पनौती नगरपालिका वडा नम्बर ७ बालश्रममुक्त वडा घोषणा

पनौती/पनौती नगरपालिका वडा नम्बर ७ लाई बालश्रममुक्त वडा घोषणा गरिएको छ । पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारीले नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट जारी भएको बाल श्रममुक्त स्थानीय तह घोषणा कार्यविधि २०७७ एवं पनौती नगरपालिकाबाट जारी भएको बाल श्रममुक्त नगरपालिका घोषणा कार्यविधि २०८० बमोजिम प्रकृयाहरु पुरा गरेकाले उक्त वडालाई बाल श्रममुक्त वडा घोषणा गरिएकोे बताए ।

पनौती नगरपालिकामा १२ वटा वडा मध्ये ११ वटा वडा बालश्रममुक्त वडा घोषणा गरिएको छ । वाँकी १ वडा छिट्टै घोषणा गरी नगरलाई नै बालश्रममुक्त नगर घोषणा गरिने भण्डारीले बताए ।
कार्यक्रममा उप–प्रमुख गीता बञ्जाराले नगरलाई बालश्रममुक्त घोषणा पछि पनि चुनौती रहेको बताईन् । उक्त कार्यलाई नगरले बालबालिकाहरुको क्षेत्रमा गर्नु पर्ने कार्यलाई निरन्तरता दिनु पर्ने र सबै क्षेत्रबाट सहयोग चाहिने बञ्जाराले बताईन् ।
कार्यक्रमका सभापति तथा वडा नम्बर ७ का वडा अध्यक्ष सविन ताम्राकारले पनौती नगरपालिकाका १२ वटा वडा मध्ये ७ नम्बर वडा बजार क्षेत्र, विशेष धार्मिक महत्व रहेको बताए । सरोकारवाला सँग अन्तरक्रिया, तथ्यांक संकलन, होटल पसल, कृषि फर्म, वर्कशपको निरन्तर अनुगमन, एक घर, एक मिनेट कार्यक्रम सञ्चालन गरिएको र नेपाल सरकारले तोकेको कार्यविधि अनुसार उक्त श्रममुक्त घोषणा गर्न सफल भएको उनले बताए । वडा आफैमा सिंगो पनौती नगरलाई चिनाउन महत्व रहेको ताम्राकारको भनाई थियो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्य, निर्देशक प्रणराज न्यौपाने, वडा अध्यक्षहरु, नगरपालिकाका बालमैत्री सम्पर्क व्यक्ति केशव बञ्जारा, कार्यपालिका सदस्य, स्वास्थ्य स्वयंसेविका, राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, बालमैत्री सहजकर्ता लगायत बालबालिकाको उपस्थिती रहेको थियो ।
बालश्रममुक्त वडा घोषणाको करदपत्र नगर प्रमुख भण्डारीले वडा नम्बर ७ का वडा अध्यक्ष सविन ताम्राकार सहित जनप्रतिनिधि र कर्मचारीलाई हस्तान्तरण गरेका थिए ।

बालमैत्री सहजकर्ता सविना श्रेष्ठले वडा कार्यालयले गरेका प्रयासको बारेमा जानकारी गराएकी थिइन् । यस्तै सबै वडावासी, उद्योगी, व्यवसायीलाई बालश्रम प्रयोग नगर्ने प्रतिवद्धतापत्रमा हस्ताक्षर गराइएको छ । बालश्रममुक्त वडा घोषणा कार्यक्रममा बालश्रम प्रयोग नगर्ने उद्योगी व्यवसायीलाई सम्मान गरिएको थियो भने बालश्रममुक्त वडा घोषणामा सहयोग पुर्याउनेहरुलाई प्रसंसापत्रद्धारा सम्मान गरिएको थियो ।
