ब्याचलर इन प्रोफेसनल हस्पिटालिटी तेश्रो तहका विद्यार्थीहरुलाई अभिमुखिकरण

बनेपा/काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा रहेको ग्लेसियर एजुकेशनल फाउन्डेशनमा अध्ययनरत तेश्रो तहका विद्यार्थीहरुलाई काठमाडौँ विश्वविद्यालयमा ब्याचलर इन प्रोफेसनल हस्पिटालिटी कार्यक्रमका बारेमा अभिमुखीकरण गरिएको छ ।

अभिमुखीकरण कार्यक्रम काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. भोला थापाले शुरु गरेका थिए । ‘देशका विश्वविद्यालय भित्र भइरहेका गतिविधि र विद्यार्थीहरु विदेशिने क्रम किन रोक्न सकिएन ?’ – उपकुलपति थापाले भने–‘एकले अर्काेलाई दोष दिएर उम्कन सक्ने अवस्था छैन । नेपालमा गुणस्तरीय शिक्षा दिने विश्वमै चिनिएको काठमाडौँ विश्वविद्यालय जस्ता थुप्रै शैक्षिक संस्था हुँदा हुँदै विद्यार्थी पलायन किन भइरहेका छन् ?’ ‘यो जिम्मेवारी कुनै एउटा संस्था र व्यक्तिको मात्रै होईन’– उनले भने– ‘सबै जिम्मेवार बन्न सकिएन भने हामी धेरै पछि पर्नेछौँ ।’ ‘नेपालको भविष्य छ । नेपालमा भविष्य छ । देशको मुहार फेर्ने हाम्रो जिम्मेवारी र दायित्व छ’–काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा.भोला थापाले भने –‘संसारमा प्रतिस्पर्धा गर्न सक्ने क्षमताका विद्यार्थीहरु काठमाडौँ विश्वविद्यालयले उत्पादन गरिरहेको छ ।’

बनेपामा रहेको ग्लेसियर एजुकेशनल फाउन्डेशनले उत्पादन गरेका विद्यार्थीहरुबाट त्यही अपेक्षा गरिएको उपकुलपति डा.थापाले बताए । त्यसका अलावा काठमाडौँ विश्वविद्यालयले अन्य क्षेत्रका विद्यालयहरुमा समेत उक्त कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका रजिस्ट्रार प्रा.डा.अच्युत वाग्लेले काठमाडौँ विश्वविद्यालयले सिपसँगै शिक्षा भन्ने अभियानका साथ हरेक कार्यक्रमहरुलाई व्यवहारिक शिक्षासँगै जोडिरहेको बताए । नेपालमा पर्यटनको सम्भावना र पर्यटनकै माध्यमबाट मुलुकको विकास सम्भव भएकाले ब्याचलर इन प्रोफेसनल हस्पिटालिटी कार्यक्रमलाई थप प्रभावकारी बनाउनु पर्ने बताए । उत्पादित विद्यार्थी नेपालमा मात्रै नभई विश्वका जुनसुकै देशमा समेत अवसर प्राप्त गर्ने भएकाले मेहनत गर्न विद्यार्थीहरुलाई रजिस्ट्रार वाग्लेले अनुरोध गरे ।

होटल ब्यवसायहरु फस्टाउँदै गए पनि पर्यटकीय नगरी धुलिखेल तथा आसपासका क्षेत्रमा स्नातक तह उर्तिण गरेको जनशक्ति आवश्यक हुँदा थप शिक्षा आर्जन गर्न राजधानी जानु पर्ने बाध्यताको अन्त्य गर्न तथा विद्यार्थीहरुलाई सहज र सुलभ शिक्षा प्रदान गर्न काठमाडौँ बिश्वबिद्यालयको स्वीकृत शैक्षिक कार्यक्रम अन्तर्गत रही ग्लेसियर एजुकेशनल फाउन्डेशनले शैक्षिक सत्र २०२१/२०२२ देखी ब्याचलर इन प्रोफेसनल हस्पिटालिटी कार्यक्रम सुरु गरेको थापाले बताए । ‘दक्ष जनशक्ति अभावका कारण पर्यटन क्षेत्रमा भएको समस्यालाई थोरै भए पनि समाधान गर्न सहज होस भन्ने उद्देश्यले ब्याचलर इन प्रोफेसनल हस्पिटालिटी कार्यक्रम सञ्चालन गरिएको हो’ –प्रिन्सिपल श्रीमती इन्दु थापाले भनिन– ‘यो कार्यक्रमले यूवाहरुलाई स्वरोजगार र आत्मनिर्भर बनाउन कोसेढुंगा साबित गराउने विश्वास लिएका छौँ ।’

प्रयोगात्मक विषय भएकाले स्वदेश, विदेश वा कुनै पनि स्थानमा रहेर आत्मनिर्भर बन्न मद्दत पुग्ने हुँदा यूवाहरुको यस क्षेत्रमा आर्कषण बढेको छ । चार बर्षे कोर्ष पुरा गरुन्जेल बिद्यार्थीहरुले प्रयोगात्मक कक्षामा काम गर्दा आउने रकमलाई जोगाउँदै विद्यालय र विश्वविद्यालय तिर्ने शुल्क निकै कम हुन पुग्छ । कार्यक्रममा रुपेश श्रेष्ठ, कुसमका आशा थापा मगर, विद्यार्थी सन्देश बुढाथोकी, लगायतले काठमाडौँ विश्वविद्यालयको साझेदारीमा सुरु गरिएको ब्याचलर इन प्रोफेसनल हस्पिटालिटी कार्यक्रम प्रभावकारी भएकाले विद्यार्थीहरुलाई शिक्षासँगै सिप र अवसर प्रदान गर्न सकिने बताए ।