मेयर उपमेयर नै भ्रष्टाचारमा मुछिएपछि गोदावरीमा कार्यवाहक को ?

ललितपुरको गोदावरी नगरपालिकाका मेयर-उपमेयर दुवैजना निलम्बनमा परेसँगै गोदावरीमा कार्यवाहकको जिम्मेवारी कसले सम्हाल्छ भन्ने चासो छ । नगरको भावी काम कारबाहीको तौरतरिकामा निर्णय लिन कार्यपालिकाको आकस्मिक बैठक बोलाइएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले बताए । अहिलेसम्मको अभ्यास हेर्दा वरिष्ठ वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिने गरिएको उनको भनाई छ । वरिष्ठताकै आधारमा कार्यवाहकको जिम्मेवारी दिने सम्भावना रहेको उनले संकेत गरेका छन ।
मेयर र उपमेयर दुवैविरुद्ध अहिले भ्रष्टाचार मुद्दा छ । हिजो अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेसँगै मेयर गजेन्द्र महर्जन र उपमेयर मुना अधिकारी दुवै निलम्बनमा परेका छन् ।
आयोगले लेले र नल्लुका ढुंगाखानीबाट रोडाढुंगा उत्खनन गर्दा भ्रष्टाचार गरेको अभियोगमा मेयर महर्जनसहित ४ कर्मचारी र ९ जना क्रसर सञ्चालकविरुद्ध मुद्द हालेको छ । उनीहरूमाथि एक अर्ब ४ करोड बिगो मागदाबी छ ।
गोदावरीमा जम्मा १४ वटा वडा छन् । यहाँ सबैभन्दा बढी नेपाली कांग्रेसका ११ जना वडाध्यक्ष छन् । नेकपा माओवादी केन्द्रका २ र एमालेका एकजनाले जितेका छन् । पालिकाको प्रशासनिक तयारीअनुसार १४ वडाध्यक्षमध्ये वरिष्ठताका आधारमा नै कावा मेयर तोक्ने तयारी छ । त्यसअनुसार वडा नम्बर ११ का नीलबहादुर देशार ज्येष्ठ छन् । कांग्रेसका देशार ६१ वर्ष पुगे । निलम्बित मेयर(उपमेयर पनि कांग्रेसबाटै चुनाव जितेको, बहुमत संख्या कांग्रेसकै रहेको साथै ज्येष्ठ वडाध्यक्ष पनि कांग्रेसकै भएकाले उनलाई कावा दिन केही समस्या नहुने बताइएको छ ।