युवा, प्रगतिशील संस्कृति र मिसन चौरासी

परिवार, समाज, देश र परदेशकै समेत जीवित प्राण वा सौन्दर्य भनेकै युवा हुन् । मानव जीवनको अनुपम सौन्दर्य, साहस, पराक्रम र पुरुषार्थका पर्यायको रुपमा युवालाई परिभाषित गर्दा अन्यथा हुँदैन । युवा १६–४० वर्षको उमेर हदमात्र नभएर देश, समाजको उत्थान र भलाइका लागि आवश्य पर्ने आँट, साहस, त्याग, बहादुरी र वलिदानको पनि अग्रदस्तामा उभिने मानवीय शक्ति हो । देउथलको युद्धमा नेपाली राष्ट्रियता र र सार्वभौमिकताको भावनाले वंशीभूत भएर चमचम खुकुरी चम्काएर गोरखाली ताकत देखाउने ७० वर्षीय भक्ति थापा , अहोरात्र समृद्ध नेपाल र सुखी नेपालीको सपना देख्ने नेकपा एमालेका अध्यक्ष क. के.पी. शर्मा ओलीलाई वृद्ध÷ प्रौढ नागरिक भनेर हल्का टिप्पणी गर्न मिल्छ र ? देशभक्ति एवं राष्ट्र निर्माणको हुटहुटी कुन युवाको भन्दा उहाँहरुमा कम छ ? अतः उमेरको नापोले नभै चेतना, सक्रियता, जागरुकता र दृष्टिकोण आदिको नापोले युवा भए/नभएको मापन गर्नुपर्दछ ।

गरी खान पाखुरीमा दम र उमेर ३०, ३५ वर्ष भएर पनि छिमेकी देशका दूतावास वा नियोगबाट मासिक तनाखा बुझ्ने, आफ्नो देशको राज विदेशीलाई सुम्पिएर बिनापरिश्रम ओछ्यानमा नै दानापानीको ¥याल काढेर बस्नेलाई कसरी युवा भन्ने ? सत्यको पक्षमा बोल्न नसक्ने, खस्ला र खाउँला भनी जिब्रो पसार्दै विवेक बन्धक राखेर शक्तिकेन्द्रको पछिपछि लाग्ने, आत्माको बोली बोल्न नसक्ने, सिद्धान्त एकातिर र व्यवहार अर्कातिर भएका हुत्तिहाराहरुलाई युवा भन्नु वा मान्नु वास्तवमा युवा शब्दकै अपमान गर्नु हो । यसार्थमा काँतर, पानीमरुवा, डरपोक, र रुढीवादी नभएर जोश र होश, आंकक्षा र प्रयास, लक्ष्य निर्धारण र एकलव्य निष्ठाकासाथ लक्ष्यभेदन गर्ने साहस भएको सामान्य र औसत व्यक्तिभन्दा केही छुट्टै विशेषता, पहिचान र हुटहुटी भएको विशेष मानव युवा हो ।

