कांग्रेसका पूर्वसांसद जितेन्द्रनारायण देव सहित दर्जनौं नेता कार्यकर्ता एमाले प्रवेश

नेपाली कांग्रेसका पूर्वसांसद जितेन्द्रनारायण देव एमाले प्रवेश गरेका छन्। च्यासस्थित पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा देव, रामप्रीत राम, इकबाल अहमद साहलगायतका नेता एमालेमा भित्रिएका हुन् । उनीहरुलाइ एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरूले स्वागत गरेका छन्।

विजयकुमार गच्छदार नेतृत्वको दल मधेसी जनअधिकार फोरम लोकतान्त्रिकमा रहेका देव पार्टीसँगै कांग्रेसमा समाहित भएका थिए।

कांग्रेस केन्द्रीय सदस्य रहेका देव संविधान सभा सदस्य तथा राष्ट्रिय सभा सदस्य बनेका थिए। पार्टी प्रवेशसँगै देवले आफ्नो पुरानो बामपन्थी राजनीतिको पृष्ठभूमिबारे व्याख्या गरेका थिए ।

देव २०४९ सालमा एमालेबाटै राजनीति गरेका व्यक्ति हुन्। विष्णुबहादुर मानन्धर नेतृत्वको नेकपा फेडरेशनबाट राजनीति थालेका जितेन्द्र देव नेकपा एमालेमा लामो समय केन्द्रीय नेतृत्वमा थिए । उनी २०५४ मा वामदेव गौतम गृहमन्त्री भएका बेला उच्चस्तरीय नागरिकता सुझाव कार्यदलको संयोजक थिए ।

एमाले विभाजनपछि नेकपा मालेमा लागेका देव मधेश आन्दोलनपछि मधेशी जनअधिकार फोरम हुँदै फोरम लोकतान्त्रिकबाट मन्त्री बनेका थिए । उनी संविधानसभाको दोस्रो कार्यकाल सकिएपछि नेपाली कांग्रेसमा प्रवेश गरेर ६ वर्ष राष्ट्रियसभा सदस्य भए । करिब १७ वर्षपछि देव पुनः एमालेमा फर्किएका हुन् ।

देवसँगै लोसपाका उपाध्यक्ष तथा संविधान सभा सदस्य अकवाल अहमद साह पनि एमाले प्रवेश गरेका छन्।