नयाँ सत्ता–समीकरण गर्ने कसरतमा कांग्रेस–एमालेः ओलीलाई प्रधानमन्त्री बन्न कांग्रेसको प्रस्ताव

नेकपा एमाले र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच साझेदारीको नयाँ विकल्पमा छलफल अघि बढेको छ। उनीहरूले राजनीतिक स्थायित्वका लागि बलियो सरकार र संविधान परिमार्जनलाई सहकार्यका मुख्य आधारका रूपमा अघि सारेका छन्।
दुवै दलका दोस्रो तहका नेताहरूको धेरै चरणको छलफल र कसरतपछि गत शनिबार अपराह्न कांग्रेस सभापति शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका थिए।
त्यही भेटपछि मुलुकको राजनीतिले ‘नयाँ कोर्स’ समाउन लागेको दुवै दलका नेताहरू बताइरहेका छन्। धेरै पहिलादेखिको प्रयास बल्ल नतिजाउन्मुख भएको ओलीनिकट एक नेताले बताए ।
ती नेताका अनुसार, कांग्रेस र एमाले मिलेर संसदको बाँकी कार्यकालमा केही दीर्घकालीन महत्त्वका निर्णय लिने गरी समझदारी विकास भएको छ। त्यसका लागि एउटा बलियो सरकार आवश्यक भएकाले नेतृत्वमा आधा–आधा कार्यकाल (डेढ–डेढ वर्ष) गर्न दुवै पक्ष सकारात्मक छन्।
ओलीलाई पहिला प्रधानमन्त्री बन्न देउवाले नै प्रस्ताव गरेको नेताहरूले बताएका छन्। ओली प्रधानमन्त्री हुँदा कांग्रेसले गृहसहित ९ मन्त्रालय पाउने र एमालेले प्रधानमन्त्रीका अलावा ८ मन्त्रालय पाउने गरी छलफल चलिरहेको छ। डेढ वर्षपछि कांग्रेसले नेतृत्व पाएपछि त्यही सूत्रअनुसार मन्त्रालय सट्टापट्टा हुन सक्नेछ। बाँकी केही मन्त्रालय अन्य दलहरूलाई दिने भनिएको छ।
त्यस्तै प्रदेशहरूमा दुवै दलले ३–३ वटा मुख्यमन्त्री लिने गरी शक्ति साझेदारीको विषय छलफलमा छ।
छलफलको अर्को महत्त्वपूर्ण विषय संविधान परिमार्जन रहेको छ। २०७२ सालमा संविधान सभाबाट जारी भएको संविधानको कार्यान्वयनका क्रममा देखिएका जटिलता, कमी र कमजोरीहरू पहिल्याउँदै तिनको सम्बोधन गर्न उच्चस्तरीय संविधान सुझाव आयोग बनाउने विषय पनि कांग्रेस–एमालेको छलफलमा छ। आयोगको नेतृत्व पूर्वप्रधानन्यायाधीशलाई दिन सकिने गरी छलफल भइरहेको देउवानिकट एक कांग्रेस नेताले जानकारी दिए।