकांश विजयी भएका थिए । त्यहि बदला लिन भन्दै भोक्षिभोयिाले एकल अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । चार ‘स’ कायम गर्न उम्मेदवारी रहेको सामाजिक संजाल मार्फत भोक्षिभोयिाले घोाषणा गरेका छन् । समय, साझेदारी, सहकार्य र सर्तकता उनले आफ्ना मुख्य एजेण्डा बनाएका छन् ।


तिनै जना अध्यक्ष पदका उम्मेदवार र समुहका सदस्यहरु यतिखेर ब्यवसायीहरुको घरदैलोमा जान थालेका छन् भने समुहगत प्रतिस्पर्धामा रहेकाहरु बाँकी सदस्यहरुको चयन प्रकृयामा जुटेका छन् । उम्मेदवारी दर्ता अघि समुहगत प्रतिस्पर्धामा असन्तोष नचुलियोस भन्ने उदेश्यले दुबै समुह सचेत देखिन्छन् । तर पनि ब्यवसायीहरुले यस अघिको निर्वाचनमा देखेको अस्वस्थ प्रतिस्पर्धा, निर्वाचित कार्यसमितिले बहुमत र अल्पमतका नाममा गर्न नसकेका कार्यहरुका बारेमा सबै उद्योगी ब्यवसायीहरु परिचित छन् ।

यस्तो छ विद्यानत ब्यवस्था
उद्योग बाणिज्य संघको विद्यान अनुसार अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, दुई उपाध्यक्ष, महासचिव, सचिव, सह सचिव, कोषाध्यक्ष, सह कोषाध्यक्ष, मुख्य संयोजक, सह मुख्य संयोजक पदाधिकारी हुने ब्यवस्था छ । त्यस्तै १० जना सदस्यहरु निर्वाचित, २ जना महिला निर्वाचित, क्षेत्रगत सदस्य ८ जना र मनोनित ३ गरी ३४ सदस्यीय कार्य समिति गठन हुनेछ । त्यस्तै केहि ब्यक्तिहरुलाई विशिष्ट आमन्त्रित सदस्यका रुपमा मनोनित गर्ने ब्यवस्था छ ।