सहयोगी मनहरुको आयोजनामा खरिबोटको राधाकृष्ण मन्दिर परिसर सरसफाई

सहयोगी मनहरुको आयोजना तथा पनौती नगरपालिका वडा नम्बर ८ को समन्वयमा खरिबोटको राधाकृष्ण मन्दिर परिसर सरसफाई गरिएको छ ।

कार्यक्रममा पनौती नगरपालिका उप–प्रमुख गिता बञ्जारा, वडा नम्बर ८ का वडा अध्यक्ष बेद प्रसाद बञ्जारा,कार्यपालिका चण्डिका परियार,वडा सदस्य शोभा कार्की, विश्वनाथ श्रेष्ठ, सहयोगी मनहरुका अध्यक्ष मिरा पौडेल, पनौती नगरपालिका वडा नम्बर ८ को बालमैत्री सहजकर्ता गिता थापा लगायत स्थानीयको उल्लेख्य उपस्थितीमा मन्दिर परिसर सरसफाई गरिएको हो ।

कुरा होइन, काम गरौं, सेवा गरी पुण्य कमाऔं भन्ने नाराका साथ सहयोगी मनहरुले कम्तीमा पनि महिनामा एक दिन सामाजिक कार्य गर्दै आइरहेका छन । वडा अध्यक्ष बञ्जाराले कला संस्कृति, परम्पराको जगेर्नामा सहयोगी मनहरुले खेलेको भुमिकाको प्रसंसा गरेका छन । वडा कार्यालय असल कर्मको साथमा रहने उनले बताएका छन ।

सरसफाईका लागि आवश्यक सामाग्री वडा कार्यालयले उपलब्ध गराएको थियो । कार्यक्रममा सहभागी हुनका लागि सबैलाई खबर गरिएपनि भाषणको कार्यक्रम नराख्ने गरिएको अध्यक्ष पौडेलले बताइन् ।
राधाकृष्ण मन्दिर आस्थाको धरोहर भन्दै स्थानीय भैरवप्रसाद बञ्जाराले यसको विकासमा ध्यान दिन आग्रह गरेका छन । उनले मन्दिर परिसरमा शौचालयको आवश्यकता रहेको बताए । बेथानचोकबाट आइपुगेका एक युवाले मन्दिर सरसफाईमा देखिएको सहभागीताले आफ्नो गाउँ आफैं बनाऔं भन्ने कार्यक्रमको झल्को दिएको बताए । उनले सबै मिले असम्भव केहि नरहेको भन्दै विकास निर्माणमा स्थानीयको सहभागीताले खुसी लागेको बताएका छन । सरसफाई कार्यक्रम पश्चात दही चिउरा खाने कार्यक्रम आयोजना गरिएको थियो । असार १५ गतेलाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ ।