कांग्रेस भित्रको फोहोर सफा गर्न आवश्यक : महामन्त्री थापा

काठमाडौं / नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस भित्रको फोहोर सफा गर्न आवश्यक रहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कांग्रेस भित्र फोहोर कम र सफा गर्ने मानिसहरु धेरै रहेको भन्दै थोरै फोहोर गर्ने मानिसका कारण कांग्रेस बद्नाम भइरहेको बताए ।

सत्पात्रको खोजी गरेर फोहोर गर्नेहरुलाई पार्टीबाट भाग्नुपर्ने स्थिति बनाउन आवश्यक रहेको बताए । उनले नेपालको राजनीति सरकार बनाउने, सरकार टिकाउने, चुनाव लड्ने, चुनाव जित्नेमा मात्रै सिमित बनिरहेको बताए ।

उनले नेपाली कांग्रेसमा योगदान दिनुभएका पात्रहरुलाई हामीले गाउँ गाउँबाट खोज्न आवश्यक रहेको बताए । महामन्त्री थापाले प्रधानमन्त्री बन्नेहरुलाई म किन प्रधानमन्त्री बनेको हुँ ? भन्नेकुराको जानकारी नै नरहेको बताए ।

यस्तो छ थापाको भनाइः

हाम्रो राजनीति कस्तो हुँदै गएको छ भने सरकार बनाउने, सरकार टिकाउने, चुनाव लड्ने, चुनाव जित्ने यसमा गएर यसले एउटा मिसन नै हराएको जस्तो भएको छ । त्यो मिसन हराएको जस्तो राजनीतिबाट हामी मुक्त हुनुपर्छ । अरु राजनीतिक दलले आफ्नो ठाउँबाट प्रयास गर्नुहोला, हामीले आफ्नो ठाउँबाट प्रयास गर्नेछौँ ।

हामीले हाम्रो इतिहासमा रहेको, हामीले सम्झनुपर्ने तर नसम्झिरहेको पात्रहरुलाई खोजि खोजिकन ल्याउनुपर्छ । नेपाली कांग्रेसमा योगदान दिनुभएका पात्रहरुलाई हामीले गाउँ गाउँबाट खोज्न आवश्यक छ । किनपनि भने कांग्रेसभित्रको फोहोर हामीले सफा गर्नुपर्नेछ ।

कांग्रेस भित्रको फोहोर सफा गर्नका निम्ति हामीले फोहोर सफा गर्नका लागि ऐना अगाडि उभिएर, ऐनामा लागेको फोहोर मेटेर त्यो आफू भित्र लागेको दाग सफा हुँदैन । कांग्रेस भित्रको फोहोर सफा गर्ने सन्दर्भमा कांग्रेस भित्रको फोहोर थोरै छ । कांग्रेस भित्रको सफाको अंश धेरै छ । तर त्यो सफाको अंश के हुने भयो भने चर्चा कम हुने भयो । फोहोर गर्नेहरुलाई पार्टीबाट भाग्नुपर्ने अवस्था सिर्जना गर्नुपर्ने छ ।