गृहमन्त्रीको निलम्बन मागिएको रिटमा आज सुनुवाइ

काठमाडौं / गृहमन्त्री रवि लामिछानेको निलम्बन मागिएको रिटमा आज सुनुवाइ हुने भएको छ । यही असार ७ गते सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासमा परेको रिट त्यसयता हेर्दा हेर्दैमा राखिएको छ । यही इजलासले टुंग्याउने गरी सुनुवाइ अघि बढेको लामिछानेको रिटमा आज जवाफी बहस मात्र हुनेछ ।

मंगलबार रिटकर्ता अधिवक्ता अनुपम भट्टराई र सहकारीपीडितका तर्फबाट जवाफी बहस भएको थियो । अब केही अधिवक्ताले जवाफी बहस गरेपछि लामिछानेको सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि निलम्बन हुने अथवा नहुने आदेश हुनेछ । सहकारी ठगीमा नाम जोडिएका उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई महान्यायाधिवक्ता कार्यालयले कतै पनि उजुरी र अभियोजन नरहेको भन्दै पत्र दिएको थियो ।

कास्कीमा सूर्यदर्शन सहकारीपीडितले लामिछानेविरुद्ध किटानी जाहेरी दिएको भए पनि महान्यायाधिवक्ता कार्यालयले लामिछानेलाई ‘क्लिनचिट’ दिएपछि अधिवक्ता अनुपम भट्टराईले रिट दायर गरेका थिए । जेठ १ गते नै दायर भएको रिट सर्वोच्च प्रशासनले दरपिठ गरिदिएको थियो ।

अधिवक्ता भट्टराईले दरपिठविरुद्ध दिएको निवेदनको सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले दरपिठ खारेज गरिदिएपछि जेठ १४ मा रिट दायर भएको थियो । यसअघि सर्वोच्चको आदेशबाटै कास्कीबाट लामिछानेविरुद्धको उजुरी र बुटवलको सुप्रिम सहकारीको अभियोजनको मिसिल झिकाइसकिएको छ ।