यस्ता छन् दही चिउराको महत्त्व र फाइदा

काठमाडौं / असार १५ गते मनाइने धान दिवस आज रोपाइँ गरी दही चिउरा खाएर मनाइँदैछ । आजबाट रोपाइँ सुरु गरेर दही चिउरा खाजाको रूपमा खाने चलन रहेको छ । दही चिउरा स्वास्थ्यका लागि निकै फाइदाजनक छ । दही चिउरामा कार्बोहाइड्रेट, प्रोटिन, क्याल्सियम, भिटामिन पाइन्छ ।
कृषि प्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेसा खेतीपाती हो । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोकलयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ ।
हिजोआज चिनी हालेर गुलियो बनाएर दही खाने चलन छ । चिनी हाल्नुभन्दा सिजन अनुसारका फलफूल केरा, आँप आदि मिसाएर खाँदा उपयुक्त हुन्छ । यसरी खाँदा हामीले थप भिटामिन र खनिज पदार्थ पनि पाउन सक्छौं ।
दहीमा पाइने स्वास्थ ब्याक्टेरियाले पाचन क्रियालाई सहयोग पुर्याउँछ । दही चिसो हुने भएकाले यसले मसलेदार खानेकुराको असरलाई कम गर्दछ । त्यसैले दही चिउरा खाँदा मिठो मात्र होइन, यसले स्वास्थ्यका लागि पनि निकै फाइदा गर्छ ।
दही चिउरा खानुको फाइदाहरु
– दहीमा चिउरा मिसाएर खाँदा कार्बोहाइड्रेड, प्रोटिन, क्याल्सियम, भिटामिन प्राप्त हुन्छ ।
– चिउरामा आइरनको मात्रा बढी हुन्छ । त्यसकारण दहीमा मिसाएर खाँदा लाभ मिल्छ ।
– दहीको सेवनबाट पेटको गर्मीमा पनि कमी ल्याउँछ । यसले शरीरमा शीतलता प्रदान गर्छ ।
– चिउरा निकै सजिलै पच्ने भएकाले पाचनमा समस्या हुनेहरूले प्रयोग गर्न सक्छन् ।
– चिउरामा थोरै तरकारी समावेश गर्दा यो खानाको रूपमा पनि प्रयोग गर्न सकिन्छ ।
– चिउराले मधुमेह रोगीलाई निकै फाइदा पुर्याउँछ । यसको सेवन गर्दा धेरै बेरसम्म भोक नलाग्ने र रगतमा सुगरको सञ्चार ढिलो गराउँछ ।
– पखाला लागेको समयमा दहीको सेवन गरे यसले पखाला नियन्त्रण गर्छ ।
दही खान नहुने अवस्था
दही खाँदा कसैलाई सुरुका केही दिनसम्म पाचन गडबड हुने, ग्याँस चल्ने, सामान्य पेट दुख्ने आदि प्रतिअसर हुन्छन् भने पछि–पछि यी समस्या घट्दै जान्छन् । यदि दही खाँदा अन्य समस्या देखापर्ने गरेका छन् भने दहीका प्रतिअसर पनि हुनसक्छन् । उदाहरणका लागि दूधको एलर्जी हुने वा ल्याक्टोज पाचन गर्न नसक्ने समस्या भएका व्यक्तिले कुनै पनि दुग्ध पदार्थ र दही समेत खानुहुँदैन । यो बाहेक निम्न अवस्थामा दही खानु हानिकारक हुन्छ–
१. ल्याक्टोज पचाउन नसक्ने अवस्था : कसै कसैको शरीरमा ल्याक्टोज तत्वको अभाव भएको अवस्थामा दूधमा भएको ल्याक्टोज सुगर पच्दैन जसले गर्दा पेटका विभिन्न समस्या देखिन्छन् । यदि त्यस्ता व्यक्तिमा ल्याक्टोज इन्जाइमको अभाव छ भने दही वा कुनै पनि दुग्ध पदार्थ खाँदा पेट दुख्ने, पखाला लाग्ने जस्ता लक्षण देखिन्छन् ।
२. दूधको एलर्जी : दुग्ध पदार्थमा पाइने केसिन र ह्वे जस्ता प्रोटिनको कसैलाई एलर्जी हुनसक्छ । यस्तो अवस्थामा छाला चिलाउने, विभिन्न प्रतिक्रिया देखिने र कहिलेकाहीं मृत्युजन्य अवस्था (एनाफाइलेटिक शक्) आउन सक्ने हुँदा त्यस्ता व्यक्तिले दही लगायत दुग्ध पदार्थ खानुहुँदैन ।
