रक्तदान गर्ने र गराउनेलाई सम्मान

बनेपा÷ २० औं विश्व रक्तदाता दिवसको अबसर पारेर रक्तदान गर्ने र गराउनेलाई सम्मान गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेको आयोजना, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको सहयोग र काभ्रे उपशाखाको समन्वयमा यो वर्ष रक्तदान बढी गर्ने ब्यक्ति तथा रक्तदान गराउने संस्थालाई सम्मान गरिएको हो ।

यो आर्थिक बर्षमा रक्तदान आयोजना गर्ने संघ संस्था, सबैभन्दा बढी रगत संकलन गर्ने संस्था र सबै भन्दा धेरै महिला रक्तदाताबाट रक्तदान गराउने संस्था र बढी रक्तदान गर्ने व्यक्तिलाई सम्मान गरिएको थियो । सबै भन्दा बढी रक्तदान गराउने नेपाल तरुणदल काभ्रेले एकै दिन १ सय २५ जनालाई रक्तदान गराएको छ ।

सम्मान कार्यक्रममा बनेपा नगरपालिकाका नगर प्रमुख शान्तिरत्न शाक्य प्रमुख अतिथी रहेका थिए । शाक्यले यस्तो पबित्र कामलाई निरन्तरता दिन आग्रह गरेका छन् । कुनै पनि मानिस रगतको अभावमा ज्यान गुमाउनुपर्ने अवस्था आउन नहुनेमा जोड दिँदै शाक्यले नगरपालिकाले रक्तदान सम्बन्धी कस्तो सहयोग गर्न सक्छ सहयोग गर्न तयार रहेको बताए । रक्तदान गर्न सबै युवालाई जागरुग बनाउनु पर्ने उनको भनाई थियो ।

कार्यक्रममा सामुदायीक साकोस, उग्रचण्डी साकोस, चण्डेश्वरी साकोस, विभिन्न सघंसस्था, नेरेसो उपशाखाहरुलाई सम्मान गरिएको थियो भने सबै भन्दा बढी रक्तदान गर्ने ब्यक्ति नेपाल रेडक्रस सोसाईटी काभ्रे शाखाका सभापति रघुनाथ हुमार्गालाई सम्मान गरिएको थियो । कार्यक्रममा स्वागत मन्तब्य काभ्रे रेडक्रस उपशाखाका सभापति राजकुमार हुमागाईले राखेका थिए भने कार्यक्रमको सभापतित्व स्वास्थ्य कार्यालय काभ्रे प्रमुख रागीश्री कक्षपतीले गरेकी थिईन् । सम्मान कार्यक्रम पछि रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।