जुन महिनामा साढे ७६ हजार जनाभन्दा धेरै पर्यटक नेपाल भित्रीए

जुन महिनामा ७६ हजार ७ सय ३६ जना पर्यटक हवाई मार्गबाट नेपाल भित्रीएका छन । पर्यटन बोर्डका अनुसार यो सङ्ख्या कोरोना महामारी शुरु हुनुअघि अर्थात् सन् २०१९ को जुन महिनाको तुलनामा २ दशमलव ४७ प्रतिशतले धेरै हो । २०१९ को मे महिनामा ७४ हजार आठ सय ८३ जना पर्यटक नेपाल आएका थिए ।

कोरोना महामारीका कारण सन् २०२० पछि देशको पर्यटन व्यवसाय धराशायी बनेको थियो । अघिल्लो वर्षदेखि सुधार हुन थालेकोमा यो वर्ष कोरोना महामारीअघिको भन्दा पनि राम्रो भएको हो ।

यस्तै गएको वर्षको जुन महिनाको तुलनामा यस वर्षको जुन महिनामा ६ दशमलव २१ प्रतिशतले धेरै पर्यटक आएका छन् । गएको वर्षको जुन महिनामा ७२ हजार २ सय ५० जना पर्यटक नेपाल आएका थिए ।

जुन महिनामा सबैभन्दा धेरै भारतबाट ३७ हजार ८ सय ३५ जना पर्यटक नेपाल आएका छन् । भारतबाट हवाईमार्ग हुँदै आउनेलाई मात्र सरकारले पर्यटकको सूचीमा राख्ने गरेको छ । तर हवाईमार्गभन्दा गाडीबाट नेपाल आउने भारतीयको सङ्ख्या निकै धेरै रहेको छ ।

यस्तै अमेरिकाबाट ८ हजार २ सय ८१ जना, चीनबाट ७ हजार ४ सय ९४ जना, बङ्गलादेशबाट ३ हजार ८ सय ५७ जना आएका पर्यटन बोर्डले जनाएको छ । यसैगरी बेलायत र उत्तरी आयरल्यान्डबाट १ हजार ९ सय ६९ जना, अस्ट्रेलियाबाट १ हजार ५ सय ८९ जना, भुटानबाट १ हजार ६६ जना, मलेसियाबाट १ हजार १४ जना, जापानबाट ९ सय ५३ जना र दक्षिण कोरियाबाट ८ सय ७५ जना पर्यटक नेपाल आएका छन् ।

समग्रमा यो ६ महिनामा ५ लाख ८३ हजार १६ जना पर्यटक भित्रिएका छन् । बोर्डको तथ्याङ्कअनुसार जनवरीमा ७९ हजार १००, फेब्रुअरीमा ७९ हजार ४ सय २६, मार्चमा १ लाख २८ हजार १ सय ६७, अप्रिलमा १ लाख ११ हजार ३ सय ७६ र मे मा ९० हजार २ सय ११ जना पर्यटक नेपाल आएका हुन् ।