३. चिनी राखेको दही : दहीमा चिनी राखेर खाँदा बढी मात्रामा सुगरको तह बढ्न सक्ने भएकोले यस्तो दही खाएमा मोटोपन, मधुमेह तथा अन्य स्वास्थ्य समस्याको सम्भावना पनि हुने हुँदा दहीमा चिनी राखेर खानु राम्रो हुँदैन ।
४. विरुद्ध आहार : चिया, कफी, दूध, पनीर, खीर, काँक्रा, खरबुजा, मेवा आदि दहीसँग विरुद्ध आहार हुने भएकोले यस्ता पदार्थ दहीको साथमा खानुहुँदैन ।
दही र चिउरासँगै मिसाएर खाँदा हुने थप फाइदा
नेपाली परम्परामा दही र चिउरा मिसाएर खाने प्रचलन रहेको छ । दही–चिउरा खाने दिन भनेर असार १५ लाई भनिएको भएतापनि दही–चिउरा खाजाको रूपमा खाने प्रचलन नै रहेको छ । दही र चिउरा मिसाएर खाँदा थप फाइदा पाउन सकिन्छ । गर्मी याममा बढी पसिना जाने, बढी परिश्रमका साथ काम गर्नुपर्दा शक्ति खपत हुनेहुँदा दही–चिउरा मिसाएर खाँदा पानीको मात्रा पनि परिपूर्ति हुन्छ, शीतल हुन्छ, तिर्खा मेटिन्छ, डम्म अघाइन्छ र पुनः काम गर्न सकिन्छ । खेर गएको शक्ति आपूर्ति हुन्छ र शरीरमा आवश्यक अन्य तत्व पनि प्राप्त गर्न सकिन्छ ।
दही र चिउराका साथ केरा, आँप वा अन्य फलफूल पनि मिसाएर खाएमा अझ राम्रो हुन्छ, किनकि यसबाट थप शक्ति र अन्य तत्वहरू पनि प्राप्त हुन्छ । तर दहीमा सकभर चिनी मिसाएर खानु राम्रो हुँदैन । गुलियोको आवश्यकता परेमा केरा वा आँप मिसाएर खाँदा धेरै लाभ पाउन सकिन्छ । दही–चिउरासँगै थप तरकारी वा अचार मिसाएर खान पनि सकिन्छ । दही–चिउरा तयार गर्न पनि सजिलो हुने किनकि कामको चाप परेको बखत यो राम्रो खाजाको रूपमा हुनसक्छ भने बढी परिश्रम गर्नुपर्ने, बढी पसिना आउने, गर्मी हुने बखतमा दही–चिउरा खानु स्वास्थ्यका लागि अति लाभदायक छ ।
विभिन्न गुणले भरिपूर्ण दही र चिउरा खानु स्वास्थ्यका लागि राम्रो हुन्छ । गर्मी मौसममा त दही मानिसको लागि एक वरदान नै हो, जसको सेवनले शीतलता दिन्छ र छिटो प्यास लाग्दैन । दहीमा पाइने प्रोबायोटिक्स्को गुणले गर्दा पाचन प्रणालीमा हुने लाभदायक ब्याक्टेरियाको सङ्ख्या बढ्न गई पाचन प्रणालीमा लाग्ने तमाम रोगहरू समाधान हुन्छन् ।
तर दही खाँदा समय मिलाउनुपर्ने हुन्छ । बिहानको खानामा दही, मही, कम नुन राखेको अचार आदि खानुपर्छ र राम्रोसँग पाचन हुने गर्छ । दही खाँदा बिहानको समय उत्तम र त्यसपछि दिउँसोको समयमा पनि ठिक हुन्छ तर दही रातमा खानु त्यति राम्रो मानिंदैन । राति खाएको दहीले चिसो लाग्न सक्ने र पाचनमा प्रतिकूल प्रभाव पर्न सक्छ । अपच हुने र पेट बिग्रने एउटा मुख्य कारण खाना खान नजान्नु, नमिलाउनु र समयको बारेमा जानकार नहुनु हो । जेहोस् दही–चिउरा खान असार १५ गते नै कुर्नुपर्दैन र यसलाई कहिलेकाहीं स्वस्थकर खाजाको विकल्पका रूपमा समेत खाँदा फाइदा नै हुन्छ र आफ्नो स्वास्थ्यको ख्याल गरेर खानु नै उत्तम हुन्छ ।