राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै

आज असार १५ अर्थात्  धान दिवस । देशभर विभिन्न कार्यक्रमगरी मनाइँदै छ । 

‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ शनिबार २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउन लागिएको हो । विक्रम संवत् २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।

कृषि मन्त्रालयले पहिलोपटक राष्ट्रिय धान दिवस काठमाडौं उपत्यकाबाहिर मनाउन लागेको छ । मन्त्रालयले शनिबार चितवनको बछौलीमा डेढ बिगाहामा रोपाइँ गरेर २१औं धान दिवस मनाउन लागेको हो ।

मन्त्रालयले चितवनबाट औपचारिक रूपमा सुरु गर्न लागेको २१औं धान दिवस तथा रोपाइँ महोत्सवमा प्रधानमन्त्रीसहित कृषि मन्त्री ज्वाला साह, स्थानीय जनप्रतिनिधिहरू र किसानहरू सहभागी हुनेछन् ।

कृषि प्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेशा खेतीपाती हो । त्यसैले धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदैछ ।

किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । असार १५ का दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौंला, बनाई कुलो लगाई पानी आएर गोडौंला’ जस्ता लोकलयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ ।

मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ गतेलाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् ।