लक्ष्मी सनराइज बैंकको खराब कर्जा सबैभन्दा धेरै, एभरेस्ट बैंकको सबैभन्दा कम

लक्ष्मी सनराइज बैंकको खराब कर्जा ५ प्रतिशतको सीमामा पुगेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चैतसम्मको वाणिज्य बैंकहरूको प्रमुख वित्तीय सूचकांकअनुसार लक्ष्मी सनराइज बैंकको खराब कर्जा उच्च देखिएको हो।
सामान्यतः खराब कर्जा ५ प्रतिशत र त्यसभन्दा माथि भएको अवस्थालाई जोखिमको रूपमा लिने गरिन्छ। चैतसम्मको वित्तीय विवरणमा लक्ष्मी सनराइजको ५.०७ प्रतिशत खराब कर्जा पुगेको छ भने ९ वटा बैंकको खराब कर्जा ४ प्रतिशतमाथि देखिन्छ।
हिमालयन बैंकको ४.९६, कुमारी बैंकको ४.९५, नेपाल बैंकको ४.८५ र प्रभु बैंकको ४.८१ प्रतिशत खराब कर्जा छ।
यस्तै, ग्लोबल आईएमई बैंकको ४.४७, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ४.६६, राष्ट्रिय वाणिज्य बैंकको ४.३०, प्राइम कमर्सियल बैंकको ४.२९ प्रतिशत र नबिल बैंकको ४.०४ प्रतिशत खराब कर्जा छ।
यसबाहेक कृषि विकास बैंकको ३.१७ प्रतिशत, एनआईसी एसिया बैंकको ३.०८ प्रतिशत, माछापुच्छ्रे बैंकको ३.६८ प्रतिशत र सिटिजन्स बैंकको ३.७६ प्रतिशत खराब कर्जा छ।
चैत मसान्तसम्म सबैभन्दा धेरै खराब कर्जा हुनेमा लक्ष्मी सनराइज बैंक पहिलो नम्बरमा रहँदा सबैभन्दा कम खराब कर्जा एभरेस्ट बैंकको देखिएको छ। एभरेस्टको बैंकको एक प्रतिशतभन्दा पनि कम अर्थात् ०.७ मात्रै खराब कर्जा छ।
खराब कर्जा कम हुने बैंकको सूचीमा एभरेस्टपछि सानिमा बैंकको १.८९ र नेपाल एसबीआई बैंकको १.९८ प्रतिशत छ।
यस्तै सिद्धार्थ बैंकले खराब कर्जा ३.५२ प्रतिशतमा राख्दा एनएमबी बैंकले २.८९ र स्ट्यान्डर्ड चार्टर्ड बैंकले २.१४ प्रतिशतमा सीमित राखेका छन्।
सामान्यतः बैंकको कर्जा नतिरेको समयलाई आधार मानेर खराब कर्जाको गणना गरिन्छ। ३ महिना, ६ महिना र वर्ष दिनसम्म कर्जा तिर्न नआउने ऋणीहरूलाई वर्गीकरण गरेर यस्ता कर्जालाई खराब कर्जामा राख्ने गरिन्छ।
नेपाल राष्ट्र बैंकका अनुसार ५ प्रतिशतभन्दा कम खराब कर्जा हुनुलाई सामान्य मानिए पनि त्यसभन्दा माथि खराब कर्जा पुगेमा जोखिमको रूपमा हेर्ने गरिन्छ।
कुनै पनि ऋणीले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तोकिए समयावधिमा भुक्तानी नगरेको खण्डमा बैंक तथा वित्तीय संस्थाले कालोसूचीमा राख्नुपर्ने नेपाल राष्ट्र बैंकले नियम बनाएको छ ।
राष्ट्र बैंकको नियमले तीन महिनासम्म भाका नाघेको कर्जालाई असल कर्जा नै मान्ने गरेको छ । त्यसैगरी तीन महिनादेखि ६ महिनासम्म भाका नाघेको कर्जालाई कमसल मानिने प्रावधान रहेको छ भने ६ महिनादेखि एक वर्षसम्म भाका नाघेकोलाई शंकास्पद र एक वर्षभन्दा बढी भाका नाघेको कर्जालाई खराब कर्जाको रुपमा गणना गरिन्छ ।