मधेसमा ढल्यो उपेन्द्र यादवको बिरासत, नयाँ सरकार गठनका लागि आह्वान

सरोज यादव नेतृत्वको सरकार ढलेपछि मधेस प्रदेशकी प्रदेश प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन्।

बुधबार राति प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेकी हुन्।

प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले विज्ञप्ति जारी गरी प्रदेश प्रमुखबाट सरकार गठनको आह्वान भएको जानकारी दिएका हुन्।

मुख्यमन्त्री भण्डारीले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार बिहान १० बजेसम्मको समय दिएकी छन्।

बुधबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत मागेका थिए। तर, उनले आफू नेतृत्वको सरकार जोगाउन आवश्यक बहुमत प्राप्त गर्न सकेका थिएनन्। उनको पक्षमा ५० र विपक्षमा ५३ मत खसेको थियो।

मुख्यमन्त्री यादवले डेढ वर्षमा पाँचौँ पटक विश्वासको मत लिनुपरेको छ। मुख्यमन्त्रीलाई उनको दल जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेपाली कांग्रेस, लोसपा र राप्रपाले विश्वासको मत दिएका छन्।

विपक्षमा नेकपा (एमाले), जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) ले मतदान गरेका छन् ।

गठबन्धन फेरबदल हुँदा पनि यसअघि मुख्यमन्त्री यादवले चारपटक विश्वासको मत र्पाएका थिए। तर पाँचौँ पटक विश्वास पाएनन्। योसँगै जसपा नेपालले मधेश प्रदेशमा पहिलो पटक सत्ता गुमाएको छ।

मुख्यमन्त्री यादव नेतृत्वको सरकार ढलेपछि अब यहाँ केन्द्रीय सत्ता समीकरणले सरकार बनाउने प्रयास सुरु भएको छ। नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), जनमत पार्टी, नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्तिलगायत पार्टीले यहाँ जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति गरिसकेका छन्।

प्रादेशिक संरचना लागू भएपश्चात् विसं २०७४ मा भएको पहिलो निर्वाचनपछि यहाँ लगातार जसपा नेपालले नेतृत्व गरेको थियो ।

मधेश प्रदेशमा तत्कालका लागि करिब साढे छ वर्ष अर्थात् ७८ महिनापछि जसपा नेपालले मधेश प्रदेशको सत्ता गुमाएको छ।

अब यहाँ पनि अरु प्रदेशमा जस्तै राजनीतिक अस्थिरता सुरु भएको छ । अरु प्रदेशमा केन्द्रीय सत्तासमीकरण फेरबदल भए पनि मधेशमा आफ्नै पार्टी नेतृत्वको सरकारलाई प्राथमिकतामा राख्ने उपेन्द्र यादव अहिले केन्द्रदेखि प्रदेशसम्म सरकार बाहिर हुनुपरेको छ।