काभ्रेमा आयोजित `बास्केटबल टुर्नामेन्ट´ को उपाधि डाउनटाउन टिमले जित्यो

काभ्रे/ काभ्रे बास्केटबल संघद्वारा आयोजित प्रथम बास्केटबल टुर्नामेन्ट २०८१ सम्पन्न भएको छ। खेलकुदको माध्यमबाट युवाहरूलाई अनुशासित, स्वस्थ शरीर र मस्तिष्कको विकास गर्न, साथै समग्र खेल क्षेत्रको उत्थान गर्ने लक्ष्यका साथ आयोजना गरिएको हो । प्रतियोगितामा २४ वटा टिमहरूको सहभागिता रहेको थियो। सहभागी टिमहरूले उत्कृष्ट प्रदर्शन प्रस्तुत गर्दै प्रतिस्पर्धा गरे।

उद्घाटन समारोहका प्रमुख अतिथि सुर कृष्ण वैद्य, ज्ञानकुञ्ज शैशिक प्रतिष्ठानका अध्यक्ष तथा उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ का थिए भने समापन समारोहका प्रमुख अतिथि धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक ब्यान्जुको उपस्थिति रहेको थियो । साथै, विशेष अतिथिका रूपमा नेपाल बास्केटबल संघका उपाध्यक्ष पवन थापा तथा काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष प्रताप वैद्यको उपस्थिति थियो । । कार्यक्रमको सभापतित्व कार्यक्रम प्रबन्धक तथा काभ्रे बास्केटबल संघका कोषाध्यक्ष शिव थापा मगरले गरेका थिए ।

प्रतियोगितामा डाउनटाउन टिम विजेता बन्न सफल भएको थियो भने ड्रीमटिम दोस्रो स्थानमा रह्यो। विजेता टिमलाई नगद रु २५,००० र दोस्रो हुने टिमलाई नगद रु १५,००० का साथसाथै विभिन्न आकर्षक गिफ्ट भौचरहरू प्रदान गरियो। खेल अत्यन्त रोमाञ्चक, भव्य र सभ्य रुपमा ज्ञानकुञ्ज शैशिक प्रतिष्ठान बनेपामा सम्पन्न भयो।