‘सिण्डिकेट’ कायम गराउन यातायात समितिका मजदुर बीच कुटाकुट

बनेपा/गणेश हिमाल तराई यातायात सेवा कम्पनी प्रा.लि र पुर्व अरनिको यातायात प्रा.लि. विचको विवाद छताछुल्ल भएको छ । पुर्व अरनिको यातायात प्रा.लि.को दादागिरीका कारण अरनिको राजमार्ग एक घण्टा अवरुद्ध हुन पुग्यो ।

यात्रुहरुले किन सडक बन्द गरेको भन्ने प्रश्न गर्न नपाउँदै अरनिको यातायात समितिमा कार्यरत मजदुरहरुले मरणासन्न हुने गरी कुटेको भिडियो भाईरल भएको छ ।

बनेपामा शनिबार पत्रकार सम्मेलन गर्दै गणेश हिमाल तराई यातायात सेवा कम्पनी प्रा.लि. र पुर्व अरनिको यातायात प्रा.लिका विवादका कारण उत्पन्न परिस्थिती र अवस्थाका बारेमा साथै घटनाको सिर्जंना तथा अहिले अवस्थाका बारेमा अध्यक्ष आत्मराम थापाले जानकारी गराएका थिए ।

१० महिना अघिबाट शुरु भएको घटना पछिल्लो समय २०८१ जेठ २२ गते जडिबुटीमा बा ४ ख १९९० नम्वरको बस पुर्व अरनिको प्रा.लिका कर्मचारीहरुले गणेश हिमाल तराई यातायात प्रा.लिको बस नियन्त्रणमा लिई हालसम्म नछाडेको अध्यक्ष थापाले बताए । उक्त बस छाड्नु भनेर अनुरोध गर्दा पनि नछाडेको, प्रहरीलाई जाहेरी दिँदा पनि कार्यान्वयन नभएको, मजदुर कर्मचारी माथी हातपात गरिरहेको अध्यक्ष थापाले बताए ।

उल्टै गणेश हिमाल तराई यातायात प्रा.लि. का कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिई कारवाही गरिरहेको उनले बताए । यातायात ब्यवस्था कार्यालय मार्फत रुट इजाजत पत्र लिई नेपालका कुनै पनि रुटहरुमा यात्रु बाहक सवारी साधन संचालन गर्न पाउने हकको सुरक्षाका लागि समितिका तर्फबाट ९ वटा जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको भए पनि सुरक्षाको महसुस गर्न नसकेको उनले बताए ।

पुर्व अरनिको यातायात प्रा.लिको सिण्डिकेट कायम गराउने दादागिरीका कारण अन्य समितिका ब्यवसायी र मजदुर असुरक्षित बन्न पुगेको उनले बताए ।

२०८१ जेठ २२ गते नियन्त्रणमा लिएको बस, बसका चालक र सह चालक घाईते भएका छन् । उनिहरुसँग भएको नगद लुटिएको छ । बा प्र.०१ ००६ ख ३६८३ नम्वरका चालक सहचालकहरुले अरनिको बसपार्कमा रहेको ओखलढुंगाको पलापुबाट काठमाडौ आएको बा ४ ख १९९० नम्वरको गाडी नियन्त्रणमा लिएको जनाईएको छ ।

पटक पटक किटानी जाहेरी दिँदा पनि कारवाही नभएको भन्दै ब्यवसायीहरुले सुरक्षा र कारवाहीको माग गरेका छन् । पुर्व अरनिको यातायात समितिका मजदुरहरुले गणेश हिमाल तराई यातायात प्रा.लि.का मजदुरहरुले ८ पटक भन्दा धेरै स्थानमा कुटपिट गरेको, मजदुरहरुको खुट्टा भाँचिदिएको, अवरोध गर्दा समेत गणेश हिमाल तराई यातायातको तर्फबाट कुनै प्रतिवाद नगरिएको भए पनि जडिबुटीमा भएको घटना पछि बनेपामा प्रतिबाद गरिएको अध्यक्ष थापाले बताए । बनेपामा भएको प्रतिवादका कारण पुर्व अरनिकोको तर्फबाट राजमार्गमा चक्काजाम गरिएको हो ।