राणा शासन विरोधी आन्दोलन होस्, जनवादी क्रान्तिको ध्येयसाथ नेपाल कम्युनिष्ट पार्टीको स्थापना, वि.सं. २०२८ सालको ऐतिहासिक झापा विद्रोह, वि.सं. २०३५÷३६ को ऐतिहासिक विद्यार्थी आन्दोलन र त्यसपछि जनवादी गीत, सङ्गीत र साहित्यमार्फत सर्वसाधरण अझ विशेष गरेर तन्नेरीहरुलाई माक्र्सवादप्रति आकर्षित गर्ने काम द्वन्द्वात्मक भौतिकवादले दीक्षित परे ज्यानै दिन्छु भनेर निरङ्कुश पञ्चायती व्यवस्थाको विरुद्ध चट्टानी मुटु भएका युवाहरुको पहल र प्रयत्नमा सफल भएको हुन । मूल्य, मान्यताको लागि मर्न र मार्न नडराउने विशेष क्षमता हुन्छ, क्रान्तिकारी युवामा । आफू, परिवार, समाज र देश परिवर्तनको सम्बाहक बन्छु भनी हिम्मत नगर्ने यथास्थितिका पक्षधरहरु केवल उमेरगत ढङ्गले मात्र युवा हुन । वामपन्थी युवाहरुले क्षुद्रस्वार्थभन्दा माथि उठेर त्याग, वलिदान र क्रान्तिकारी परिवर्तनको वाहक बन्ने हिम्मत बोक्नुुपर्दछ । नेपालका परिवर्तनकामी प्रगतिशील युवाहरुले क. मदन भण्डारीद्वारा प्रतिपादित जनताको वहुदलीय जनवादको गहनतापूर्वक अध्ययन गरी त्यसलाई समग्रमा व्यवहारमा कार्यान्वयन गर्ने साहस बटल्नु पर्दछ । मौलाउँदो दक्षिणपन्थी अवसरवाद र सांगठानिक अराजकतालाई युवाबलले नै परास्त गर्दै जबजको मार्गदर्शनमा समाजवादको आधारबाट समृद्ध नेपाल र सुखी नेपाली बनाउने महाअभियानको सारथी बन्दामात्र युवाको गरिमा कायम रहन सक्दछ ।

क.माओको शब्द पैचो लिएर भन्ने हो भने अन्ततोगत्वा यो विश्व युवाहरुको हो । कुनै पनि देशको भविष्य ती देशका युवाहरुको हातमा निर्भर रहेको हुन्छ । देश, समाजको भविष्य निर्माणको गहन जिम्मेवारी वहन गर्ने युवाहरुमा सुस्पष्ट राजनीतिक दृष्टिकोण, सामाज विकासक्रमको ज्ञान, देशले वेहोरेको आरोह, अवरोहको इतिहासको सहीसही ज्ञान र त्यसलाई संलेषण गरेर अतीतबाट हासिल अनुभव र वर्तमानको भोगाइको आधारमा सुदूर भविष्यको उपयुक्त मार्ग पहिचान गर्ने विशेष क्षमता भएका युवाहरुले मात्र यथास्थितिको चक्रव्यूह तोड्न सक्छन् । गणेशभक्तिमा रमाउनेहरु भने युवा शब्दको बद्नाम गर्दै झर्ला र खाउँला भन्ने आसमा निराशापूर्ण जिन्दगी कटाउन अभीशप्त हुन्छन् । जनताको वहुदलीय जनवादले सामन्ती तथा साम्राज्यवादी साहित्य संस्कृतिको कुप्रभावको अन्त्य गरी सामाजिक कुरीति र अन्धविश्वासहरु समाप्त पारी प्रगतिशील, राष्ट्रिय एवं जनवादी साहित्य संस्कृतिको विकास गर्ने प्रस्तावना अघि सारको छ । समाजको सबै क्षेत्रममा जनवादी रुपान्तरण गर्नको निमित्त सामाजिक सुधारका कार्यक्रमलाई योजनावद्ध रुपान्तरण गरी अधि बढाइने र ऐतिहासिक र धार्मिक स्थलहरुको जिर्णाेद्वार तथा संरक्षण गरिने वेहोरा उल्लेख गरेको छ । यही तथ्यलाई आत्मसात् गर्दै प्रगतिशील युवाहरुले तथ्य र प्रमाणको आधारमा जनताको मन जित्दै सबैखाले विकृति, विसङ्गती र असङ्गतीको विरुद्ध धावा बोल्दै हिजो अग्रजहरुले प्रयोगमा ल्याइसकेका प्रगतीशील विवाह, गहन अध्ययन, आलोचना, आत्मआलोचना, सादा जीवन उच्च विचार, जनतालाई अजयशक्तिको रुपमा स्वीकार गर्दै ऊनीहरुलाई सबैखाले शोषण, दमन र कष्टबाट उन्मुक्ति दिने प्रण, श्रमलाई सम्मान, प्रबल देशभक्तिको भावना आदि जस्ता असल परम्परा र संस्कृतिलाई जीवनशैलीको रुपमा अङ्गीकार गरिरहनु पर्दछ ।

