काभ्रे बास्केटबल संघले एक दिवसीय बास्केटबल प्रतियोगिता आयोजना गर्दै

बनेपा/ काभ्रे बास्केटबल संघले एक दिवसीय बास्केटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। संघले प्रतियोगिता जेठ २६ गते खेलकुदको विकासमा योगदान पुर्याउने उद्देश्यका साथ आयोजना गरेको हो।
प्रतियोगिताले खेलकुदको माध्यमबाट युवाहरुलाई अनुशासित, स्वस्थ शरीर र मस्तिष्कको विकास गर्न, साथै समग्र खेल क्षेत्रको उत्थान गर्ने लक्ष्यका साथ आयोजना गरिएको आयोजकले बिहिबार पत्रकार सम्मेलन गरी जानकारी गराए ।

प्रतियोगितामा सहभागी हुन दर्ता शुल्क रु ३००० तोकिएको छ भने विजेता टिमलाई नगद रु २५००० र दोस्रो हुने टिमलाई नगद रु १५००० प्रदान गरिने भएको छ ।

प्रतियोगितामा २० भन्दा बढी टिमहरूको सहभागिता रहने जानकारी दिँदै आयोजकले भने, यी टिमहरूले एक दिवसीय खेलमा आफ्नो उत्कृष्ट प्रदर्शन प्रस्तुत गर्दै प्रतिस्पर्धा गर्नेछन्। काभ्रे बास्केटबल संघको जारी प्रेस विज्ञप्ति भनिएको छ ,यस प्रतियोगिताले खेलकुदप्रति युवाहरुको उत्साहलाई बढावा दिनेछ र उनीहरुको क्षमता प्रदर्शनको लागि उत्कृष्ट अवसर प्रदान गर्नेछ।

यस प्रतियोगितामा सहभागी हुन इच्छुक टिमहरूले समयमै दर्ता गराउन संघले अनुरोध गरेको छ। दर्ता प्रक्रिया सरल र सहज छ, र सहभागी टिमहरूले प्रतियोगिताको मिति र स्थानका बारेमा सम्पूर्ण जानकारी संघको कार्यालयबाट प्राप्त गर्न सकिने प्रेस विज्ञप्तिमा भनिएको छ ।

काभ्रे बास्केटबल संघले यस प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न खेल मैदानको व्यवस्था, सुरक्षाको प्रत्याभूति, र खेलाडीहरूको सुविधा लगायत सम्पूर्ण पक्षमा विशेष ध्यान दिइएको आयोजकले बताएको छ ।