‘एमालेबाट अघाएका किर्नाहरु झरेका हुन्’: अध्यक्ष ओली

धुलिखेल÷नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेलाई ध्वस्त बनाउन, नेकपा एमाले सिध्याएर देशमा अस्थिरता निम्त्याउन चाहनेहरु एमालेमा नै बसेर किर्ना झै अघाएका ब्यक्तिहरु भएको टिप्पणी गरेका छन् । ‘जसरी भैसीमा भएको किर्ना अघाए पछि झर्छ, त्यसरी नै एमालेमा रहेर अघाएकाहरु किर्ना झै बाहिरिएका छन्’–अध्यक्ष ओलीले भने ।

नेकपा एमाले काभ्रेको ११ जिल्ला अधिबेशनको धुलिखेलमा उद्घाटन गर्दै अध्यक्ष ओलीले मिसन ८४ लाई शशक्त बनाउन पार्टीका सबै पक्ति एकजुट भएर सक्रिय हुन निर्देशन दिए । ‘अरुले आफ्ना लागि, अस्थिरताका लागि भने होलान् मिसन ८४, एमालेले देश विकास र निर्माणका लागि तीन तहकै सरकारमा एकल बहुमत ल्याउन भनेको हो’–अध्यक्ष ओलीले भने–‘आफ्नै पार्टीको बहुमतको सरकार ढाल्नेहरु किर्ना हुन् । किर्नाहरु अघाए पछि आफै झर्छन । एमाले सिध्याउन खोज्नेहरु आफै सकिनेछन् ।’

अधिबेशनमा स्वस्थ प्रतिस्पर्धा गर्न, प्रतिस्पर्धालाई सहमति र सहमति हुन नसके प्रतिस्पर्धामा जान, निर्वाचन सकिए पछि फेरी एकमन र एकताका साथ पार्टी कामलाई अघि बढाउन निर्देशन दिए ।

कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य गुरु बराल, पोलिटब्युरो सदस्य गोकुल बास्कोटा, कृष्ण राई, प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंङ्गेल, जिल्ला अध्यक्ष अशोक ब्याञ्जु, सचिव राजन भुर्तेल लगायतले एमाले अधिबेशन, आगामी कार्यभार र नेतृत्वका सन्र्दभमा धारणा राखेका थिए ।