भारतको उत्तर प्रदेशमा धार्मिक भेलामा भागदौड, मृतकको सङ्ख्या १०० नाघ्यो

नेपालको सीमावर्ती भारतीय राज्यमा एक धार्मिक भेलामा भागदौड हुँदा मारिनेको सङ्ख्या १०० जना भन्दा बढी पुगेको छ । उत्तर प्रदेशको हाथरस जिल्लामा आयोजित हिन्दूहरूको एक सत्सङ्ग कार्यक्रममा उक्त घटना भएको बीबीसीको खबरमा उल्लेख छ ।

मृतकमध्ये अधिकांश महिला र बालबालिका छन्। कैयौँ मानिसहरूको अस्पतालमा उपचार भइरहेको र मृतकको सङ्ख्या अझै बढ्न सक्ने आकलन छ।

उत्तर प्रदेशका अधिकारीहरूका अनुसार एकजना कथावाचकको प्रवचन सुन्न हजारौँजना भेला भएको ठाउँमा भागदौड भएको थियो। भागदौडको कारण स्पष्ट भइसकेको छैन।

तर सत्सङ्गका लागि तयार गरिएको पालभित्र अत्यन्तै गर्मी भएका कारण घटना भएको हुनसक्ने विवरण सार्वजनिक भएका छन्। मुगलगढी गाउँमा आयोजना गरिएको हिन्दू देवता शिवको पूजामा त्यसरी मानिसहरू भेला भएका थिए।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाको छानबिन गर्न आदेश दिएका छन्। पीटीआई समाचारसंस्थाले सार्वजनिक गरेको एउटा भिडिओमा घाइतेहरूलाई अस्पताल लैजाँदै गरेको देखिन्छ।

केही घाइतेहरूको नजिकैको अस्पतालमा उपचार हुँदै छ। घाइतेमध्ये केही बालबालिका पनि रहेको जनाइएको छ।

“पोस्टमोर्टमको प्रक्रिया चलिरहेको छ र घटनाबारे छानबिन भइरहेको छ,” छिमेकी एटा जिल्लाका एक अधिकारीले भनेका छन्।

साँघुरो ठाउँमा ठूलो भिड जम्मा हुने गरेका भारतका धार्मिकस्थलहरूमा बारम्बार दुर्घटनाहरू हुने गरेका छन्।

सन् २०१८ मा हिन्दूहरूको दशहरा पर्व मनाउन जम्मा भएको भिडमा एउटा रेल गएर ठोकिँदा ६० जना मानिसहरूको मृत्यु भएको थियो।

सन् २०१३ मा मध्य प्रदेशमा एक हिन्दू चाड मनाउन भेला भएका मानिसहरूबीच भागदौड हुँदा ११५ जनाको ज्यान गएको थियो।