दोस्रो लेगमा नेपाल यूएईसँग ४–० ले पराजित

फिफा विश्वकप २०२६ छनोटअन्तर्गत दोस्रो चरणको खेलमा पनि नेपाल संयुक्त अरब इमिरेट्स (यूएई)सँग पराजित भएको छ । साउदी अरेबियाको प्रिन्स मोहम्मद विन रङ्गशालामा सम्पन्न खेलमा यूएईले नेपाललाई ४-० गोलअन्तरले पराजित गरेको हो ।
यूएईले खेलको पहिलो हाफमा दुई गोलको अग्रता लिएको थियो भने दोस्रो हाफमा थप दुई गोल गरेको थियो । यूएईका लागि हरिब अब्दुल्लाह अल्मुशरखले दुई गोल गरे भने अली सलेह अम्रो र हाजिम अब्बासले समान एक/एक गोल गरे ।
अल्मुशरखले खेलको १२औँ र १४औँ मिनेटमा गोल गरेका थिए भने अम्रोले ५३औँ र अब्बासले ७५औँ मिनेट गोल गरेपछि यूएईले शानदार जीत हासिल गरेको हो ।
जितसँगै पाँच जितका साथ यूएईले १५ अङ्क जोड्दै समूह ‘एच’को शीर्ष स्थानमा छ । पाँच वटै खेलमा पराजिति नेपाल भने अङ्कविहीन छ । नेपालले अन्तिम खेलमा यही जेठ २९ गते यमनसँग खेल्नेछ ।