सफल व्यक्तिहरूले गर्ने केही कार्य

सफल हुने चाहना सबैको हुन्छ । यसका लागि कठिन मेहनत र समयमै सही निर्णय लिनु आवश्यक छ । धेरै मानिस अवसरको पहिचान गर्न नसक्दा सफलता प्राप्त गर्नबाट चुक्ने गर्छन् । त्यस्तै कतिपय भने मेहनत नै गर्न चाहँदैनन् । सफलताका लागि अनुशासन र काम गर्ने शैलीको विशेष महत्व रहन्छ । सफल व्यक्तिहरू सफलताका लागि निरन्तर प्रयास गरिरहन्छन् । उनीहरू आफ्नो भाग्य आफै कोर्नमा विश्वास गर्छन् । धेरै पाउन ठूलो काम कम समयमा कसरी गर्ने भन्नेमै उनीहरू केन्द्रित हुन्छन् । अधिकांश सफल व्यक्तिले सङ्घर्षको समयमा गरेका कार्यका आधारमा यहाँ त्यस्ता आठ कार्यको सूची प्रस्तुत गरिएको छ :

यथार्थको पहिचान
महँगा गाडी र भव्य बङ्गला पाउने चाहना स्वाभाविक रूपमा राम्रो हो । तर, अधिकांश व्यक्ति यसको प्राप्ति गर्न कर्म गर्नेभन्दा आफ्नै मनको लड्डु सम्झँदै रमाउनेतिर केन्द्रित हुन्छन् । तसर्थ, सफल हुन चाहने मानिसले पहिले त आफ्नो आधारभूत आवश्यकताको परिपूर्ति गर्नेतर्फ ध्यान केन्द्रित गर्नु आवश्यक छ । कम्तीमा कति खर्च गरी आफ्नो जीविकोपार्जन गर्न सकिन्छ भन्ने निश्चय गर्नुपर्छ । यसो गर्न सकिएमा मात्र मानिसले ऋणमुक्त र तनावरहित सफलताको अनुभव गर्न सक्छ ।

ज्ञानमा वृद्धि
स्वाभाविक रूपमा खुला तथा सक्रिय रूपमा सिक्ने बानी अपनाउने मानिस चाँडै सफलताको शिखरमा पुग्ने गर्छन् । तर, सफलताको सिँढी जति चढिन्छ, अर्को खुड्किलोका लागि त्यति नै बढी सङ्घर्ष तथा कठिनाइको सामना गर्नुपर्ने हुन्छ । कतिपय अवस्थामा समस्या तथा नयाँ चुनौतीको सामना गर्न नसक्दा धेरै व्यक्तिले समस्या झेलिरहेका हुन्छन् । प्रत्येक समय नयाँ कुरा सिक्न र जान्न इच्छुक मानिस यस्तो अवस्थामा सजिलै समाधान प्राप्त गर्न समर्थ हुन्छन् ।

सम्बन्धबाट अपेक्षाको व्यवस्थापन
मानिसको सही पहिचान गर्न समयको निकै ठूलो भूमिका रहेको हुन्छ । सफलताले अनावश्यक मानिसलाई समेत आफूतिर आकर्षित गरिरहेको हुन्छ । त्यसैले, यस्तो अवस्थामा सही मानिसका लागि समय छुट्ट्याउनु आवश्यक छ । समयको व्यवस्थापनमा समेत कठिनाइ आउने सम्भावना रहन्छ । तसर्थ, कम समय मानिसलाई दिनु र उनको महत्वबारेसमेत अनुभूति गराउनु चुनौतीका रूपमा रहन सक्छ । आफ्ना लागि महत्वपूर्ण मानिसको पहिचान गर्नु र सँगै बिताएको समय दुवैका लागि फलदायक सिद्ध गर्नु यस्तो समयमा महत्वपूर्ण हुन्छ । साथै, तिनले चाहेको बेला आफू उपस्थित हुन नसक्दासमेत तपाईंका समस्या र असमर्थताबारे तिनलाई राम्रो जानकारी गराउनु उपयुक्त हुन्छ ।

व्यक्तिगत भावनामा सतर्कता
सबै सफल व्यक्तित्वहरू नम्र र शीलस्वभावका हुन्छन् भन्न सकिँदैन । अझ समग्रमा हेर्दा त अधिकांश खरो स्वभावका हुने गर्छन् । तथापि, आफ्नो रिस, एकोहोरोपन र दृढताबारे धेरैजसो जानकार हुने गर्छन् । आफ्नो भावनालाई सफलता प्राप्तिका लागि कसरी प्रयोग गर्नुपर्छ भन्ने ज्ञान तिनमा हुने गरेको विभिन्न अनुसन्धानबाट पाइएको छ । आफ्नो अनुभव तथा भावना सफलता प्राप्तिको मार्गमा बाधाका रूपमा नआओस् भन्नेमा तिनीहरू सतर्क हुने गर्छन् । साथै आफ्नो भावनालाई सकारात्मक सोचमा परिवर्तन गरेर सफलता प्राप्तिका लागि अघि बढ्नुपर्छ ।

आध्यात्मिकताबारे स्पष्ट विचार
रिचार्ड ब्राड्सन र वारेन बफेटजस्ता धेरै सफल व्यक्तित्वहरू कुनै विशेष धर्म पछ्याउनुपर्छ भन्ने मान्दैनन् । तर, आत्मा र आध्यात्मिकताले आफ्नो जीवनमा खेल्ने भूमिकाबारे भने तिनीहरूको स्पष्ट विचार छ । आफ्नो जीवनलाई सार्थक तुल्याउने तथा आफूले उपयुक्त विचार अपनाउनु र तिनको सफल प्रयोगको प्रयास गर्नु सफलता प्राप्तिका लागि आवश्यक कदम हुन् ।

नियमको पालना
सफल व्यक्तिहरू नियमसङ्गत तरीकाले आफ्नो काम सम्पन्न गर्ने तथा सरल जीवन बाँच्ने गर्छन् । अन्यका लागि ती नियम लागू नहुन सक्छन् । तर, आफ्नो शक्ति र स्थिरता कायम राख्न तिनीहरू त्यसको पालना गर्छन् । संसारको सञ्चालनबारे तिनको व्यक्तिगत धारणाले नै कुन मानिसलाई कस्तो व्यवहार गर्ने भन्ने निर्णय गर्छन् । तपाईं पनि आफ्नो जीवनको सिद्धान्त पहिचान गर्नुहोस् र खुलेर त्यसमा लाग्नुहोस् । यसो गर्दा मानिसले तपाईंका आदर्श र सिद्धान्तबारे जान्ने मौका पाउँछन् ।

समयको महत्व
प्राथमिकता सफलताको महत्वपूर्ण अङ्ग हो । अनावश्यक विषयमा समय बर्बाद गरेमा सफलताको शिखरमा पुग्न सकिँदैन । लक्ष्यबाहेकका अनावश्यक कार्यहरूको समायोजन गर्न सके आफूले चाहेको कार्यमा बढी समय दिन सकिन्छ । तर, रमाइला, ज्ञानवद्र्धक र उत्पादनमूलक कार्यमा समय दिनबाट आफू चुक्नु हुँदैन । सफल व्यक्तिहरू आफ्नो लक्ष्य र उद्देश्य प्राप्तिका लागि नयाँ शैलीबाट काम गर्न रुचाउँछन् । पुराना प्रथा तिनको कार्यमा बाधा बन्ने देखिएमा तिनमा आवश्यक परिमार्जन गर्न उनीहरू पछि पर्दैनन् ।