काभ्रेपलाञ्चोक जिल्लामा समृद्धिको वेग सुस्ताउन नदिन र दिगो विकासको मर्ममा ठेश नपुर्‍याउने तथ्यमा सजग हौं

केशव थापा
मगमगाएर सुन फलाउने काभ्रेको पवित्र माटो, सपक्क मिलेका केशराशी र हाम्रो भाग्य कोरिएको ललाटलाई हल्का स्पर्श गर्दै हरदम शितलता छरेर जाने समशितोष्ण काभ्रेलीपवन, काभ्रेली रनवन र भीरपाखामा सुन्दरता छर्दै लटरम्मफुलेका गुराँस/गुलाफ एवम् अन्य पुष्पहरु, कस्तै कष्टमा पनि धैर्यता नगुमाई मुसुक्क मुस्कुराउन नछाड्ने र काभ्रे अब राम्रो बन्दछ भन्ने आसा र विश्वास साँचेका काभ्रेलीहरुको सद्भाव सबैसबैमा सादर समर्पण छ ।

हाम्रो जन्म/कर्म भूमी, वा बासस्थल काभ्रेपलान्चोक जिल्ला काठमाडौं उपत्यका सरह सो भन्दा केही बढी धार्मिक, सांस्कृतिक, पूरातात्विक र ऐतिहासिक विरासत वहन गरेको गौरवशाली जिल्ला हो । नमोबुद्ध भगवानको जन्म र परिनिर्वाण स्थल, बा¥हबर्षे मकरमेला, पलाञ्चोक भगवती, चण्डेश्वरी भगवती, नालाको उग्रचण्डी भगवती, ब्रम्हायणी, मानेश्वरी जस्ता आदिशक्ति महामाया भगवतीको मन्दिर, धनेश्वर, भालेश्वर, इन्द्रेश्वर, लड्केश्वर, फड्केश्वर, गौखुरेश्वर लगायत आशुतोष भगवान शिवजीका थुप्रा मठ मन्दिर, भगवान नारायणका अनगिन्ति मन्दिर र पछिल्लो चरणमा आएर त बिरलै हुने सृष्टिकर्ता ब्रम्हाजी प्रतिमा सहितको मन्दिर, बुद्ध भगवानका विहार तथा स्तुपा, पञ्चपाण्डवको गुप्तबास स्थल, द्रौपदा मन्दिर र जात्रा–पर्वहरु यसका ज्वलन्त उदाहरण हुन । प्राकृतिक छटाले सिँगारिएको यो जिल्ला कास्कीपछि पर्यटकको रोजाइमा पर्ने दोस्रो जिल्ला हो । काठमाडौं उपत्यकासँग जोडिएता पनि लामो समयसम्म राजनीतीकर्मी एवम् उच्चपदस्थहरुको प्राथमिकतामा नपरेको काभ्रे अहिले आफ्नो सामथ्र्यता, संभाव्यता र विशेषतालाई ठीकठीक ढङ्गले आङ्कलन गर्दै आवश्यकताको प्राथमिकीकरणका साथ कृषि, पर्यटन, शिक्षा, साना तथा माझौला उद्यम, पूर्वाधार एवम् सेवा क्षेत्रको माध्यमबाट समृद्घिको मार्गतर्फ लम्कन खोज्दै छ । काभ्रेले समातेको यस लयमा अवरोध पैदा नगर्ने र समृद्धि हासिलार्थ यसले पक्रेको लिक नछाड्न खबरदारी गर्नु नै काभ्रेको लागि केही गर्नु हो भन्ने तथ्य काभ्रेलाई माया गर्ने सबैले सदैव हेक्का राख्नु पर्ने विषय हो । विगत लामो समयदेखि लगातार घट्दो जनसंख्या, महिलाहरुको उठ्न नसकेको आर्थिक एवम् सामाजिक परिवेश, उर्बर भूमिको दिनानुदिन बढ्दो विनाश, नदीनालामा बढ्दो प्रदूषण, युवाशक्तिको परदेशतर्फको बेजोडको बुर्कुसी, घट्न नसकेको घरेलु हिंसा, पारिवारिक सद्भाव एवम् एकतामा खलल, अनविकरणीय प्राकृतिक सम्पदाको चरम दोहन, आफ्नो धर्म, संस्कृति, रीतिरिवाज र परम्पराप्रति बढ्दो अरुची, विभिन्न क्षेत्रमा बढ्दो अपराध, जनताको घरदैलोको सरकारको उपमा पाएको स्थानीय तहको प्रभावकारिता अभिवृद्धिको उपाय पहिचान जस्ता विषयतर्फ पनि काभ्रेको लागि केही गर्न खोज्ने र काभ्रेको लागि केही गर्नै पर्नेहरुले गम्भीरतापूर्वक ध्यान दिनु पर्दछ । काभ्रेको समृद्धिको वेग सुस्ताउन नदिने र दिगो विकासको मर्ममा ठेश पनि नपु¥याउने तथ्यमा सजग हुनु अहिलेको पहिलो आवश्यकता हो ।

