नेदरल्याड्ससँग नेपाल ६ विकेटले पराजित

टी–२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल नेदरल्याड्ससँग पराजित भएको छ । अमेरिकाको टेक्ससस्थित ग्रान्ड प्रेरी स्टेडियममा बुधबार बिहान सम्पन्न खेलमा नेपाल ६ विकेटले पराजित बनेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले दिएको १ सय ७ रनको लक्ष्य नेदरल्यान्ड्सले १८.४ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्दै विश्वकपमा सुखद् सुरुवात गर्‍यो ।

यसअघि पहिले ब्याटिङ गरेको नेपालले सबै विकेटको क्षतिमा १०६ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए । उनले ३७ बलमा ५ चौका सहित उक्त रन जोडे ।

खराब सुरुवात गरेको नेपालले चौथो ओभरमा नै दुई विकेट गुमाएको थियो । जसअनुसार कुशल भुर्तेल ७ रन तथा आसिफ शेख ४ रनमै आउट भए ।
त्यसपछि आएका करन केसीले १७ तथा गुल्सन झाले १४ रनको योगदान दिए । यसैगरी अनिल शाहले ११ रन जोड्दा कुशल मल्ल ९ रन बनाएर आउट भए ।

नेदरल्यान्ड्सका लागि टिम प्रिङ्गल र लोगान भान विकले तीन–तीन विकेट लिए । यसैगरी पल भान मिकेरन र बास डि लिडले पनि दुई–दुई विकेट लिए ।

आजको खेलमा नेपालले नेदरल्याड्सको दुई विकेट लिने सुनौलो अवसर गुमायो । जसमा सोमपाल कामी र कप्तान रोहित पौडेल चुकेका थिए ।