‘सामुदायिक विद्यालयमा सिकाई उपलब्धीको परिणाम खस्कँदै’

धुलिखेल/शैक्षिक गुणस्तर परीक्षण केन्द्रले बागमती प्रदेश भित्रको नतिजा प्रबोधीकरण गोष्ठी आयोजना गरेको छ ।

महानिर्देशक चन्द्रकान्त भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरुको उपलब्धी राष्ट्रिय परीक्षण, विद्यालय कार्य सम्पादन, बालबालिकाको सिकाई र विकास स्तर परीक्षण, अन्य विभिन्न परीक्षण, लघु अनुसन्धान प्राप्ती सुझावका बारेमा प्राप्त तथ्य तथ्याङ्कहरुको प्रतिवेदन महानिर्देशक भुसालले सार्वजनिक गरे ।


७२ जिल्लाका सामुदायिक विद्यालयको सिकाई तथा विकास स्तर परीक्षण गरेको केन्द्रले बागमती प्रदेशमा भएका गतिविधीहरुको १७ बुँदे सांरश प्रतिवेदनमा मुल प्रतिवेदनको अशं समेटेको छ । पुस्तक प्रकाशन गरी कक्षा ३, ५, ८ र १० कक्षामा गरिएका अध्ययन तथा परीक्षणका बारेमा जानकारी गराईएको छ । कक्षा ३ को गणित विषय, कक्षा ५, ८ र १० कक्षाको गणित, विज्ञान, नेपाली, अंग्रेजी विषयको सिकाई उपलब्धीको परीक्षण गरिएको थियो ।

महानिर्देशक भुसालले समग्रमा सामुदायिक विद्यालयमा भाषा तथा सिकाई उपलब्धीको गुणस्तर कमजोर हुँदै गएको बताए । ‘समग्रमा प्रतिवेदनको निश्कर्ष भनेको विद्यार्थीहरुमा सिकाई नतिजा कमजोर र घट्दो क्रममा छ’–महानिर्देशक भुसालले भने–‘देशभरका सामुदायिक विद्यालयहरुले भोगिरहेका यस्ता समस्याहरुको पहिचान भए पछि सुधार्नु पर्ने निकायहरुले त्यसमा चासो दिदै गम्भिर बन्दै कार्यान्वयन गर्नु आवश्यक छ ।’

देशभर बालबालिकाहरुको सिकाईमा गणित विषय कमजोर बन्दै गएको देखिएको छ भने भाषामा गण्डकी प्रदेश कमजोर देखिएको छ ।

केन्द्रले २०७९ साउन देखि २०८० असारसम्म अध्ययन गरेको थियो । अध्ययनका क्रममा भएका अभ्यास, मापदण्ड तथा त्यसका सूचकहरु र केन्द्रले प्राप्त गरेका तथ्यहरु सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाईवा, पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारी, पाँचखालका उपप्रमुख सुर्यमाया दनुवार, बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटा, बेथान्चोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी, शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयका सह सचिव सुमन घिमिरे, महानिर्देशक दिपेन्द्र सुवेदी, निर्देशक रुद्रहरी भण्डारी, शिक्षा समन्वय अधिकारी देवका ढकाल, बद्रीबहादुर पाठक, शिक्षक संघ, संगठनका नेताहरु, विद्यालयका प्रधानाध्यापकहरु, विद्यालय ब्यवस्थापन समितिका अध्यक्षहरु, पालिका स्तरका शिक्षा शाखाका प्रमुखहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।
सहभागिहरुले शिक्षाको गुणस्तरको सरकारी मापनका बारेमा प्रश्न उठाएका थिए । के हुँदा गुणस्तर कायम भएको मानिने ? के हो गुणस्तर ? गुणस्तरका सुचकहरु के के हुन् ? प्रमाणपत्रमा आउने नम्वर मात्रै हो कि ? अंग्रेजी फरर बोल्न जान्ने मात्रै हो गुणस्तर ? सहभागिहरुले उठाएका जिज्ञासामा महानिर्देशक चन्द्रकान्त भुसालले विद्यार्थी सिकाईका उपलब्धी, सिकाईमा देखिएको कमजोरीपन, खस्कँदै गएको भाषा तथा सिकाई उपलब्धी सुधार्न प्रतिवेदनमा सुझाव दिएको बताए ।