सुक्खा पहिरोले तामाकोशी आंशिक थुनियो, २५ विदेशीसहित ५० पर्यटक अलपत्र

दोलखाको विगु गाउँपालिका–१ लामाबगरस्थित क्यालु खोला र देउरालीकोबीचमा सडक खन्ने क्रममा सुक्खा पहिरो खस्दा तामाकोशी नदी आंशिक रूपमा थुनिएको छ ।
शुक्रबार बिहान करिब ११ बजेतिर सडक खन्ने क्रममा देउराली नजिकै खसेको सुक्खा पहिरोले तामाकोशी नदी आंशिक थुनिएको विगु–१ का वडाध्यक्ष मेम्बा तामाङले बताए ।
माथिल्लो तामाकोशीको बाँधस्थलभन्दा केही माथी सुख्खा पहिरो खसेको उनले बताए । पहिरोका कारण लप्चीबाट चरिकोट आउँदै गरेका २५ जना विदेशी पर्यटकसहित करिब ५० जना अलपत्र परेका छन् । निरन्तर पहिरो खसिरहेकाले त्यसतर्फ जान रोक लगाईएको छ ।
पहिरोका कारण अलपत्र परेकाहरूको उद्वारको प्रयास भइरहेको तामाङले बताए । प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले उक्त क्षेत्रमा पहिरो गएर तामाकोशी केही समय आंशिक रूपमा बारिएको बताए । सुख्खा पहिराले नदीबाट बारिए पनि आत्तिइहाल्नुपर्ने अवस्था नरहेको उनले बताए ।