छुवाछुतमुक्त नगरपालिका बन्दै धुलिखेल

धुलिखेल छुवाछुतमुक्त नगरपालिका घोषणाको तयारीमा जुटेको छ । धुलिखेलको आवाजः छुवाछुत मुक्त समाज भन्ने नाराका साथ नगरपालिकाले सचेतना अभियान सुरु गरेको हो । आधुनिक समाजको आजको युगमा पनि मानिस–मानिसबीचको छुवाछुत लज्जाको विषय भएको नगर प्रमुख अशोक ब्याञ्जुले बताए ।
आफु दोस्रो पटक नगर प्रमुखमा निर्वाचित भएपछि बसेको पहिलो कार्यपालिका बैठकले छुवाछुतमुक्त नगरपालिका निर्माण गर्ने निर्णय गरेको नगर प्रमुख ब्याञ्जुले बताए । यसै अन्तर्गत दलित समुदायको नेतृत्व विकास, क्षमता विकास, आर्थिक उपार्जन, पाडी वितरण, सीप विकास, सचेतना, अभिमुखीकरण लगायतका कार्यक्रम भइरहेको नगर प्रमुख ब्याञ्जुले जानकारी दिएका छन ।
छुवाछुतमुक्त नगरपालिका निर्माणका लागि दलित परिषद् नै गठन गरेर अध्ययन तथा नीति निर्माणको काम भइरहेको उनको भनाई छ । नगर प्रमुख ब्याञ्जुले भने, छुवाछुतको मान्यासँग कुनै तथ्य प्रमाण छैन, यसको मुल्य मान्यता सबै गलत छन् । त्यसैकारण सामाजिक सास्कृतिक क्रान्ति गर्नुपर्ने दायित्व हामीसँग छ । म पनि यो देशको नागरिक हो भनेर गौरव गर्नका लागि पनि विभेदको अन्त्य जरुरी रहेको छ ।

संविधानमा भएको व्यवस्था बमोजिम समाजमा रहेका सामाजिक मुद्धालाई नगरपालिकाले उठाइरहेको उनले बताए । दलित समुदायले कामको मुल्य समेत नपाएको नगर प्रमुख ब्याञ्जुले बताएका छन । अझैपनि ज्यालाविहिन श्रमिकको रुपमा दलित समुदायले काम गरिरहेको भन्दै गलत परम्परा तोड्न नगरपालिका सबैको साथ लिएर अघि बढेको उनले जानकारी दिए ।
धुलिखेल नगरपालिकामा दलितको जनसंख्या २ हजार ४ सय ३५ रहेको छ भने ५ सय ९१ घरधुरी छन् ।यसैबिच धुलिखेल नगरपालिकामा छुवाछुत मुक्त नगर निर्माण सम्बन्धी विचार गोष्ठी तथा सह–भोज कार्यक्रम आयोजना गरिएको छ । नगरपालिकामा आयोजित कार्यक्रममा धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक ब्याञ्जुको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा उप–प्रमुख निराजन जंगम, धुलिखेल नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष एवं सामाजिक विकास समिति संयोजक गणेश आचार्य, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, नगरपालिकाका विभिन्न शाखाका प्रमुख,महिला परिषद उपाध्यक्ष गीता तामाङ, जनजाति परिषद उपाध्यक्ष राधेश्याम श्रेष्ठ, युवा परिषद उपाध्यक्ष सि.वि. लामा, अपांगता परिषद्का उपाध्यक्ष दिलकृष्ण देवजु, शिक्षक लगायत दलितहरुको उपस्थिती रहेको थियो ।
विचार गोष्ठीमा प्रशिक्षक अनिल चित्रकार र विकास योञ्जनले दलितको हक अधिकारका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा नगर प्रमुख ब्याञ्जुले देशमै पहिलोपटक परिषद् मार्फत अधिकार रक्षा र कार्यान्वयनसँगै जीविकोपार्जनका कार्यक्रम सुरु गरिएको बताए ।

नगरपालिकाले गरेको कार्य देशका अन्य पालिकाले पनि सुरु गरेको भन्दै खुसी व्यक्त गरेका छन । उप–प्रमुख निराजन जंगमले परिषद् मार्फत पछाडी परेको/पारिएको समुदायलाई अघि बढाउने प्रयास भइरहेको बताए । यस्तै योजना शाखा प्रमुख पुजा काफ्लेले दलितको अधिकार बारे संवैधानिक व्यवस्थाको बारेमा जानकारी गराएकी थिइन् ।
सामाजिक विकास समिति संयोजक आचार्यले सचेतना अभियान लिएर टोल–टोलमा पुग्ने बताएका छन । दलित परिषद उपाध्यक्ष चमार वि.क.को अध्यक्षतामा भएको कार्यक्रम महिला विकास शाखामा कार्यरत संगीता भण्डारीले सञ्चालन गरेकी थिइन् ।