रोशीको वाल्टिङका ६० घरमा पुग्यो एक घर एक धारा

भोला अस्तानी/बाल्टिङ, रोशी
जिल्लाको रोशी गाउँपालिका वडा नंम्वर १० वाल्टिङ्गमा ‘दिगो र गुणस्तरयुक्त संरचना हाम्रो पहिचान, सुरक्षित पानी सफा र स्वच्छ गाउँ हाम्रो अभियान’ भन्ने नाराका साथ सफा र स्वच्छ समुदाय घोषणा र खानेपानी तथा सरसफाई आयोजना सम्पन्न भएको छ । नेवा संस्थाको सहयोग, च्यारिटी वाटर दातृ निकाय रहेको उक्त आयोजना रोशी गाउँपालिका १० वाल्टिङ्ग काभ्रेको साझेदारीमा सम्पन्न भएको हो ।

गैरीडाँडा गाउँ खानेपानी तथा उपभोक्ता समिती मार्फत निर्मित खानेपानी आयोजना ३४ लाख २४ हजार ७ सय ३४ रूपैयाँ लागतमा निर्माण कार्य सम्पन्न भई २५ घरधुरी लाभान्वित भएका छन् । त्यस्तै डाँडाखर्क माथिल्लो पोखरी खानेपानी तथा उपभोक्ता समिती मार्फत निर्माण सम्पन्न गरिएको उक्त आयोजना २९ लाख लागतमा सम्पन्न भएको हो ।
आयोजनाबाट ३५ घरधुरी सहित लालीगुँरास बाल विकास केन्द्र समेत लाभान्वित भएको छ । आयोजना अन्तर्गत एक घर एक धारा निर्माण गर्दै जम्मा ६० घरमा स्वच्छ खानेपानी पु¥याएको छ ।

उद्घाटन समारोहको प्रमुख अतिथि रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा रहेका थिए । अध्यक्ष लामाले स्वच्छ खानेपानीको निरन्तरताको लागि उपभोक्ता आफै लागि पर्नु पर्ने र लामो समय टिकाउनु आवश्यक रहेको सुझाब दिए ।
विशिष्ट अतिथि रोशी गाउँपालिका वडा नम्वर १० वडा अध्यक्ष बिकेन तामाङले उपभोक्ता समितिले गरेको कामप्रती प्रशंसा गर्दै दातृ निकाय र सहयोगी संस्थालाई धन्यवाद दिँदै अझ सहयोगको अपेक्षा गरेको बताए । जुनसुकै काममा पनि वडा सहकार्य गर्न तयार रहेको र वडै भरी स्वच्छ खानेपानीको लागि कुनै कसर बाँकी नराख्ने उनले बताए ।
तीन बर्षे कार्यकाल बाँकी रहेको भन्दै अझ तिव्र रूपमा वडाको विकासको निम्ति लागि पर्ने प्रतिवद्धता उनले ब्यक्त गरे । कार्यक्रममा नेवा संस्थाका बागमती प्रदेश अध्यक्ष भरतप्रसाद भट्ट, पूर्व वडा अध्यक्ष दुधराज तामाङ लगायतको सहभागिता रहेको थियो । जितबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रम रामशरण यस्मालीले सञ्चालन गरेका थिए ।