महाभारतको घर्तिछाप बस्तिलाई ऋणमा डुबाएर निर्माण ब्यवसायी बेपत्ता

८ वर्ष देखि ३२ मजदुरले ६३ लाख ज्याला पाएनन्

तस्वीर : वीरबल लामा, निर्माण व्यवसायी


निर्माण कार्यमा भएको खर्चको रकम भुक्तानी नहुँदा घर्तिछापका ४० जना भन्दा धेरै ब्यक्तिहरु संकटमा परेका छन् । उक्त भवन अझै हस्तान्तरण भएको छैन । ३२ जना मजदुरहरुले ९ वर्ष देखि निर्माण ब्यवसायी विरबल लामाले दिनु पर्ने ज्याला तथा अन्य खर्च पाउन नसकेका हुन् । ६३ लाख ३ हजार ४ सय ५८ रुपैया भुक्तानी माग गर्दै स्थानीयहरुले गाउँपालिकाको न्यायीक समिति, महाभारत गाउँपालिका, घर्तिछाप स्वास्थ्य चौकी, वडा कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा शहरी विकास मन्त्रालयमा समेत निवेदन दिँदा समेत सुनुवाई हुन सकेको छैन ।

जिल्ला प्रशासन कार्यालय काभ्रेमा २०७९ चैत्र १ गते दिएको निवेदनमा आधारमा २०७९ चैत्र २६ गते अधिकृत मुना कुँवरले शहरी विकास मन्त्रालयलाई पत्र लेख्दै आवश्यक सहयोग र समन्वयका लागि अनुरोध गरेको पत्र पठाएकी थिईन् । स्थानीयहरुले २०७९ साउन ११ गते न्यायिक समितिका संयोजक तथा गाउँपालिका उपाध्यक्ष सागर मोक्तानलाई हस्ताक्षर र रकम सहितको न्यायका लागि निवेदन दिएका थिए । घर्तिछाप स्वास्थ्य चौकीका सिनियर अहेव(पाँचौ) बुद्दिदास श्रेष्ठले आर्थिक वर्ष २०७७/२०७८ मा भवन निर्माण कार्य सम्पन्न भए पनि भवन निर्माणका क्रममा खटिएका दक्ष र अदक्ष कामदारहरुको तोकिएको ज्याला समेत नदिई निर्माण ब्यवसायी विरबल लामाल सम्पर्क विहिन भएको, भवन हस्तान्तरण नगरेको, सेवा प्रदानमा समेत असहज परिस्थिती निर्माण भएको बताउँदै न्यायिक समितिलाई २०७९ पुष ८ गते निर्माण ब्यवसायी विरवल लामालार्य उपस्थित गराई कामदारको ज्याला भुक्तानी गराई भवन हस्तान्तरणका लागि पहल गरिदिनु अनुरोध गर्दै पत्र लेखेका थिए ।

सोहि ब्यहोराको पत्र वडा अध्यक्ष टंकबहादुर आलेले २०७९ साउन ११ गते नै न्यायिक समितिलाई पठाएका थिए । न्यायिक समितिले विरबल लामाका नाममा २०७९ चैत्र १९ म्याद जारी गरी छलफलका लागि उपस्थित हुन ताकेता गरेको थियो । न्यायिक समितिका संयोजक एवं गाउँपालिका उपाध्यक्ष सागर मोक्तानले प्रमुख जिल्ला अधिकारीलाई २०८० जेठ ७ गते आवश्यक छलफलका लागि पत्र लेखेका थिए । ध्रुर्वकुमार दर्लामी लगायत २९ जनाको संयुक्त निवेदनका आधारमा दावी र विरवल लामा प्रतिवादी बीच छलफल गराउन प्रयत्न गरेको, तर प्रतिवादी विरवल लामाले न्यायिक समितिको पत्र, फोन, विविध संचार माध्यमका प्रयासलाई समेत अटेर गरी कानूनी शासनको समेत खिल्ली उडाउँदै अटेर गरेकाले कानूनी शासनको प्रत्याभुति दिलाई निवेदकहरुलाई न्याय दिलाउन अनुरोध गरेका थिए । उक्त निवेदन उपर जिल्ला प्रहरी कार्यालयमा छलफल भई निर्माण ब्यवसायी विरवल लामाले किस्ता किस्तामा रकम बुझाउँछु भने पनि अझै रकम बुझाएका छैनन् ।

मजदुरहरुको टायल मार्वलको काम गरेको, सिमेन्ट घोल्ने काम गरेको, सामान लैजान ढुावनी गरेको तथा नगद पनि दिएको, झ्यालढोका र खापा राखेको, ६ वर्ष खाना खुवाएको, बालुवा ढुवानी गरेको, पसलबाट उद्यारो लगेको, होलपास बनाएको, गाहे प्लास्टर गरेको, वालुवा चालेको, ढुंगा फुटाएको लगायतका कार्यहरु गरेका मजदुर तथा स्थानीयहरुले भुक्तानी पाउन नसकेका हुन् । पटक पटक सम्र्पकमा ल्याउने प्रयत्न गर्दा पनि निर्माण ब्यवसायी विरवल लामा आउन नचाहेको र पैसा दिने कुरा नगरेको पीडितहरुले बताएका छन् । प्रहरी, प्रशासनलाई समेत अटेर गरी श्रमको पैसा नर्तिने ब्यवसायी विरुद्ध ठगीमा कारवाहीको माग गर्दै पीडितहरु न्यायका लागि जुटेका छन् । गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले पनि पटक पटक प्रयत्न गर्दा भवन हस्तान्तरण र मजदुरहरुको ज्याला भुक्तानीमा निर्माण ब्यवसायी विरवल लामाले कार्यान्वयन नगरेको बताए ।

निर्माण ब्यवसायी विरवल लामाको ९८५१०८५०६५ नम्वरको मोवाईलमा सम्पर्क गरी मजदुरको ज्याला भुक्तानी तथा भवन हस्तान्तरणका बारे जानकारी लिँदा फोन काटिदिए । उनले उक्त विषयमा कुरा गर्नै चाहेनन् ।