विकास मानिसको लागि मानिसले गर्ने सबैभन्दा महत्वपूर्ण उपक्रम हो । समृद्धि वा विकासका लागि अन्य अत्यावश्यक तर निर्जीव तत्व हुनभने समृद्धि/विकासको आवश्यकता महसुस गर्ने, सोका लागि आवश्यक योजना बनाउने, लागतको अनुमान गर्ने, समृद्धिकालागि परिचालन गरिने परियोजनाको सकारात्मक र नकारात्मक पक्ष पहिचान गरी आवश्यक रणनीति तर्जुमा गर्ने, परियोजना सुसम्पन्न भैसकेपछि त्यसको प्रतिफल उपभोग गर्ने जिवित शक्ति मानिस नै हो । विकास/समृद्धिको साधन र साध्य दुवै बन्ने मानिसलाई यसै भएर मानवीय पूँजी भन्ने गरिएको होला । अतः काभ्रेको बारे चासो, चिन्तन र पहलकदमी गर्ने सबैले काभ्रेली मानवीय पुँजीको विकासलाई उच्च प्राथमिकतामा राख्नै पर्दछ । भाषा, साहित्य, कला, विज्ञान, प्रशासन, राजनीति, समाजसेवा, सञ्चार, गीत, सङ्गीत, सार्वजनिक प्रशासन, अध्यात्म आदिआदि जस्ता ज्ञानको अनेक विधामा शिखर चुम्ने प्रतिभाहरु जन्माउने, हुर्काउने उर्बर भूमि हो, काभे्र । सदा काभ्रेको भलो चाहने म काभ्रेको त्यो उर्बर क्षमातामा कहिल्यै बाझोपन नआओस, काभ्रेको गर्भ असमयमै तुहिएर अधिग्रो नजाओस र काभ्रेको माटोले वर्षेनी एकसे एक प्रतिभालाई जन्म दिई रहोस् र हरेक वर्ष भव्य र सभ्य विषेश अनुष्ठानको आयोजना गरेर त्यस्ता गौरवशाली प्रतिभालाई पूजिरहन पाइयोस् भन्ने कामना गर्दछु । काभ्रेलाई अथाह माया गर्ने सबैले काभ्रे र काभ्रेलीको राम्रोको निमित्त पवित्र मनले निरन्तर प्रयास र प्रार्थना गरिरहनु पर्दछ । आफ्नो राम्रो गर्ने अचुक औषधि– अनुकूल अवस्थामा नमात्ती र प्रतिकूल अवस्थामा हतोत्साहित नभई अथकरुपले निरन्तर गरिने मिहिनेत नै हो भने अरुको राम्रोको लागि गर्ने भनेकै बुद्घमनले प्रार्थना हो । अतः कारणवश काभ्रे बाहिर रहन वाध्य सबै काभ्रेलीहरुले काभ्रेको भलोको कामना गर्दै नियमितरुपले प्रार्थना र चिन्तन गरिरहन अनुरोध गर्दछु । यहाँहरुको स्निग्ध नजरलाई मायालु नयनले हेर्दै भित्तामा अङ्कित ब्यानरले बताइरहेको छ – यहाँहरुलाई साक्षी राख्दै काभ्रे सेवा समाजले विधान बमोजिम आयोजना गर्र्नैपर्ने बा¥हौं वार्षिक साधारण सभा, काभ्रेको सुस्केरा, उच्छबास र यसले साँचेको सुन्दर सपना अङ्कित भएको काभ्रेली गुञ्जनको आठौं अङ्कको लोकार्पण, आफू संलग्न क्षेत्रमा शिखर चुम्ने काभ्रेली गौरवहरुको सम्मानको पवित्र अनुष्ठानको विशेष आकर्षण यहाँहरुलाई म हृदयतलदेखि नै हार्दिक स्वागत गर्दछु ।

