आयुर्वेद सेवाको प्रर्वद्धन गर्न सञ्चारकर्मीहरुसँग अन्तर्क्रिया

बनेपा/आयुर्वेद सेवाको प्रर्वद्धन गर्न जिल्ला स्थित संचारकर्मीहरुसँग आयुर्वेद तथा बैकल्पिक चिकित्सालय बनेपा काभ्रेले अन्र्तक्रिया कार्यक्रम गरेको छ । जिल्लाका १० वटा पालिकामा आयुर्वेद सम्वन्धी सेवा प्रवाह गरिरहेको उक्त कार्यालयले सेवाको गुणस्तर र सेवाको नियमितताका लागि भईरहेका प्रयास र आगामी चुनौतीका बारेमा अन्र्तक्रिया गरेको हो ।

आयुर्वेद तथा बैकल्पिक चिकित्सालय प्रमुख डा.बशंवदा कौडिन्यायनीले जिल्लाका विभिन्न क्षेत्रमा आयुर्वेद सम्वन्धी गतिविधीहरुका बारेमा जानकारी गराएकी थिईन् । ‘विगतमा भएका अभ्यास, सेवा तथा सेवा प्रवाहका बारेमा निरन्तर कार्यक्रमहरु संचालन भईरहेका छन’–कार्यालय प्रमुख डा.बशंवदा कौडिन्यायनीले भनिन–‘जिल्लाबासीहरुले आयुर्वेदका सेवालाई प्रयोग गर्न, आयुर्वेदलाई चिकित्सा पद्दती नभई जीवन पद्दतीका रुपमा लिन आवश्यक छ ।’

समुदायमा बढिरहेका दीर्घ रोगहरुको निवारण गर्न ब्यक्तिले प्रयोग गर्ने जीवन शैली, आहार विहार प्रयोगमा ध्यान दिनु पर्ने उनले बताईन् ।

आकस्मिक बाहेकका सबै रोगहरुको उपचारका लागि आयुर्वेद चिकित्सालयले उपलब्ध गराउन सक्ने भएकाले सरकारले उपलब्ध गराएका निशुल्क सेवा तथा औषधीहरुको प्रयोग गर्न उनले अनुरोध गरिन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिना, कविराज निरिक्षक प्रताप लामा लगायतले आयुर्वेदको प्रयोग र विश्वसनियता बढिरहेको बताए ।