जवजले कुनै पनि एउटा धर्मको एकाधिकारलाई अन्त्य गरी सबैलाई धार्मिक स्वतन्त्रता र सम्मान प्रदान गर्ने, पछि परेको जाति, भाषा, साहित्य र संस्कृतिको ऐतिहासिक संरक्षण र सम्बद्र्धन र विकासको निम्ति विशेष कार्यक्रम सञ्चालन गरिने भनी स्पष्ट शब्दमा उल्लेख गरेकोले युवाहरुले सोही अनुसारको पार्टी तथा जनसंगठनमा आवद्ध भएर सचेतनापूर्वक संगठित भएर आफू बसोबास गरेको स्थान र आसपासको क्षेत्रमा राज्यको कुनै छुट्टै धर्म हुनु राम्रो नहुने भएकोले धार्मिक निरपेक्षताको अवधारण आएको र पहिचानको लागि परापूर्वकालदेखि नै चलीमानी आएको भाषा, संस्कृतिको संरक्षण र प्रचारप्रसार अत्यावश्यक भएको तथ्यतर्फ सम्बन्धित सबैको ध्यानाकर्षण गराउन सक्नुपर्दछ । नेकपा एमालेको वि.सं. २०७८ को प्रथम विधान महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनको आगामी कार्यभार शीर्षकको खण्ड (च) ले

– मुलुकको सांस्कृतिक विशेषता, मौलिक पहिचान र सकारात्मक पक्षहरुको संरक्षण गर्ने,
– सामन्ती, उपभोक्तावादी, व्यक्तिवादी र विकृत सांस्कृतिक परम्परा, मूल्य र मान्यताहरुको प्रतिवाद गर्ने ।
– बहुजातीय बहुभाषिक बहुसांस्कृतिक र बहुआस्था समूहका विशेषता र विविधताको संरक्षण र राष्ट्रिय एकताको सम्बद्र्धन गर्ने,
– पार्टी पंक्तिलाई श्रमलाई सम्मान गर्ने, जातीय विभेद, छुवाछुत र महिला हिंसाको विरोध गर्ने लगायत मानवतावादी, वैज्ञानिक र सामूहिकताको संस्कृतिलाई प्रबद्र्धन गर्ने, जनताको विश्वास र आस्थामा अनावश्यक ठेश नपु¥याउने अग्रगामी र जनपक्षीय दृष्टिकोण अघि सारेको छ । पार्टीसम्बद्ध युवापंक्तिले सर्वसाधरणलाई छिटो भड्काउन सक्ने यस्ता अति सम्वेदनशील विषयका सम्बन्धमा गहन अध्ययन, विश्लेषण गरी स्थानीय विशेषता र आवश्यकतालाई मध्यनजर गर्दै उपयुक्त कार्यक्रममार्फत अधिकाधिक सर्वसाधरणको मन जितेर मात्र मिसन चौरासीको लक्ष्यभेदन गर्न सकिन्छ भन्ने तथ्यलाई हेक्का राखी नथाकिकन द्वन्द्ववादी दृष्टिकोण अङ्गाल्दै प्रगतिशील संस्कृति अवलम्बन गर्दै नीति, विधि र प्रविधिको आड लिएर राजनीतिक, सांस्कृतिक, सामाजिक लगायत जनअपेक्षा अनुसारको कार्यहरुको अग्रदस्तामा युवाशक्ति उभिए भनेमात्र राजनीतिक स्थायित्व र समृद्धिको मियोकोरुपमा मिसन चौरासीको सपना सार्थक हुनेछ । अन्यथा फेरि पनि नेपालको राजनीति जनतालाई थप निरास बनाउँदै गठबन्धनको गोलचक्करमा फस्ने निश्चित जस्तै छ ।

(थापा नेपाल बुद्धिजीवी परिषद् काभ्रेपलाञ्चोक जिल्ला समितिका सदस्य हुन । )