पैतृक थलो काभ्रेपलाञ्चोक जिल्लाको खरेलथोक भई नेपाली गीत, सङ्गीतको स्वर्णिम युग तिसको दशकको प्रारम्भमा जति सुने पनि सुनिरहूँ जस्तो लाग्ने अलौकिक गलाको साथ गीति आकाशमा उदाएर छ दशकभन्दा धेरै उमेर कटाई सक्दा पनि नित्य साधना र सम्यक आहारले आफ्नो सुरिलो स्वरलाई अक्षुण्ण राख्दै हरेक स्रोतालाई आफ्नै लागि गाए जस्तो हुने गरि प्रेम, वियोग, मिलन र विरहका गीतले लठ्ठ बनाउने, सुगम सङ्गीतका एक विशिष्ठ नायक र चौधभन्दा बढि गीति एल्बम बजारमा ल्याई सक्नु भएका कण्ठराज श्री दीपक खरेल अभिवन्दनाका लागि चयन हुनु भएकोमा हार्दिक बधाई टक्रयाउँदछु । त्यसै गरी भोजपुरको दिङ्गलामा जन्मी वि.सं. २०४७ मा काभ्रेली चेलीसँग लगनगाँठो कसी वि.सं. २०५३ सालदेखी काभ्रे जिल्लालाई शब्दकर्म थलो बनाई मौलिक ३३, सम्पादित १०१ र अनुदित १ गरी १ सय ३५ विभिन्न विधाका पुस्तकका सर्जक, अनगिन्ति मानसम्मानले पुरस्कृत र अनेकानेक साहित्यिक, धार्मिक, सामाजिक संघ संस्थामा आवद्घ अविश्रान्त कर्मयोगी श्री हरि मञ्जुश्री पनि अभिवन्दनाको लागि सिफारिस हुनु भएकोमा हार्दिक बधाई अर्पण गर्दछु ।
काभे्र कानपुर वडा नं. ७ स्थायी ठेगाना भई वि.सं. २०५३ सालमा शाखा अधिकृत पदबाट निजामती सेवामा प्रवेश गरी आफ्नो अथक मिहिनेत, ईमान्दारिता र प्रशासकीय क्षमताका कारण एकपछि अर्को गर्दै पदोन्नति भई निजामती सेवाको सर्वोच्च पद रा.प. विशिष्ट (सचिव) मा पुगी काभे्रको सान बढाउने हरिप्रसाद मैनालीज्यूलाई हार्दिक बधाई । त्यस्तै, खरेलथोक पलाञ्चोक स्थायी ठेगाना भई वि.सं. २०५९ सालमा शाखा अधिकृत पदबाट निजामती सेवामा प्रवेश गरी अथकमिहिनेत, लगनशिलता, जिम्मेवारीको कुशलतापूर्वक निर्वाहको परिमाणस्वरुप सचिव पदमा पुगी हाल राष्ट्रिय मानवअधिकार आयोगको सचिव पदमा कार्यरत मुरारीप्रसाद खरेलज्यूलाई हार्दिक बधाई ज्ञापन गर्दछु । र, आगामी वर्षहरुमा पनि अभिवन्दना र सम्मानका कार्यक्रमलाई निरन्तरता प्रदान गरिरहन पाइने विश्वास गर्दछु ।

अन्तमा, गैरराजनीतिक, गैर नाफामूलक र सेवादायी आफ्नो आधारभूत मान्यताताबाट किञ्चित पनि नडगमगाई सबैको साथ, सहयोग र पहलमा काभ्रे सेवा समाजले काभ्रेको राम्रो र भलोको लागि सदैव केही न केही गरिरहने र गर्नेहरुलाई यसै गरी यथोचित मानसम्मान गरि नै रहने छ ।  (यो विचार लेखक थापाले काभ्रे सेवा समाजको बार्षिक साधारण सभामा प्रस्तुत गरेका हुन् । उनी काभ्रे सेवा समाजका पूर्व अध्यक्ष हुन ।)