टिपर लगायतका सवारी साधनको घुम्ती सेवा मार्फतजाँचपास गरिने

मदानी विट
बनेपा
बनेपामा शुरु भएको यातायात ब्यवस्था कार्यालयले काभ्रेका विभिन्न स्थानमा पुगेर सवारी साधनको परिक्षण, नविकरण तथा प्रर्दुषण जाँच गरिदिने भएको छ । जिल्लामा रहेका यातायात ब्यवसायीहरुसँगको भेटमा कार्यालय प्रमुख अनुप ढकालले यातायात पार्किङ्ग गरिएका स्थानमा पुगेर घुम्ती परिक्षण गर्न ब्यवसायीहरुसँग प्रतिवद्धता ब्यक्त गरे ।
‘वर्षाै देखि यातायात कार्यालयले सवारी साधन र सवारी साधनले यातायात कार्यालय देख्न पाएका छैनन’–बागमती टिपर ब्यवसायी संघका अध्यक्ष सुरेश खत्रीले भने–‘बनेपामा खुलेको कार्यालयले विशेषगरी टिपरहरु पार्किङ्ग गरिएको स्थानमा गएर सेवा दिने प्रतिवद्धता ब्यक्त गरेको छ ।’
अध्यक्ष खत्रीले यो प्रतिवद्धता कार्यान्वयन हुँदा समग्र यातायात ब्यवसायीहरुलाई सहजता हुने बताए । सरकारले उपत्यका भित्र दिउँसो टिपरहरु संचालन गर्न नदिए पछि वर्षाै देखि नविकरण तथा जाँचपासमा कठिन हुँदै आएको थियो ।
उपत्यका प्रवेश गर्ने सवारी साधनको नियमित परिक्षणका लागि बनेपामा कार्यालय स्थापनाले सहजता भएको छ । ब्यवसायीहरुको पहलमा यातायात ब्यवस्था कार्यालयले घुम्ती जाँच पास कार्यक्रम शुरु गर्ने भएको हो । दिउसोको समयमा टिपरहरु बनेपाको कार्यालयसम्म आउन नमिल्ने भएकाले ब्यवसायी र चालकहरुको सहजताका लागि उक्त सेवा उपलब्ध गराउन लागिएको हो ।

विशेषगरी दिउसोको समयमा पाँचखाल, दोलालघाट, मण्डनदेउपुर, पनौती, भकुण्डे, रोशी लगायतका क्षेत्रमा टिपरहरु पार्र्किङ्ग हुन्छन् ।
अध्यक्ष खत्रीले सहजताका लागि कार्यालयको तर्फबाट पार्किङ्ग स्थलमा पुगेर सेवा दिने यातायात कार्यालयको प्रतिवद्धताको प्रशंशा गरे । तत्कालै उक्त कार्य शुरु गरिने कार्यालय प्रमुख ढकालले बताए ।
यातायात नविकरण, रुट परमिट र सवारी दर्ता कर संकलन, विलबुक नविकरण, राजश्व, जाँचपास, प्रदुषण चेकजाँच लगायतका कार्यहरु डोर खटिएर समेत गरिनेछ ।