चौंरीदेउरालीमा सञ्चालित भविष्यका लागि आधार परियोजना अन्तिम चरणमा

चौरीदेउराली गाउँपालिकामा खानेपानी, सरसफाई र स्वच्छता प्रवद्र्धनमा काम गर्दै आएको भविष्यका लागि आधार (फाउण्डेशन फर फ्युचर) परियोजना अन्तिम चरणमा पुगेको छ । धुलिखेलमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै उक्त जानकारी दिइएको हो ।

कार्यक्रममा सिविक फोरमका अध्यक्ष दयासागर लामाको अध्यक्षता रहेको थियो । चौरीदेउराली गाउँपालिका अध्यक्ष रेणुका चौलागाईको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत महानदास लामा, वाटर एड नेपालका कन्ट्रि डाईरेक्टर सुर्दशन न्यौपाने, वडा अध्यक्षहरु, विभिन्न संघ संस्था तथा कार्यालयका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम समापनमा बुद्ध हिमालय माविका प्रधानाध्यापक राजु चौलागाई, शिक्षा शाखा प्रमुख कालिप्रसाद पाण्डे, संस्थाका प्रमुख कार्यकारी अधिकृत बसन्त कुँवर, सचिव सिताकुमारी तामाङ, परियोजना प्रमुख सान्त्वना शर्मा लगायतले परियोजनाका अनुभव, परियोजनाले पारेको प्रभाव र आगामी दिनमा गर्नु पर्ने जिम्मेवारी र चुनौतीका बारेमा धारणा राखेका थिए । सोहि अवसरमा विद्यालयहरु र संघ संस्थालाई प्रशंशापत्र प्रदान गरिएको थियो ।

सिविक फोरमको साझेदारी र वाटर एडको सहयोगमा गाउँपालिकामा खानेपानी, सरसफाई र स्वच्छता प्रवद्र्धनका लागि फाउण्डेशन फर फ्युचर परियोजना सञ्चालित छ । २ वर्षदेखीको परियोजना र पालिकाको निरन्तर प्रयासले चौंरीदेउराली गाउँपालिकाका ५ वटा विद्यालय तीन तारा प्राप्त विद्यालय घोषणा भएका छन ।

यस्तै समावेशी शौचालय, हात धुने समावेशी स्थान, वषार्तको पानी संकलन गर्ने संरचना निर्माण, जीवनमा सरसफाईको महत्व झल्काउने वास मेला, सेनिटरी प्याड बनाउने तालिम, पानीको महत्व वुझाउने चित्रकला प्रतियोगिता लगायतका कार्यक्रम भएका छन ।

विद्यालयबाट सुरु भएको स्वास्थ्य, सरसफाई र स्वच्छताको अभियान समुदायसम्म पुगेको छ भने व्यवहार परिवर्तनमा महत्वपुर्ण सहयोग पुगेको स्थानीयले बताएका छन ।

गाउँपालिकाले परियोजना मार्फत अघि बढेका कार्यको निरन्तरतासँगै सबै विद्यालयलाई तीन तारा घोषणा गर्ने गरी कार्य गर्ने प्रतिवद्धता ब्यक्त जनाएको छ ।

गाउँपालिका अध्यक्ष रेणुका चौलगाईले गाउँपालिका भित्र रहेका सबै विद्यालयहरुमा तीन तारा घोषणा गर्ने गरी आगामी वर्षको बजेटबाट रकम विनियोजन गर्ने र सोहि अनुसारका कार्यक्रमलाई केन्द्रित गर्ने बताईन् ।
प्रमुख प्रशासकिय अधिकृत महानदास लामाले बालबालिकाहरुका लागि खानेपानी, सरसफाई तथा स्वच्छता कार्यक्रम प्रभावकारी मात्रै नभई आवश्यक भएकाले सिविक फोरमले वाटर एडको आर्थिक सहयोगमा संचालन गरेको कार्यक्रमको निरन्तरताको आवश्यकता रहेको बताए ।

कार्यक्रममा सिविक फोरमका प्रमुख कार्यकारी अधिकृत बसन्त कुँवरले स्थानीय सरकारसँगको समन्वयमा भएका काम सहज र सरल भएको बताउँदै आगामी दिनमा पनि गाउँपालिकासँगको समन्वयमा आवश्यकता अनुसारका कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाए ।  भविश्यका लागि आधार परियोजना प्रमुख सानत्वना कार्कीले परियोजना अघि, परियोजना पछि र आगामी योजनाका बारेमा जानकारी गराएकी थिइन् ।

चौरीदेउराली गाउँपालिकामा रहेको वडा नम्वर ६ मा रहेको प्रभा माध्यमिक विद्यालय, वडा नम्वर ७ मा रहेको सिर्जनशिल जनता माध्यमिक विद्यालय, वडा नम्वर ५ रहेका अरनिको माध्यमिक विद्यालय र जागृति माध्यमिक विद्यालय, वडा नम्वर ३ मा रहेको बुद्ध हिमालय माध्यमिक विद्यालयले नेपाल सरकारले तोकेका १० मापदण्ड पुरा गरेका थिए ।

विद्यालय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिले विद्यालयले पुरा गर्नु पर्ने १० वटा सूचकहरुमा खानेपानी, शौचालय, सफा, स्वच्छ र हरियाली वातावरण, खानाको स्वच्छता, स्वच्छता सुविधा, स्वच्छता शिक्षा, महिनावारी स्वच्छता ब्यवस्थापन, विपद जोखिम तथा ब्यवस्थापन, अनुगमन तथा जवाफदेहिता पुरा गरेका आधारमा तीन तारा घोषणाका लागि अनुमति दिने ब्यवस्था छ । चौरीदेउराली गाउँपालिकाको आयोजना तथा सिविक फोरमको सहजिकरणमा तीन तारा घोषणा गर्ने कार्यक्रम सम्पन्न भएको थियो ।