वीरमा २२ दिन ब्रेन ट्युमरको निःशुल्क अप्रेसन

काठमाडौं/ वीर अस्पतालले आइतबारदेखि ब्रेन ट्युमरको निःशुल्क अप्रेसन सुरु गरेको छ । विश्व ‘ब्रेन ट्युमर डे’को अवसरमा दिइएको यो सुविधा १६ असारसम्म २२ दिनका लागि रहनेछ ।
पहिलो दिन एक बिरामीको अप्रेसन गरिएकोमा सोमबार दुईजनाको अप्रेसन गर्ने तयारी भएको वीरका निर्देशक डा. सन्तोष पौडेलले बताए । ‘ब्रेन ट्युमरको उपचार महँगो भएकाले विपन्नलाई उपचारमा सहज होस् भनेर निःशुल्क सेवा सुरु गरेका हौँ । प्रत्येक हप्ता कम्तीमा चारजनाको शल्यक्रिया गर्ने योजनामा छौँ,’ डा. पौडेलले भने । ब्रेन ट्युमरका जटिल समस्या भएका विपन्न बिरामी यो सेवाबाट लाभान्वित हुने उनको भनाइ छ ।
ब्रेन ट्युमरबारे आममानिसमा जनचेतना नहुँदा र उपचारमा सहज पहुँच नपुग्दा बिरामीले समस्या भोग्दै आएका छन् । अत्यधिक टाउको दुख्ने, बान्ता हुने, कान कम सुन्न थाल्ने, स्मरणमा समस्या देखिने, आँखामा अकस्मात समस्या देखिनेजस्ता अस्वाभाविक लक्षण देखिने भएकाले समयमा सजग हुनुपर्ने डा. पौडेलले बताए । त्यस्तै, मानसिक समस्याका लक्षणहरूसमेत ब्रेन ट्युमरको संकेत भएकाले सचेत हुनुपर्ने उनको सुझाव छ ।
वीरको राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका अनुसार यस्तो अप्रेसन निःशुल्क अवधिबाहेकको समयमा गर्दा २५ हजार रुपैयाँ लाग्छ भने निजी स्वास्थ्य संस्थामा त एक लाखदेखि तीन लाख रुपैयाँसम्म खर्च हुन्छ । नेपालमा सबैभन्दा पहिलोपटक ब्रेन ट्युमरको अप्रेसन पनि वीर अस्पतालमै भएको थियो ।
विपन्नलाई सहज होस् भनेर निःशुल्क सेवा सुरु गरेका हौँ
डा. सन्तोष पौडेल, निर्देशक, वीर अस्पताल
ब्रेन ट्युमरको उपचार महँगो भएकाले विपन्नलाई उपचारमा सहज होस् भनेर निःशुल्क सेवा सुरु गरेका हौँ । पहिलो दिन एक बिरामीको अप्रेसन गरिएकोमा सोमबार दुईजनाको अप्रेसन गर्ने तयारी छ । प्रत्येक हप्ता कम्तीमा चारजनाको शल्यक्रिया गर्ने योजनामा छौँ ।